पुरानो कथा हो: एउटा चोर चोरी गर्नको लागि झ्याल चढेर घर भित्र घुस्न लागेको हुन्छ । झ्यालको काठ भाँच्चिएर भूईमा थचारिन्छ । चोरको खुट्टा भाँचिन्छ र उ दोस्रो दिन सिधै अदालतमा घर मालिकलाई मुद्दा हाल्न जान्छ ।
अदालतले घर मालिकलाई तुरुन्तै बोलाउँछ र चोरको क्षतिपूर्तिको लागि आदेश दिन्छ । उल्टो चोरले मुद्दा हालेर फसेको घर मालिक कुनै उपाय न सुझेपछि यो व्यर्थको जिम्मेवारीबाट बच्न झ्याल बनाउने सिकर्मीमाथि दोष थोपर्छ । सिकर्मीलाई बोलाईन्छ, उ पनि आफुले चौकोस खापा सबै राम्रो बनाएको तर डकर्मीले जोडाइ गर्ने बेलामा गाह्रो नराम्रो लाएकोले झ्याल कमजोर भएको दलिल दिएर बच्छ ।
कथामा फेरि डकर्मीलाई पनि बोलाइन्छ । आफ्नो दोष स्वभावगत रूपमा अरूमा थोपर्ने क्रममा डकर्मीले पनि आफूले गाह्रो लगाउन लाग्दा बाटोमा एउटी सुन्दर स्त्री देखेको र त्यसैलाई हेर्दा ध्यान भङ्ग भएर गाह्रो बाङ्गीएको बखान दिन्छ । तुरुन्तै सो स्त्री लाई अदालतमा हाजिर गराइन्छ । चतुर स्त्रीले आफू सुन्दर नभएको तर त्यसदिन एउटा रङ्गीन ओढने ओढेर हिँडेकोले डकर्मीको ध्यान अकर्षण भएको हुनसक्ने बताएर अन्तिम दोष कपडा रङ्गाउने मा पुर्याउँछिन् ।
अन्धेर नगरीको राजमा अन्तमा सो कपडा रङ्गाउने को खोजी गरिन्छ बोलाइन्छ । कथाको अन्तमा गजब मोड आउँछ। त्यो कपडा रंगाउने अरू कोही नभएर चोर स्वयं नै हुन्छ ।