आधा रातको निस्तब्धतामा सायद पुरै अस्तित्व निन्द्राको काखमा पौडिरहेको थियो। तर नेपालको उत्तरी हिम श्रृङ्खलाको बीच बनेको एउटा अनकन्टार सानो उच्च हिमाली मैदान माथीको आकाशमा एउटा अत्यन्तै उज्वल तर शीतल प्रकाशपुञ्ज देखियो । प्रकाश तीव्र गतिकासाथ हिमाली मैदानको नजिक आउँदा त्यो प्रकाशपुञ्जको आकार पनि झन् झन् बढ्दै थियो तर बिना आबाज…..।
मैदानको नजिक पुग्दा देखियो त्यो कुनै प्रकाशपुञ्ज नभै एउटा गोलाकार यान थियो र जुन बिना आबाज आरामसंग जमिनमा अवतरण गर्दै थियो । यानको माथिल्लो भागमा “अन्वेषण -३” लेखिएको थियो र त्यसको मुनि “नेपाल खगोल विज्ञान तथा समयारोहण अध्ययनशाला” लेखिएको थियो । यान जमिनमा अवतरण भएपछि मधुरो प्रकाश मात्रै त्यसमा बाँकी रह्यो र यानको तल्लो भागमा एउटा स्वचालित ढोका बिस्तारै खुल्यो । यानको ढोका खुल्ने बित्तिकै भित्रबाट एकजना ६५-७० का जस्ता देखिने कपाल र दाह्री सेतै फुलेका व्यक्तिसँगै करिब २०-२५ वर्षका जस्ता देखिने १० -१२ जना मानिस पनि बाहिर निस्के । उनीहरूलाई ‘मानिस’ भन्नुमा कुनै आपत्ति नहोला कारण उनीहरूको आकार प्रकार र शारीरिक बनोट हाम्रै जस्तै थियो, सायद हात खुट्टा अलि मसिना र टाउको अलिकता ठूलो मात्रै …।चिसो मैदानमा निस्कने बित्तिकै ती युवाहरूले भुईमा एक प्रकारको बाक्लो चकटी जस्तो आसन ओछ्याए । र सबै जना त्यसमा बसे। ती बुढा व्यक्ति पनि उनको लागि राखिएको बीचको आसनमा बसे … दृश्य हेर्दा यस्तो लाग्थ्यो ती बुढा व्यक्ति उनीहरूका गुरु थिए र ती जवानहरू उनका विद्यार्थी ।
सबै जना आफ्नो आसनमा बस्ने बित्तिकै ती बुढा व्यक्तिले आफ्नो कुरा सुरु गरे: “ हामीहरु आज यो २००० वर्ष अगाडिको भूतकालमा आउनुको मुख्य कारण तिमीहरूलाई आफ्नै पूर्वजहरूको बरेमा वस्तुगत जानकारी दिनु मात्रै हो… ” ।
त्यसपछि ती बुढा प्राध्यापकले करिब १ घण्टा जत्ती त्यही स्थानमा बसेर आफ्ना विद्यार्थीहरूलाई विभिन्न कुराहरू बताए। वातावरण प्रदूषण देखि, भूमण्डलीय तापक्रम वृद्धि अनि आणविक हतियार देखि सौर्य उर्जाका विविध प्रयोग सम्मका । त्यसका साथै नेपाल लगाएत विश्वका देशहरुको राजनीति र द्वन्द समेतका विषयमा गम्भीर चर्चा भए । अनौठो कुरा के भने उनीहरूले चर्चा गरिरहेका सबै विषयहरू संसारमा अहिले घटि रहेका घटनाहरू थिए …तर अचम्म उनीहरू त्यसलाई “भूतकाल” मा व्यक्त गर्दै थिए ।
आफ्नो आख्यान सक्काए पछि तिनले आफ्ना विद्यार्थीहरूतर्फ प्रश्न सूचक दृष्टिले हेर्दै भने :” तिमीहरुलाई आफ्नो इतिहास बारे अरू केही सोध्नु छ ?” ।
“हामीहरु अहिले देखिएको यो स्थितिबाट विकसित भएर आएका हौं भने यो तत्कालीन चौआयामिक समय कालमा रहेका सबै मानिसहरू हाम्रा पूर्वजहरु हुन” । एक जना विद्यार्थीले प्रश्न गरे: “अहिले हामी रहेको यो चौआयामिक समय २०६७ साल छ र हाम्रो वास्तविक समय काल ४०६७ साल हो । तब के त, अहिले यहाँ कुनै मानिसलाई भेटेर हामीले हाम्रो बारेमा बतायौं भने उनीहरूले विश्वास गर्लान त ?” ।
यस पटक ती बुढा प्राध्यपकले लामो सुस्केरा हाले अनि बिस्तारै बोल्न सुरु गरे:” आजको यो समय-यात्राको अर्को उद्देश्य यो पनि हो कि, तिमीहरुले यो कुरा बुझ्नु पनि जरुरी छ कि हाम्रा पूर्वजहरुले कति अभाव र दु:खका बीच यो विज्ञानको ढोका खोलेका थिए । जसको मद्दतबाट आज हामी इतिहासको यात्रा र वर्तमानमा पूनरागमन दुवै गर्न सक्छौं ”। उनले अगाडि भने “हाम्रो यो समयारोहण यान उनिहरुकै योगदानको फल पनि हो । तर पनि अहिलेको स्थितिमा यो यथार्थलाई कसैले बुझ्ने छैनन् । सायद यो परावैज्ञानिक कुरा बुझ्न सक्ने मानिस र त्यो पनि नेपालमा त ज्यादै कम होलान ” । उनले आफ्नो कुरा जारी राखे :” किनभने पश्चीमी देशमा Time Machine को परिकल्पना १८औं शताब्दी देखी नै चले पनि नेपालमा भने बि. सं. २४२५ देखि मात्रै यसतर्फ सोच्न थालिएको थियो । समय पनि एउटा पदार्थ नै हो र कुनै पनि पदार्थको लम्बाई, चौडाई उचाइ र गहिराई जस्तै समयको आयाम भित्र पनि आवत जावत गर्न मिल्छ भन्ने कुरा सुनेर मात्रै हुदैँन बुझ्न निकै कठिन हुन्छ “।
“हैन यो कुरा साह्रै जटिल त छैन नि?” अर्का एकजना विद्यार्थीले फेरि प्रश्न गरे । “सरलता र जटितला भन्ने कुरा वैज्ञानिक सिध्दान्तको कुरा मात्रै नभै समाजको विकास र यन्त्र वा उपकरणको उपलब्धतामा पनि भर पर्छ ।कुनै पनि कुरालाई बोल्नु र लेख्नु मात्रै हैन प्रमाणीत गरेर देखाउन नसकिने अबस्थामा साँचो कुरा नै भएपनि मानिसले विश्वास गर्ने छैनन् ।
“ध्वनी भन्दा छिटो गतिमा चल्ने यानको निर्माण भएमा कुनै यान आकाशमा उडेर अवतरण गरीसकेपछि मात्रै त्यसको ध्वनी सुनिन्छ भन्ने कुरा समेत मानिसलाई सुरु सुरुमा विश्वास गर्न निकै गाह्रो भएको थियो ”। प्राध्यापक आफ्नो आख्यान जारी राख्दै बताउन थाले:”त्यसरी नै प्रकाशको गति भन्दा छिटो चल्ने यान निर्माण भएमा पहिला यान अवतरण हुन्छ र त्यसपछि मात्रै यानको छायाँ देखिन्छ यो कुरा सुन्नु र बुझ्नुमा धेरै फरक छ” । निकै लामो आख्यान पछि उनले आफ्नो आख्यान पुरा गरे :” कुनै पनि यानको गति प्रकाशको गति भन्दा बढी भएमा त्यो समयको चौआयामिक स्थितिमा प्रवेश गर्न सक्छ भन्ने कुरा अहिलेको शिक्षित मानिसले सिद्धान्तगत रुपमा बुझे पनि प्रयोगात्मक रुपमा सम्भव मान्ने छैनन् किनकि हालको अबस्थामा त्यसको प्रयोगात्मक परिक्षण गर्ने उपलब्धता मात्रै हैन सोचको समेत अभाव छ” ।
“ल आउ अब हामी हाम्रो देशको भौगोलिक परिवर्तनको बारेमा बुझौं” यति भन्दै प्राध्यापक फेरि बोल्न सुरु गरे:” अहिले यो चौआयामिक समयकाल अर्थात २०६७ सालमा सगरमाथाको उचाइ ८८४८ मिटर छ, तर बि. सं. २६७८ मा नेपालको उत्तर पुर्वी भागमा ठूलो भुकम्प जान्छ र तिब्बतियन प्लेट माथि उठ्दा सगरमाथाको उचाइ पनि ९०१२ मिटर हुन्छ…” । “त्यसो भए त त्यतिबेला धन जनको निकै ठूलो नोक्सान भयो होला नि ?” एक जना बिद्यार्थीले प्रश्न गरे । “धनको नोक्सान भए पनि जनको भने हुन पाएन” प्राध्यापकले मुस्कुराउँदै भने “किनकि त्यसको ५ वर्ष अगाडि नै नेपालका वैज्ञानिक जगदिश शर्माले “भुकम्प सूचक यन्त्र”को आविष्कार गरी सकेका थिए र भूकम्प जानुभन्दा १२ घण्टा अगाडि नै मानिसहरु यस्ता दैवी प्रकोपको भविष्यवाणी गर्न सक्षम भैसकेका थिए” ।
“ल हिँड त अझै केहीसमय बाँकी नै छ हामी अब २६७८ सालको फागुन १३ गतेमा जाऔं र सो भौगोलिक परिवर्तनलाई आफ्नै आँखाले हेरौँ”
सबै जना यान भित्र प्रवेश गरे र यान फेरि बिना आबाज अन्तरिक्षमा बतासिएर एकैछिनमा गाएब भयो ।