• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

आई एम सरी

“इन्टरनेटपनि कस्तो अचम्मको चिज रहेछ। तिमीहरु धेरैजना बाहिर नै छौ, तैपनि मलाई यहीँ कतै नेपालमा छौ जस्तो अनुभव हुन्छ यार” – रमेसले दुई महिना अगाडि गरेको अन्तिम च्याटको कुरा सम्झिदै छु म। मैले भनेको थिएँ – “यो फेसबुकले पनि गर्नु गरेको छ हेर न। उ बेलाका धेरै साथीहरुसँग मिलन गराइदिएको छ”। अस्ति भर्खर जस्तो लाग्छ हामीले सिभिल इन्जिनियरिङ्गसँगै पढेको। दशक बितिसकेछ हेर्दाहेर्दै। अध्यायन गर्दा रमेस र मेरो एउटै सेक्सन थियो। हामी ५ जना साह्रै मिल्ने साथी थियौं। उ लोकसेवामार्फत् जिल्लाको इन्जिनियर बनेर काम गर्न थाल्यो। हामी ४ जना भने विदेसिएका थियौं र विदेशमै कर्म थलो बनाएर बसेका छौँ। बीचमा उसँग त्यति कुरा हुन पाएन। तर उसले फेसबुक चलाउन थालेपछि भने हाम्रा खबरखाबर आदानप्रदान हुन थालेका थिए । उसका पनि छोराछोरी भैसकेका रहेछन्। फेसबुकमा फोटो राखेको रहेछ। कस्ता राम्रा ! बाबु-आमा राम्रा भएपछि छोराछोरी पनि राम्रा नै हुन्छन नि, उसले जिस्किदै भन्ने गर्दथ्यो। डम्म पेट लागेको रहेछ। “पक्का ईन्जिनियर त तिमी भएछौ” – मैले जिस्काएको थिएँ। उसले भनेको थियो – “हो त भरत। यो देशको माया लाग्छ मलाई। यो जागिर खाने क्रममा कस्तो अनकन्टार ठाउँमा पनि पुगेको छु। जतिजति म त्यस्ता ठाउँ घुम्छु उतिउति देशको माया बढेर आउँछ । म ती ठाउँमा सडकका योजना बनाउँछु अनि कल्पिन्छु तिमीहरु र तिमीहरुका छोराछोरी यी सडकहरुमा गुड्दै आफ्नो जरो गडेको देशमा घुम्ने छौ अनि आफ्नै भूमी मन पराउने छौ…”। मैंले ‘ठूलो पेट’को कुरा गरेर अर्कै कुरा भन्न खोजेको थिएँ तर उसले बुझेन बरु भाबुक बनिदियो। मैले प्रश्न बुझाउन चाहिन बरु “हो त नि” भनेर टारिदिएको थिएँ। आज रमेसको फेसबुकको भित्तो सयौं साथीहरुका भावनाले पोतेका छन् जसरी जन्मदिनमा भित्ताहरु पोतिन्छन्। त्यहाँ पोतिएका हरेक वाक्य पढ्न बाध्य छु म। कोहिले अँग्रेजीमा “RIP” लेखेका छन् कोहिले “आत्माले शान्ति पावोस!” । हरिलेपनि “RIP…” भनेर लेखेको रहेछ। मलाई कम्प्युटरमा टाईप गर्न नै असहज महसुस भयो। त्यसैले हरिको वाक्यलाई जस्ताको तस्तै रमेसको भित्तामा राखिदिएँ। मलाई दिक्क लाग्यो। हरिलाई फोन लगाएँ। हरि मिल्ने पाँचजना मध्येको एक साथी थियो। “हरि, रमेस त …” । “त्यै त भरत ! गाउँमा सडकको जाँच गर्न गएको रे, बर्खाको बेला चिप्लिएर बितेछ …” । हामीहरुले विगतको कुरा गर्यौं। उसँग बिताएका क्षणहरुको सम्झना गर्यौँ। एक असल मित्र गुमाउनु परेकोमा हामीहरु सार्है दु:खी थियौं। उफ् रमेससँगको १० बर्ष अघिको भेट नै अन्तिम भेट भनेर भाविले लेखेको रहेछ। २ महिना अगाडि गरेको च्याट नै अन्तिम च्याट रहेछ। मेरा मगजमा विगतका सवै घटना चलचित्रमा झै चल्न थाले। अनि दैवलाई धिक्कारें – दैव पनि कस्तो निस्ठूरी ! उसका टुहुरा बालबच्चा सम्झिएँ । मेरी छोरी खुरुरु कुद्दै आई अनि रसाएको आँखा देखेर भनी “ड्याडि, ह्वाइ आर यु क्राङन्ग ?” । मैंले केहि वोलिन। उसलाई काखमा लिएर बसें। उ मेरो अगाडिको ल्यापटप चलाउन थाली। एकमनले म सोच्दछु। मान्छेले कस्ता प्रविधि बनाएका छन्। गाउँगाउँमा समेत मोबाईल र इन्टरनेट सुरु हुन थालेका छन् । परिणाम स्वरुप वर्षौपछि पनि रमेस जस्तासाथीहरुसँग कुराहुन पाउँछ। खबर आदनप्रदान हुन कतिपनि समय नलाग्ने। जन्म, म्रित्यु, सु:ख, दु:ख सवै साट्न कति वेर लाग्दैन । अर्को मनले म सोच्दछु यो प्रविधि पर्याप्त छैन। यसले मलाई सेकेन्ड त के मिनेटमा पनि सात समुन्द्र पारिको ठाउँमा पुर्याउन सक्दैन र मेरो मित्रलाई अन्तिम पटक छुने मौका समेत दिंदैन ! “ड्याडी, व्युटिफूल” भनेर छोरीले भन्दा म वर्तमानमा फर्किन्छु। उसले ल्यापटपमा खेल्ने क्रममा मैले हेर्दै गरेका रमेसका फोटो एल्वमहरुमा पुगिछे। म ति एल्वममा उसका फोटोहरु पल्टाउन थाल्छु। छोरीले हिमालका तस्विरहरु मन पराउँछे। रमेस गुराँसको रुखमा चढेर खिचेको पारी हिमाल देखिने फोटो छोरीलाई मन पर्छ। रुख चढेको देखेर उ रमेसलाई मङ्की भन्छे। म यो मङ्की रहेन अब भन्छु। उ कता गयो ? किन गयो ? कति समयलाई गयो ? कहिले आउँछ ? जस्ता प्रस्न तेर्साउछे। म राम्ररी जवाफ नदिई उसलाई भुलाउछु। रमेसको दु:खद निधनपछि फेसबुक चलाउन मन लागेन। चलायो कि उसको भित्तामा पोतिएका समवेदनाका समाचार पढ्नुपर्दछ। उसको संझना आउँछ। त्यही भएर दुई दिनपछि मात्रै खोलें फेसबुक। एक साथीले विहेको फोटो राखेको रहेछ। कति खुसी छन् उनीहरु ! एकै समयमा कतै विछट्ट हाँसो छ त कतै निष्पट अँध्यारो। म संसारलाई बुझ्नै सक्दिन। विहेको फोटो हेरेपछि म “धन्यवाद” भन्ने लेख पढ्नतिर लाग्छु जसमा लेखिएको छ: “दु:खमा साथ दिनुहुने सम्पूर्ण साथीसँगी, आफन्तजनलाई ह्रिदयदेखि नै धन्यवाद दिन चाहन्छु” – मृतक रमेस घिमिरे ! म तीन छक्क पर्छु ! म बुझ्दै जान्छु – उ कामको सिलसिलामा विकट ठाउँमा गएको मौका छोपी एक फटाहाले रमेसको पर्खालमा उसलाई मृतक घोषणा गरेको रहेछ। त्यसैलाई आधार मानेर अर्कोले उसलाई मृतक घोषणा गरेछ। एवं रीतले उसलाई मृतक घोषणा गर्ने क्रममा म पनि परेछु ! मलाई लाग्यो अबको संसारमा मान्छे एकपटक हैन धेरै पटक मर्ने रहेछ। रमेस इन्टरनेटको संसारमा एक पटक मर्यो । अब अर्को को मर्ने हो ! मलाई कुन दिन मारिने हो केही थाहा छैन। म हतार हतार उसको भित्तामा मैले पोतेको वाक्य हटाउछु अनि उसको लेखमा प्रतिक्रिया लेख्छु – आई एम सरी ! *** समाप्त ***

--राजीब श्रेष्ठ--

 

https://www.facebook.com/esewamarketing

https://www.facebook.com/AdvertNepal-666433730073770/

www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal 

www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to  Lumbini Bus Service.

 

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image