एउटा परिवारमा आमा, बुवा अनि छोरा थिए । छोरा भर्खर ८ वर्षको भएको थियो । यत्तिकैमा एकदिन कसैले ढोका ढकढक्यायो। बुवाले छोरालाई भने, ” सन्दीप ! जा त, गएर, घरमा बुवा हुनुहुन्न, भन्दे ! ”
दिनहरु बित्दै गए । अर्को वर्ष, गाउँबाट सन्दीपको हजुर आमा आइन् । सन्दीपका आमा र बुवाले बसेर बूढी आमालाई के भन्ने क नभन्ने भनेर सल्लाह गर्थे। घरका सामान्य घरव्यवहारका कुरा बारेमा पनि उनीहरुले आमालाई झुट बोलिरहेका हुन्थे । यो सबै कुरा सन्दीपले देखिरहेको हुन्थ्यो ।
सन्दीप विस्तारै ठूलो हुँदै गयो। आमा-बुवाले जतिबेला पनि पढ्न भन्दा उसलाई झर्को लाग्थ्यो। त्यसैले साथीकोमा पढ्न जाने भन्थ्यो र किताब लिएर निस्किन्थ्यो । तर, साथीसंग ऊ खोलामा पौडी खेल्न जान्थ्यो । घरमा आउँदा आमा-बुवाले आफ्नो झुट थाहा नपाएको देख्दा ऊ मख्ख पर्थ्यो।
त्यसपछि विस्तारै सन्दीपले सबै कुरामा झुट बोल्न थाल्यो । आमा-बुवालाई छोरोले राम्रो गरेको छ, अनुशासनमा बसेको छ जस्तो लाग्थ्यो । तर १५ वर्षको ऊ कुलतमा फसिसकेको थियो । एकदिन घरमा पुलिस चौकीबाट फोन आयो । लागुपदार्थ सेवन गर्दा गर्दै सन्दीप पक्राऊ परेको थियो । आमा-बुवा छाँगाबाट खसे जस्तै भए ।
पुलिस चौकीबाट आफूहरुले सन्दीपलाई सुधार्ने सर्तमा आमा-बुवाले उसलाई घरमा ल्याए । उसले झुट बोलेकोमा आमाबुवा अझ बढी निराश थिए । सबैकुराको सुविधा दिंदा पनि सन्दीपले किन झुट बोल्यो, किन आमा बुवाको वास्ता गरेन र अनुशासनहीन बन्यो ? सन्दीपले काँप्दै गरेको स्वरमा भन्यो, ” मलाई यो सबै तपाईंहरुले सिकाउनुभएको हो” । सन्दीपको उत्तरले उसका आमा- बुवा अवाक भए ।
तपाईंको बोली भन्दा ठूलो व्यवहार हो । तपाईंका बच्चाहरुले तपाईंको बोली भन्दा व्यवहारबाट धेरै सिकिरहेका हुन्छन् । सन्दीपका आमा-बुवाले अरुसंग, आफ्नी आमासंग बोलेको झुट, छोरोको अगाडी गरेका झुटका सल्लाहले सन्दीपले पनि झुट बोल्न सिक्यो र त्यो परिणाम आयो।