ऊ त्यति बेला किसोर अबस्थाकै थियो, भारी बोकेर गुजारा गर्ने उसको बाबुले रातमा डराई-डराई “…अब श्री ३ को सरकार जान्छ र ‘रामराज्य’ आउँछ…” भनेको उसले सुन्ने गरेको थियो । ‘श्री ३’ र ‘श्री ५’ भनेको के हो भन्ने नबुझे पनि ‘रामराज्य’मा भने उसको विशेष ध्यान थियो । अक्षर-कागज नपढेको भएपनि गाउँमै सुनेको रामायणको कथाको आधारमा उसले सो ‘रामराज्य’ आएपछि सबैले सुख पाउनेमा ढुक्क थियो ।
श्री ३ फालिए, र प्रजातन्त्र पनि आयो । तर अचानक केही समयमै उसको बाबुको मृत्यु भएकोले सुख र रामराज्य चाहिँ हैन, बाबुको डोको र नाम्लो भने उसको थाप्लोमा आयो । जीवन गुजारा गर्न अर्को कुनै उपाय र सहारा नभएकोले उसले पनि बाबुकै जस्तो भारी बोक्ने काम सुरु गर्यो ।
उसले दशकौँ भारी बोकेपछि देशमा फेरि निकै हलचल भएको भान उसले पायो। ठूला-ठूला कुरा नबुझे पनि यस पाला भने देशमा असली प्रजातन्त्र आउँछ रे अनि सबैले सुख पूर्वक बाँच्न पाउँछन् रे भन्ने सम्म उसले पनि बुझ्यो । राजनैतिक वृत्त र उपल्लो तहमा के कस्ता परिवर्तन भए उसले भेउ सम्म पनि पाएन । तर गाउँकै नेताहरूले “…अब तिमीहरू सबै सही अर्थमा स्वतन्त्र भएका छौ…” भनेको उसले पनि सुन्यो ।
दोस्रोपल्ट ‘स्वतन्त्र’ हुँदासम्म उसको शरीर कमजोर भइसकेको थियो । स्वन्त्रताको फल उ सम्म नआए पनि यति बेला सम्ममा उसको थाप्लोको नाम्लो र भारी भने उसकै छोराको थाप्लोमा सरिसकेको थियो । यस बीचमा न गाउँमा कुनै कल-कारखाना खुले, न बिजुली पुग्यो न बाटो नै बने । त्यसो त बाटो बनेर गाडीले सामान वसार-पसार गर्न थाले आफ्नो व्यवसाय चौपट हुन्छ भनेर उसका दौँतरीहरू बीच कहिलेकाहीँ कुराकानी पनि हुने गर्थ्यो ।
उसको छोराले भारी बोक्न थालेको केही वर्ष पछि देशमा फेरि परिवर्तनका आवाजहरु उठ्न थाले । धेरै सम्मको चर्काचर्की र जोडतोडमा कहाँ, कहाँ के कस्ता छल-फल, लेन-देन र बाँडफाँडमा कुरा भए उसले बुझेन । तर गाउँको चौतारीमा घाम ताप्दै गर्दा उसले फेरि गाउँका नवनेताहरुले “अब भने हामीहरु साँचो अर्थमा देशका नागरिक भयौँ र अब हाम्रा कुनै मालिक छैनन् हामी ने देशका मालिक भयौँ …जनता अब सम्प्रभूसत्ता सम्पन्न भए…” भनेको सुन्यो ।
ऊ चौतारीबाट जुरुक्क उठ्यो र वनदेवी थानमा पुग्यो । फाटेको चप्पल भएपनि त्यसलाई फुकालेरै वनदेवीको अगाडि लम्पसार पर्यो र निन्याउरो मुख लगाएर मनमनै देवीसँग पुकारा गर्न लाग्यो : “ हे माता!, रामराज्य, प्रजातन्त्र, गणतन्त्र केही चाहिएको छैन…. तर मेरो पुर्पुरोको नाम्लो र भारी मेरो नातीले भने व्यहोर्न नपरोस्…”
https://www.facebook.com/esewamarketing
https://www.facebook.com/AdvertNepal-666433730073770/
www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to Lumbini Bus Service.www.hamrobus.com is Free Bus Booking Service of Nepal, buy bus tickets, reserve tickets, online payment, trips to Nepal, hamrobussewa provides First real online booking portal ...