टेबलमा राखिएका फोन र त्यससँग सम्बन्धित यन्त्रहरु पुछपाछ गर्ने क्रममा मैले चित्रकथाको ‘द पाइड पाइपर’ पुस्तक भेट्टाएँ । यो पुस्तक हिजो बेलुका फोन गर्न आउनेहरुमध्ये कसैले भूलवश छोडेर गएको हुनुपर्छ मनमनै सोचेँ । सरसफाइको काम सिध्याएपछि त्यो पुस्तक पढ्न थालेँ । जर्मनीमा हयामिलिन नाउँ गरेको सहर थियो । त्यस सहरका बासिन्दा सुख शान्तिपूर्वक जीवन बिताइरहेका थिए । एक दिन अचानक त्यो सहरमा हजारौँको संख्यामा मुसा आए र सहरमा जताततै उत्पात मच्चाउन थाले ।
If You want Advertiese Here mail us at info@advertnepal.com
मुसाहरुले बच्चाहरुलाई टोक्न र बाटामा जे जे भेटिए, ती सब नष्ट गर्न थाले । मुसाको आतंकबाट हयामिलिनबासी ज्यादै भयभीत भए । मुसा आतंकको समस्याबाट बच्नको लागि सहरवासीले अनेक उपाय गरे, तर सफल भएनन् । त्यति धेरै मुसा मार्नको निम्ति सहरमा प्रसस्त बिरालाहरु पनि थिएनन् । एक दिन मुसाका कारण उत्पन्न समस्या समाधान गर्ने उपायबारे छलफल गर्न त्यहाँका नगरप्रमुखले बोलाएको आपतकालीन बैठकमा सहरबासीहरु भेला भए । ‘ए भाइ’ ! अमेरिकाको एउटा नम्बर मिलाइदिनोस् त’ ! भन्दै एक जना अधबैँसे व्यक्ति एक किशोरीसँगै आए र मेरो अघि नम्बर लेखेको कागज राखिदिए । ती व्यक्ति फोनमा बोल्न लागे ‘अँ‘ अँ’ म बुबा बोल्या हो । के छ त तेरो हालचाल ? ए काम पाइस् !’ ठीक छ, ठीक छ । अहिलेलाई जे जस्तो काम पाइन्छ त्यसैमा झुण्डी’ जसरी भए पनि आफ्नो पढाइ र बस्ने खाने खर्चको जोगाड गर्ने काम गर्नु ! के अरे ? अँ यताको हालखबर उस्तै छ । काम र मामको समस्याले गर्दा मानिसहरुको बेहाल भएको छ । महँगीको त कुरै नगरौं । जनतालाई जीवन धान्नै गाह्रो छ । बेरोजगारीको कारणले गर्दा जताततै हत्या, लुटपाट, अपहरणजस्ता आपराधिक गतिविधि बढेको बढ्यै छ । बिहान घरबाट हिँडेको मान्छे बेलुका फर्किने हो कि होइन कुनै ठेगान हुँदैन । जे होस्, तैँले त्यहाँ दुःख गरेर केही गर्नसकिस् भने केही होला कि भन्ने आश छ, नत्र त.. खोइ के भन्ने ! ए‘ ल यहाँ तेरी बहिनीले पनि तँसँग कुरा गर्ने रे, ल गर’ त्यसो भन्दै उनले फोन युवतीको हातमा थमाइदिए । ‘दादा’ दर्शन, सञ्चै होइसिन्छ ? हजुर हजुर हो मेरो पनि अब चाँडै नै रिजल्ट हुन्छ । मेरा जम्मै साथीहरु उच्चशिक्षाको लागि उतै जाने भन्दैछन् । म पनि त्यहीँ नै आएर पढ्छु है दादा । युवतीले आफ्नो दाजुसँग अनुनय गर्दै बोलिन् । ‘खोइ ल्या यता म बोलूँ । युवतीको पिताले छोरीको हातबाट फोन लिएर बोले ‘के अरे ?’ आमाले के भन्छे भनेको ? उही त हो नि जतिखेर पनि अब मेरो छोरोसँग कहिलेभेट हुने हो भनेर रोइरहन्छे । अँ सम्झाउनुसम्म सझाएँ हाम्रो छोरो मात्र विदेश गएको होइन, यहाँ घरैपिच्छेका छोराछोरीहरु विदेशिएका छन् भनेर कत्ति भनेँ, तर बुझ्ने होइन । ल त अहिलेलाई फोन राख्छु । राम्ररी पढ्ने काम गर्नु ! बरालिने काम नगर्नु ! त्यति भनेपछि उनले फोन राखिदिए र पैसा तिरे । ती बाबुछोरी गएपछि मैले फेरि द पाइड पाइपरको कथा पढ्न थालेँ । अचानक हयामिलिन सहरमा अनौठो पहिरन लगाएको मानिस आयो । त्यो नौलो मानिसले लाएको टोपीको किनारमा हरियो रङको प्वाँख सिउरेको थियो भने कम्मरमा एउटा बाँसुरी घुसारेको थियो । म तपाईंहरुलाई मुसाको आतंकबाट छुटकारा दिलाउन सक्छु । त्यो मानिसले भन्यो ‘तर त्यसको सट्टामा तपाईंहरुले मैले मागेको रकम दिनुपर्छ । नगरप्रमुख र सहरवासीहरुले त्यो मानिसले भनेको सर्त माने । उसको नाउँ सोधे । मेरो नाम पाइडपाइपर हो, उसले भन्यो । त्यसपछि त्यो मुरलीवाला सहरको छेउ भएर बगिरहेको नदीको किनारमा गएर तन्मयताका साथ मुरली बजाउन थाल्यो । पाइड पाइपरले बजाएको मुरलीबाट निस्केको जादुई धुन सहरभरि तरङ्गित हुन थाल्यो । सहरका कुनाकाप्चाबाट निस्केर ताँतीका ताँती मुसाहरु मुरलीको धुनलाई पच्छयाउँदै नदी किनारतिर लागे । नदीको किनारमा पुगेपछि सबै मुसाले नदीमा हामफाले र ती विलीन भए । त्यसपछि त्यो सहरमा एउटा मुसा पनि बाँकी रहेन । नगरवासीहरुले त्यो दृश्य आफ्ना घरका झ्याल, कौसी र खुला ठाउँबाट हेरिरहेका थिए । मुसाबाट छुटकारा पाएकोमा ज्यादै खुसी भएका सहरवासीले खुसीयाली मनाए । दाइ एउटा नम्बर मिलाइदिनुहोस् त अमेरीका । एक हूल विद्यार्थी आए र जो विद्यार्थीमध्येको एकले निकै चुरीफुरीका साथ भन्यो । मैले द पाइड पाइपर बन्द गरेँ र उसले भनेको नम्बर मिलाउने प्रयत्न गरेँ । उताको घण्टी बज्न थालेपछि मैले फोन दिएँ । को रतन दाइ हो ? म विजय बोल्दैछु । अँ हो हामी आठैजना साथीको भिसा मिल्यो । अँ हाम्रो पूरा ग्याङ्ग उतै आउने भयो । काम त पाइएला नि ! होइन दाइ, एकपटक जसोतसो त्यही छिर्न पाए त भइगयो नि अँ मिनु दिज्यूहरु पनि सपरिवार त्यतै आउनुहुनेछ । ल ल भिसा पाएको कुरा दाइलाई यसो खबर गरिदिएँ भनेर फोन ग¥या हो । भेटमा कुरो गरौँला । के हो भाइ तपाईंहरु सबै विदेश जाने हुनुभयो कि क्या हो ? मैले उसको हातबाट पैसा लिँदै प्रश्न गरेँ । अँ दाइ सबै उतै जाने भइयो । अनुहार उज्यालो पार्दै प्रफुल्लित स्वरमा अघिकै केटो बोल्यो । तपाईंहरु युवा जति यसरी सबै विदेशिएपछि यो देशमा को बस्ने त ? बूढाखाडा र अशक्तहरु मात्रै ? मैले खुद्रा पैसा फर्काउँदै भनेँ । उसले केही उत्तर दिएन । उनीहरु गएपछि मैले फेरि द पाइड पाइपर पढ्न थालेँ । पाइड पाइपरले हयामिलिनवासीलाई मुसा आतङ्कबाट छुटकारा दिलायो र आफूले पाउनुपर्ने रकम लिनको लागि नगरप्रमुखकहाँ गयो । नगरप्रमुख असाध्य लालची थियो । उसले पाइड पाइपरलाई आफूले कबलेजति रकम दिन मानेन । नगरप्रमुखले धोका दिएकोमा पाइड पाइपर एकदमै रिसायो । उसले सहरवासीहरुलाई सजाय दिने निर्णय ग¥यो । सरासर सहरदेखि बाहिर गयो र एकनाससँग मुरली बजाउन थाल्यो । ए भाइ ल छिटो एउटा नम्बर मिलाइदिनुस् त । हत्तारिँदै आएका एक जना ग्राहकले मेरो अघिल्तिर नम्बर राखिदिए । हातमा फोन लिनासाथ उनी बेस्सरी कुर्लिन थाले ‘के अरे अरे ? पढाइ सिद्धिएपछि यतै फर्कन्छु भन्छस अरे ? तँ आमाछोराले कुरा मिलाएर हुँदैन बाबै ! भन्दया छु । आफू पार्टीमा लागेको हुनाले कत्रो तिगडमबाजी गरेर तँलाई पूर्ण छात्रवृत्तिमा पढ्न पठाएको । लरतरो मान्छेले गर्नै नसक्ने काम हो यो । तँ भने बडो देशभक्त बन्न खोज्ने ? यहाँ न जीउ धनको सुरक्षा छ, न त भविष्यको । पढाइ सिध्याएपछि पनि यता फर्कने होइन भनिद्या छु । त्यहाँ तँजस्ता लाखौँ युवा छन्, आफ्नो दुनो सोझ्याउन बसेका, बुझिस् ? ल, पछि कुरो गर्दै गरौँला । हाँडीमा मकै पड्केको झैँ गरेर आफू मात्र एकोहोरो बोलेपछि फोन राखे उनले । लौन बाबु, छोरोको फोन मिलाइदिनुहोस् न ! नियमितजस्तै फोन गर्न आइरहने एक बूढी आमाले मेरो अघि आएर भनिन् । बिचरी बूढी आमैले आफैँले हिजो बेलुकी पनि आफ्नो एक मात्र सन्तान छोरासँग कुरा गर्न खोज्दा उता फोन नै उठेन । बस्नोस् न आमा ! मैले भनेँ, र उनले दिएको नम्बरमा फोन मिलाउने प्रयास गरेँ । बल्लतल्ल घण्टी बज्यो, तर उताबाट अहिले पनि कसैले फोन उठाएन । निन्याउरो अनुहार पारेकी बूढी आमैलाई ‘एकछिन पछि फेरि कोसिस गरौँला है त आमा’ भनेँ । यसबाजी त छोरोलाई निकै छिटो फोन गर्न लाग्नुभयो नि आमा । मैले कुरो कोटयाएँ । हो बाबु, मेरा देउरानी र उनका छोरीज्वाइँ सबै तीर्थजाने भएका छन् । मलाई पनि जा भनेका छन् । सङ्गीसाथी पाएपछि मैले पनि जाने आँट गरेकी छु । यत्रो ठूलो काम आँट्दा छोरोसँग पनि एकपटक सोध्नै पर्छ, उनले भनिन् । तपाईंको छोरो विदेश गएको त निकै वर्ष भइसक्यो होइन आमा ? मैले फेरि सोधेँ । हो बाबू आउँदो मंसिर चार गते उसले देश छोडेको अठार वर्ष लाग्छ । खुइ ! गर्दै उनले भनिन् । अनि यतिका वर्ष बित्दा पनि उनी यता आउन खोज्दैनन् त.. ? मेरो मुखबाट कुरा फुस्कियो । खोज्छ बाबू आउन त किन नखोज्नु, तर खोइ कुन्नि कस्तो कागज बनाउन नसकेको हुनाले हो, आउन सकेको छैन भन्छ । बरा आफू जन्मेको, हुर्केको गाउँघर सम्झेर कति रुँदो हो उनको मन । भावविभोर हुँदै भनिन् उनले । तपाईंसँग यहाँ को बस्छ त ? मैले फेरि प्रश्न तेर्साएँ । एउटी मजस्तै बूढी छन् । हुन त उनी मेरो कतैपट्टिको पनि नातागोता होइनन् तर बाल विधवा भएर गाउँमा साह्रै दुःख पाएर बसेकी थिइन्, उनैलाई मैले साथमा राखेकी छु । भयो धेरै वर्ष । अब त हामी एउटै आँतका दिदी बहिनीजस्तै भएर बसेका छौँ । फेरि फोन लगाउने कोसिस गरेँ । यसबाजी पनि उता घण्टी गइरह्यो, तर कसैले पनि फोन उठाएन । होइन यतिविघ्न कोसिस गर्दा पनि उता किन फोन उठेन बाबू ..! कतै मेरो छोरो बिरामी परेर पो कोठामा नभएको हो कि । लौ न प्रभु अब म के गरौँ ? एकाएक अधीर भएर विवशतापूर्ण स्वरमा भनिन् उनले । पीर नगर्नहोस् आमा तपाईंको छोरो अन्त कतै गएका होलान् । भरै भोलि फर्कन सक्छन् । मैले उनको मडारिएको मनलाई धेरै कुरा भनेर सान्त्वना दिने प्रयास गरेँ । छोरो देश छोडेर परदेश गएको यतिका वर्षभइसक्यो, तर मेरो आँखामा भने विदेश जान हिँडेको दिनको घटना अझै पनि आँखाको अगाडि झलझली नाचिरहन्छ । त्यस दिन उसलाई जहाजसम्म पु-याउन म पनि गएकी थिएँ । बाटाभरि मेरो हात समातेर भक्कानिएर रोइरह्यो । रुँदारुँदा मेरा आँखाहरु पनि बारुलाले डसेजस्तै गरी सुन्निएका थिए । जहा आएपछि सँगै सबै यात्रुहरु लाम लागेर गए । उसले एकपटक पनि फर्केर हेरेन । उनी जहाजभित्र पसे जहाजको ढोका बन्द भयो । त्यसपछि कता हरायो कता ? भन्दै बूढी आमाले हत्केलाले आँसु पुछन थालिन् । उनको अवस्था देखेर मेरो मन साह्रै नै कुँडियो । बूढी आमा दिउँसो फेरि आएर छोरोसँग कुरा गर्न मनसाय जनाएर घरतिर लागिन् । त्यसपछि मैले द पाइड पाइपरको कथा पढ्न थालेँ । पाइड पाइपरले बजाएको एक तमासको धुन ह्यामिलिन सहरभरि गुञ्जिन थाल्यो । त्यो धुन सुनेर सहरका बालबालिका हूलका हूल बाँधेर नाच्दै उफ्रिँदै रमाइलो गर्दै पाइड पाइपर भएतिर गइरहेका थिए । आफ्ना बालबालिका पाइड पाइपरलाई पछयाउँदै गइरहेको देखेर तिनका अभिभावकहरुले उनीहरुलाई फर्काउन अनेक प्रयत्न गरे तर बालबालिकाले पछि फर्केर पनि हेरेनन् । अन्त्यमा, त्यो पाइड पाइपर बच्चाहरुसहित एउटा पहाडको नजिक पुग्यो । उनीहरु पुगेको पहाड बीचमा चिरियो । पाइड पाइपर मुरली बजाउँदै चिरिएको ओढारभित्र पस्यो । उसको पछि पछि लाम लागेर आएका बालबालिकाहरु पनि त्यहीँ ओढारभित्र पसे । त्यसपछि त्यो ओढारको ढोका बन्द भयो । बिस्तारै मुरलीको धुन पनि सुनिन छोड्यौ । त्यसरी नगरवासीले आफ्नै आँखाको अगाडि आफ्ना लालाबालाहरु ओढारमा कता हो कता विलीन भएको देखे । अभिभावकहरु दुःख र पीडाले आकुलब्याकुल भएर शोकमा डुबे । मुसा आतङ्कबाट बचेका ह्यामिलिनवासीहरुले यसरी ठूलो मूल्य चुकाउनु प-यो । राजीब श्रेष्ठ