इन्दिरा अर्याल/धादिङ जेठ ५ – खाडीका देशमा रोजगारीका लागि जाने नेपालीले महिनाको कति कमाउलान् ? सरदर ३० देखि ४० हजार रुपैयाँ । वा राम्रो काम र पद पाएकाले एक लाख रुपैयाँसम्म । तर धादिङको निलकण्ठ नगरपालिका ३ का अनिल केसीले महिनाको दुई लाख रुपैयाँ कमाउनुभयो । २०५९ सालमा साउदी जाँदा १६ हजार रुपैयाँ तलव थाप्ने अनिलको तलव दुई लाख पुग्नुको छुट्टै कहानी छ । विदेश जानुभन्दा अघि अनिल गाउँमा किराना पसल चलाउनुहुन्थ्यो । त्यसले परिवारको साँझ बिहान चल्थ्यो । अनिल २१ वर्षको हुँदा बुवा स्वर्गे भएपछि ४ जना बहिनी सहितको ७ जनाको परिवारको खर्च त जुटाउनुपथ्र्यो नै बहिनीहरुको पढाई खर्च पनि जोहो गर्नुपथ्यो उहाँले । त्यसैले किराना पसल खोल्नुभयो । तर दिनभरी किराना पसल रुङदा पनि सामान विक्दैनथ्यो । त्यति मात्रै होइन कमाइ हुन्छ कि भनेर खोलेको पसलबाट उल्टै घाटा भयो । ‘त्यसैले अब केहि सोच्नै प¥यो भनेर विदेश गएँ ।’ अनिल भन्नुहुन्छ । दुई वर्षका लागि साउदी गएका अनिलले सेल्सम्यानको काम पाउनुभयो । तलव थियो १६ हजार रुपैयाँ । विदेश जाँदा पनि १६ हजार मात्रै ? कहिलेकाहिँ अनिलका मनमा प्रश्न आउँथ्यो तर उहाँ पछि हट्नुभएन । उहाँले भन्नुभयो ‘तलब थोरै भएकाले घरको ऋण कसरी तिर्ने होला भन्ने कुरा दिमागमा आइरहन्थ्यो । तर काम राम्रो भएकाले यस्ता कुरा दिमागमा लिनु हुदैन भन्ने लाग्या ।’ ४२ महिनापछि छुट्टि लिएर उहाँ नेपाल फर्किनुभयो । तर छुट्टि सकिन नपाउँदै साहुले उहाँलाई सेल्सम्यानबाट रिसिभरमा बढुवा गरिदिन्छु चाँडो काममा आउ भनेर बोलाएपछि फेरि जानुभयो । विदामा घर बसेर फर्किएपछि उहाँको पद मात्रै बढेन तलव पनि १६ हजारबाट बढेर २५ हजार पुग्यो । त्यसमा पनि तिम्रो इमान्दारिताका लागि भन्दै साहुले ५ हजार थपिदिएपछि उहाँ महिनाको ३० हजार कमाउने हुनुभयो । ‘तर पद बढेपनि मैैले आफनो कामलाई कहिले पनि घटाइन त्यहि भएर मेरो पद बढ्दै गयो ।’ अनिल भन्नुहुन्छ । सेल्सम्यानबाट ८ महिनामा रिसिभरमा बढुवा भएका अनिल त्यसको तीन वर्षमा गोदाम इन्चार्ज हुनुभयो । अनि उहाँको तलव भयो झण्डै ३४ हजार रुपैयाँ । पदसँगै तलव बढेपछि उहाँले १३ वर्ष बितेको पत्तै पाउनुभएन । १३ वर्ष एउटै कम्पनीमा काम गरेका अनिलको कमाई एक लाख ९६ हजार रुपैयाँ पुग्यो । उहाँले यो दुई लाख हाराहारीको तलवमा पनि झण्डै पाँच वर्ष काम गर्नुभयो । एउटै कम्पनीमा १३ वर्ष काम गरेपछि सामान्य कामदारबाट पसेका अनिलको हैसियत आर्थिक हिसावले राम्रै ठाउँमा पुगेको थियो । त्यसैले उहाँले भनेको काम र कमाई नपाएर समस्यामा परेको एक सय ५० जना भन्दा धेरै नेपालीलाई काममा पनि लगाइदिनु भएको थियो । यो १३ वर्षमा उहाँले ४ जना बहिनीको पढाई लेखाई सक्नुभएको छ । उहाँ पाँच पटक घर आउँदै जाँदै गर्नुभएको थियो । त्यसैले १३ वर्षपछि अव चाहिँ गाउँमै केहि गर्ने कि भन्ने सोच लिएर उहाँ विदेशको बसाई टुङ्ग्याएर नेपाल फर्किनुभयो । २०७१ सालमा घर फर्किँदा उहाँले करोड भन्दा धेरै कमाइ सक्नुभएको थियो । त्यसमध्ये धादिङबेसीमा ४ आना घडेरी किनेर ८० लाख रुपैया लगानी गरी घर बनाउनु भयो । उहाँ विदेश नजाने गरी घर फर्किनुभयो । बिदेशबाट फर्किएका अनिलले बजारमा घडेरी किनेर घर बनाउँदा झण्डै ८० लाख लगानी भयो । अनि त्यही घरमा ५० लाख लगानी गरेर सुरु गर्नुभयो हार्डवेयर पसल । पसल थालेको सात महिना भयो । अहिले उहाँले एक महिनामा २० देखि २५ लाख रुपैयाँको व्यापार गरिरहनुभएको छ । महिनामा २५ लाखको कारोबार त धेरै नै हो नि हैन ? यो प्रश्नमा अनिलले कारण खोल्दै भन्नुभयो ‘गाउँ गाउँमा भुकम्पपछिको पुर्ननिर्माण भइरहेको छ । अनि मैले अन्य भन्दा सहुलियतमै बेच्ने भएकाले व्यापार राम्रो भएको हो ।’ अनिलको सफलतामा उहाँको अनुभवले नै सघाएको छ ।