• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

तोरी फुल्या गाउँ, ज्वाईं मेरो नाउँ

एकादेशको एउटा गाँउमा ‘जसे’ नाम गरेको एउटा एकदम छट्टु मान्छे थियो । आफ्नो घर चलाउन सार्‍है कठिन भएपछि उसलाई सार्‍है खेद लाग्यो र उसले विचार गर्‍यो- “यो संसारमा सोझो भएर काम चल्दैन । केही बठ्याईं नगरे अब त भोकै मरिन्छ क्यारे ।”

यस्तो सोचेर ऊ भोलिपल्टै घरबाट निस्कियो ।

जाँदा जाँदा बाटोमा उसले कमेरो (सेतो माटो) भेट्‍यो र त्यो माटो महँगो भाउमा बेच्ने सुरले चारमाना जति लिएर अगाडि बढ्‍यो ।

जाँदै गर्दा चार कोस जति हिंडेपछि उसले खेतमा गोरु जोतिरहेको एउटा मानिसलाई भेट्‍यो । हलोमा एउटा गोरु सेतो र अर्को कैलो थियो ।

उसले हलो जोत्‍ने किसानलाई भन्यो- “ओहो दाजु, यस्तो बेरंगा गोरु जोतेर के तमाशा गर्नु भएको ?”

किसानले भन्यो- “यसपाली यस्तै भो, अर्को साल कैलो गोरु बेची सेतो किन्‍नु पर्ला ।”

जसेले दाउ फ्याल्दै भन्यो- “ल, जम्मा एक मोहर खर्च लाग्छ । कैलो गोरुलाई सेतो पारिदिऊँ ?”

किसानले एकछिन गम खायो र घत मान्दै भन्यो- “लौ, हुन्छ त ।”

जसेले कमेरो घोलेर गोरुको जीउ रंगाईदियो । टाढाबाट हेर्दा गोरु सेतो देखियो ।

घिउलाटो किसान दंग पर्‍यो । किसानले भन्यो- “यहाँ त मसँग पैसा छैन ।

यति खेत जोतिसकूँ, अनि घरबाट ल्याएर दिउँला ।” जसेले भन्यो- “ओहो, आफूलाई बेर भईराछ, कहाँ हुन्छ ?”

किसानले भन्यो- “लौ, त्यसो भए यसो गर, उ त्यो डाँडा छेउको घर मेरो हो ।

त्यहाँ गएर मेरी जहानसँग एक मोहर मागेर लैजाऊ । म यहाँबाट ‘दिनू’ भनिदिउँला ।”

जसे “हुन्छ” भनेर किसाननी कहाँ गयो र किसाननीलाई भन्यो- “भाउज्यू,

दाईले गोरु किन्‍नु भो, 60 रुपियाँ दिनुपर्‍यो । सोध्नुस त ।”

किसाननीले त्यहींबाट हलोका गोरु हेरी, दुबै सेता !

सोधी- “होइन, यिनी पैसा माग्दैछन् । के गर्ने हो ?” किसानले सबै कुरा सुनेन ।

सोझै भन्यो- “दे, दे ।” किसाननीले जसेलाई 60 रुपियाँ गनेर दिई ।

पैसा हात पर्नासाथ छट्‍टु जसे त्यहाँबाट सुईंकुच्चा ठोकिहाल्यो ।

ऊता किसान खेत जोती वरी बेलुका घर फर्क्यो ।

किसाननीले गोरुलाई सेतो रंगको देख्दा सोधी- “हैन, किन यो गोरु सेतो देखिन्छ नि ?”

किसानले भन्यो- “रंगाएको गोरु कस्तो हुन्थ्यो त ?

एक मोहरले गोरु रंगाएँ ! दुनियाँले भन्‍ने बाटो पनि भएन ।

अर्को सालचाहिँ गोरु किन्‍नै पर्ला ।”

लोग्नेको कुरा सुनेर स्वास्नीले जिल्ल पर्दै भनिन्- “हैन, के भन्‍नु हुन्छ ?

दिउँसो मात्र 60 रुपियाँमा गोरु किन्‍नु भएको हैन ?

त्यो पनि यस्तो अनुहार नपरेको, फेरि अर्को के गोरु किन्‍ने ?”

लोग्ने स्वास्नीका कुराले जिल्ल पर्‍यो, स्वास्नी लोग्नेका कुराले ।

यता किसानको डरले जसे रातारात जंगलको बाटो कुलेलम ठोक्दैथियो ।

जसेको गोडाले भालुलाई लाग्यो, भालु जर्‍याकमर्‍याक उठ्‍यो र जसेसँग कुस्ताकुस्ती पर्‍यो ।

जसेले मौका पर्नासाथ भालुको कन्पारो समात्यो ।

भालुको केही जोर चलेन, तर जसे पनि थाकेर लखतरान भइसकेको थियो ।

लुगा धुजाधुजा भएको र कम्मरको पैसा राखेको थैलो खसेर रुपियाँ पनि छरियो ।

त्यै बेलामा पल्लो गाउँको मुखिया घोडा चढेर कसिकसाउ भएर कचहरीमा जान त्यै बाटो आइपुग्यो ।

त्यतिन्जेल राम्रै उज्यालो भइसकेको थियो ।

मुखियाले कुस्ती देखेर सोधे- “हैन, के हो यो, यस्तो ?”

छट्‍टु जसेले फेरि दाउ हाल्दै भन्यो- “मुखियासाहेब, हजूरको घोडा यहाँ नजीक नल्याउनुहोला ।

डराएर मेरो भालुले रुपियाँ छेर्न छोड्ला । बाटोमा मेरो मान्छे भेटिए ‘चाँडै जाओ’ भन्दिनुहोला ।

हजूरलाई 25 रु. भयो । भूईंबाट टिपेर लानुहोस् ।”

जसेको कुराले छक्‍क पर्दै मुखियाले भन्यो- “खुलासा भन न । मैले कुरा बुझिनँ ।”

जसेले भन्यो- “उसो भए सित्तैमा मुखिया हुनुभएछ । कुरा साफै छ ।

आज चार वर्षदेखि यो रुपियाँ छेर्ने भालुलाई समात्‍ने बन्दोबस्त गर्दै थिएँ ।

बल्ल बल्ल आज राती भेट्टाएँ तर त्यो बेला मेरो साथमा बालक छोरो मात्र थियो,

मैले मौका पर्नासाथ भालुलाई पक्री गाउँबाट मानिस बोलाउन दौडाएँ ।

तर अझ आइपुगेनन् । म भने थाकिसकें ।”

मुखियाले भने- “अद्‍भुत भालु रहेछ । नपत्याउँ भने पनि सारा ठाउँमा रुपियाँ छेरिराखेको छ ।

तिमी पनि थाकिसकेका रहेछौ । मलाई पनि छोराको बिहे गर्न खर्च चाहिएको छ ।

तिम्रा मानिस नआउन्जेलसम्म म भालुको कन्पारो समाउँछु । छेरेको रुपियाँमा आधा तिम्रो आधा मेरो ।”

जसेले भन्यो- “बाठो हुनुहुँदोरहेछ, मुखिया साहेब ! मरी मरी गीत गाउँ म, मसला खाने तिम्रा बाउ !

चार वर्षदेखि दौडधुप गरूँ म, एक्‍कैछिन मदद दिंदैमा आधा रुपियाँ लिने तपाईं ।

पर्दैन, जानुहोस, मेरा मानिस आइहाल्छन् नि अब ।

थाकेको छु, 10 भागको 1 भागमा मान्‍नुहुन्छ भने घोडा अलिपर बाँधी लँगौटी मात्र लगाई तयार भई आउनुहोस् ।”

मुखियाले पैसा कमाउने असल उपाय देखे । लँगौटी कसी भालुको कन्पारो समाते ।

जसेलाई छुट्टी मिल्यो । सारा रूपियाँ पोको पारी मुखियाको लुगामा डटेर घोडा चढेर जसेले त्यहाँबाट बाटो ततायो ।

यो देखेर मुखियाको होश उड्‍यो । मुखियाले नदुखेको कपाल डोरी लगाई लगाई दुखायो ।

उता भालुले बल लगाउन थाल्यो । मुखियाले सकेनन् । दश-पाँच ठाउँमा चिथोरेर भालु जंगलभित्र पस्यो ।

जसे जाँदा जाँदा एउटा गाउँमा पुग्यो । मध्यान्हको समय थियो ।

जसेले गाउँको साहूकहाँ गएर भन्यो- “साहुजी, म परदेशी हुँ ।

तपाईंले म र मेरो घोडाको पेट भर्ने कुनै व्यवस्था मिलाई दिनु भए लागेको खर्च म तिर्नेछु । साहूले हुन्छ भन्यो ।

सबैजना यताउति लागेपछि जसेले 20 रुपियाँ झिकेर घोडाको लिदीमा मिलायो र 5 रुपियाँ उसको मलद्वारमा पनि घुसारिदियो ।

साहूले घोडाको लिदीमा 5 रुपियाँ देखे ! अनि भने- “ओहो परदेशी दाई, तपाईंको घोडाको लिदीमा रुपियाँ कताबाट आयो ?”

जसेले भन्यो- “साहूजी, यो मेरो अचम्मको घोडा हो । यसले दिनकै 25 रुपियाँ हग्छ ।

हेर्नुस् त, 20 रुपियाँ हगिसक्यो । 5 रुपियाँ अझ हग्न बाँकी छ ।” नभन्दै त्यै बेलामा घोडाले अघि घुसारेको 5 रुपियाँ हगिदियो ।

यस्तो चमत्कार देखेर साहु दंग पर्‍यो । साहुलाई लोभ जाग्यो र उसले भन्यो- “परदेशी दाई,

यस्तो रुपियाँ हग्ने घोडा लिएर परदेश गर्नु ठीक छैन । यो मलाई दिनुहोस् ।

परेको दाम म तिर्छु, घरसम्म जान म मेरो घोडा पनि दिन्छु । यो घोडा मलाई चिनो छोड्नुहोस् ।”

जसेले भन्यो- “बल्ल बल्ल मैले यो 5 हजारमा किनेको हुँ । मेरो परेको दाम र तपाईंको घोडा दिनुहोस् त ।

यो रुपियाँ हग्ने घोडा तपाईंको भयो ल ।” साहू मक्ख पर्‍यो र उसले जसेलाई 5 हजार रुपियाँ र आफ्नो घोडा दियो र मुखियाको घोडा उसले लियो ।

जसेले साहूलाई पनि मुखियालाई जस्तै उल्लु बनायो र त्यहाँबाट पनि टाप कस्यो ।

जाँदा जाँदा जसे एउटा नदी किनारमा पुग्यो । त्यहाँ एउटी बूढी आईमाई र उसकी तरुनी छोरी बजार जान नदी तर्न नसकी बसिरहेका थिए ।

जसेलाई देखेर बुढीले सोधिन्- “कहाँ जान लागेका हौ बाबु ?

कुन गाउँका हौ ? हामीलाई नदी पारि पुर्‍याईदिन्छौ की ?”

अब जसेले ठूलै दाउ हान्‍ने विचार गर्‍यो र भन्यो- “ज्योतिषीले मेरा नाउँ अनौठै राखेका छन् ।

‘ज्वाईं’ मेरो नाउँ, ‘तोरी फुल्या गाउँ’ हो । मेरो घोडा थाकेको छ । एकैचोटि यसले तीन जना तार्न सक्दैन ।

पहिले यी नानीलाई पारि पुर्‍याउँला, अनि तपाईंलाई लिन आउँला त ।”

बूढीले विश्‍वास गरी र हुन्छ भनी । जसेले बूढीकी छोरीलाई घोडामा बसाल्यो र नदीपारि पुग्यो ।

यता बूढी ‘ज्वाईं’ फर्केर आउला र आफूलाई पनि नदी तारि देला भनेर धेरै बेरसम्म कुरेर बस्यो तर छट्टु ‘ज्वाईं’ बेपत्ता भइसकेको थियो ।

धेरैबेर भएपछि बल्ल बूढीको चेत खुल्यो र अलाप विलाप गरेर रुन थाली ।

बाटो हिड्ने मानिसहरुले बूढीलाई रुनुको कारण सोधे ।

बूढीले भन्‍न थाली- “ज्वाईं राँडाका छोराले मेरी छोरी लिएर गयो ।

कुनै धर्मात्मा भए मेरी छोरी फर्काईदेऊ ।”

मानिसहरूले बूढीलाई सम्झाए- “तिमी त कस्ती, छोरी त ज्वाईंलाई नै दिएकी हौ त ।

अनि ज्वाईंले छोरी लग्यो त किन रुनु ?”

यसरी छट्‍टु जसेले धन पनि कमायो, स्वास्नी पनि पायो ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image