• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

कार्नेसन, धुवाँ र तिम्रो झझल्को

साँझ अबेर बितिसकेको छ। पिनाज मसानी र अविदा परविन सुनिरहेको छु। र तिम्रो झझल्को आँखामा टाँसिएको छ। शहरको लामो सडक त्यसैगरी तन्किरहेको छ। तर गाउँमा काटिएको झोलुङ्गे पुल बनाइएको छैन। शहरका पुलहरु पनि मक्किसकेका छन्। भाँच्चिने सम्भावना धेरै छ। शहर कोलाहल मय छ र निर्जन छ। चिनिएका अनुहार कोही छैनन्। सबैमा तिम्रो अनुहार ठम्याउन खोज्छु। पाउँदिन। सडक छेउका खिरिला रुखका मसिना झिक्रामा बेतोडले कुद्ने गाडीको धुवाँको कालो पोतिएको छ र ती निहुरिएका छन् सडकमा र्झन। म पनि त निहुरिएको छु अब ! सीधा छैन म यहाँ। यहाँ जुनेली रातमा टल्किने पातहरु छैनन्। साँझ अबेर सम्म शहर, मन्दिर, देवल र कुइनेटाहरु घुमिरहेको हुन्छु। अहँ, केही छैन सभ्यताको चिनो। मन्दिर देवल र शहरमा लागेका पुराना पत्रहरु पनि खुइलिँदै गएको देख्छु। मान्छेभित्र समवेदना पनि यसैगरी खुइलिँदै गएको छ। तर मान्छेका नया नया आकांक्षाहरु पलाइरहेका छन्। शहरका अग्ला घरहरुमा फेरि ढ्रि्रीकै उज्यालो छाइरहेको छ। सबैतिर अध्यारो छ र सबै अँध्यारोमै बस्छन् भन्ने जनाउन अँध्यारो शहरमा पसिरहेको छ। विजुली बलुन्जेल अँध्यारो उज्यालो छुट्याउनै सक्दिनँ। अहिले बल्ल अँध्यारो कोठामा पस्छ र अँध्यारो भएछ भन्ने जान्दछु। हिजै मात्रै डिवियाको उज्यालोमा लेखिएको तिम्रो ध्वाँसे प्रेम पत्र फेरि पढेपछि जीवन बोध गरेँ। यहाँ त सभ्यता सभ्यताजस्तो छैन। जीवन जीवनजस्तो छैन। ठमठम हिँडिरहेका यी सबै मान्छे मान्छे जस्ता छैनन्। मात्रै मान्छे हुनुको एकएकवटा आकृति र एकएक वटा मन बोकेर हिंडेका छन्। साँझ ढिलो घर आएको छु। दुनिया निदाउने तरखर गर्दै होला। उनीहरुसँग आफ्नो भन्ने त्यतिमात्रै त हो। ननिदाएर के गनू- मैले पनि निदाउनु छ। जुनको उज्यालो पनि बादलले छेकेर धमिलो पारेको छ। उहिल्यै कहिले तिमीले दिएको फूलको गन्ध सम्झिरहेको छु। मेरो म्यादी जागिर भरखरै सकिएको छ। र, म फेरि बेरोजगार भएको छु। १ वैशाख २०६५ आज शहर घुमेँ। भोटाहिटी आइपुगेको छु। किताब पसलहरु चहार्छु अरु पसल पनि छन्। डिपार्टमेन्टल स्टोर छ। एउटा पुस्तक पसलको छेउ पट्टी कुनामा हतियार पसल रहेछ। पसले भन्थ्यो हतियार नक्कली हो। बालबालिकाका लागि खेलौना मात्रै। हतियार पनि खेलौना भएको छ! शायद सक्कली पनि पाइँदो हो कि यहाँ हतियार! केही दिन अघि यही चोकमा बम पडि्कएको सम्भिन्छु। हतियार देखेर आङ सिरिङ्ग हुन्छ। नक्कली भने पनि सक्कली नै ठान्छु। पुस्तक पसलमै छु र हातमा कार्नेसन फूल बारे लेखिएको पुुस्तक छ। कार्नेसन फूलको इतिहास पढ्छु-’ग्रिककी राजकुमारी डायना भेडा गोठालोलाई भित्र भित्रै मन पराउँथिन्। मन पराएको भावना उनले पटक पटक भेडा गोठालोसँग पनि पोखिन्। तर भेडा गोठालो ती सबै केही नबुझेजस्तो गरिदियो। पटक पटक उनले आफ्नो कुरा भेडा गोठालोलाई भन्न खोजिन् तर पनि उसले त्यो प्रेमको कुरा बुझेन वा नबुझेजस्तो गरिदियो। त्यसैले राजकुमारी ऊसँग रिसाउँथिन्। एकदिन राजकुमारीले रिसको झोँकमा त्यो गोठालोको दुवै आँखा निकालेर सकेसम्म टाढा फालिदिइन्। केही समय पछि गोठालोको आँखा झरेको ठाउँमा दुइवटा झार उम्रिए। विस्तारै त्यो झारमा दुइ रंगका फूल फुले। तिनै फूलको नाम पछि कार्नेसन भयो। राजकुमारीले ती फूलहरु कोठामा ल्याइन्। धेरै बेर रोइन् र पटक पटक ती फूल चुमिरहिन्। राजकुमारीले कार्नेसनलाई आफ्नो कोठाको सिरान पट्टी राखिन् जहाँ झ्याल थियो। र त्यो फूलमा राजकुमारी आफै पानी हाल्थिन्।’ पढेपछि राजकुमारी, भेडा गोठालो र कार्नेसन सबैमा एक पटक छुट्टाछुट्टै छिरेर तिनका भिन्दा भिन्दै पीडा अनुभव गर्ने इच्छा लाग्छ। हतियारको इतिहास मैले खोजिनँ। निर्ममता देखाउँदा पनि फूल फुल्ने प्रेमको र्समर्पणजस्तो पक्कै हुँदैन हतियारको इतिहास-ठान्छु। मैले कार्नेसन फूल सम्झिएँ। ती राजकुमारी सम्झिएँ। तिमीलाई एउटा राम्रो कथा संग्रह पठाउँ सोच्दैछु। पुस्तक पसलमा अडि्कएको आँखा आमासँग झगडा गर्दै गरेको एउटा बालकमा पर्यो। आमा चाहिँलाई देख्दा मलाई फेरि तिम्रो झझल्को आयो। बालकको माग छ-’मलाई बन्दुक नै चाहिन्छ।’ आमा भन्दैछ-’साना केटाकेटीका लागि यो ठूलो वर्णमाला राम्रो छ।’ त्यो ख्याउटे बन्दुक व्यापारी आमा छोरा दुवैलाई एकटकले हेरिरहेको छ। बन्दुक शीसामा सजाएर राखिएको छ। जति नै सजाएर राखे पनि र जति नै सुन्दर देखिए पनि बन्दुक कार्नेसनजस्तो फूल हुन सक्दैन। कार्नेसन प्रेमले फुलेको छ त्यहाँ जीवनको नया सिर्जना छ। त्यसमा प्रेम भरिएको छ। नक्कली भए पनि सक्कली भए पनि बन्दुकमा प्रेम हुँदैन। बन्दुक जीवन विरुद्ध हो। तर छोरो जीवन विरुद्ध जान खोजिरहेको छ। ‘मलाई बन्दुक नै चाहिन्छ’, छोरो जिद्दी गरिरहेको छ। आमा बन्दुक देखेर तर्सिएकी छ। ऊ कलम देखाउँछे। कलममा सिर्जनाको मसी छ भन्ने उसलाई थाहा छ। हजारौँ बन्दुक विरुद्ध एउटा कलम जान सक्छ भन्ने ऊ ठान्छे। तर छोरो बन्दुक नै देखाउँछ। बन्दुक नकिनिदिए ऊ जबरजस्ती त्यो बन्दुक थुतेर आमालाई हान्न तयार हुन्छ। आमा हार्छे। छोरो हातभरिको बन्दुक लिएर आमाको पछि लाग्छ। अर्को अधवैँशे पनि बन्दुक हेर्दैछ। सोच्दैहोला-’एकै ड्याममा यसले कति जनालाई सिध्याउन सकिएला?’ ‘सक्कली बन्दुकले त सिध्याइहाल्छ नि, कति सिध्याउँछ सिध्याउँछ’, पसले भन्छ-’एके ४७, एसएमजी, एलएमजी, इन्सास वा चाइनिज पेस्तोलले हाने पछि त पुक्लुक्कै। यस्ता हतियारले देशमा कति मरे तपाईँले पढ्नु भएको छैन कि के?’ पसलेले गाह्रो नमानी भन्यो। मान्छे सजिलै आफ्नो अन्त्य चाहँदैन। भयमा डराउँछ तर आफै भय सिर्जना गरेर मान्छेका विरुद्ध लाग्छ। अरुका विरुद्ध लागेको ठान्दै सधैँ आफ्नै विरुद्ध लागिरहेको हुन्छ। अरुको अन्त्य गरेको ठान्दै आफ्नै अन्त्यको शुरुवात गरिरहेको छ। तीखो छुरी बनाउँछ र कमलो मुटुमा घोच्छ। मिसाइल बनाउँछ र पड्काउँछ। धर्ती चिरा चिरा हुने गरी थर्काएर एकछिन रमाउँछ। घाइते बनाउँछ। रगतपच्छे भएको हेर्छ र आनन्द मान्छ। आफ्नो मुटु आफै दुखाउँछ-मान्छे। र मान्छे आफ्नो सन्ततीलाई क्रुरताको नजिक लगिरहेको छ। सोच्छु, यो पुस्तक पसल र यो बन्दुक पसल कसरी सँगै भए- कसरी सम्भव भयो सिर्जना र सिर्जना विरुद्धको मिलन एकै ठाउँमा – यदि त्यो बालक तिम्रो छोरो भइदिएको भए- यदि त्यो बन्दुक सक्कली भइदिएको भए- र त्यो बालकले तिमीमा बन्दुकको परीक्षण गरेको भए-………..कहालिन्छु। डर भरिएर आउँछ मुटु, मन र फेक्सोभरि अटेसमटेस भएर। फेरि पुस्तक तिरै फर्किन्छु। बन्दुकको भयले छोड्दैन। तिम्रो झझल्कोले छोड्दैन। फूलको इतिहासको पन्ना बन्द गरेर पुस्तक फिर्ता दिन्छु। फेरि रित्तो फर्किन्छु। उही तिम्रो ……….. • म दुःख मात्र अनुभव गर्छु दुःखका कुरामात्र सम्झिन्छु । हुलाक घर गएर पोष्ट बक्स खोलेँ। तिम्रो पत्र थिएन। विस्तारै पत्र मञ्जुषाहरु खिया लाग्दै गरेको देख्छु। मान्छेको चाप कम हुँदै गएको छ हुलाकमा। पुलिन्दा बोकेर हिंड्नेहरुको लस्कर पनि कम छ हुलाकमा। सबै साइबर जाँदा हुन्, सबै च्याटमा रमाउँदा हुन्-लाग्छ। तर कहिले सम्म विज्ञानको पछि पछि- खोइ त्यहाँ हार्दिकता– खाई प्रेमले चुमने हस्ताक्षर- म तिम्रो सुन्दर हस्ताक्षर सम्झिन्छु। हुलाक घर अघि पानी जमेको छ। नीलो पानी ! चीठीमा लेखिएको निलो मसीजस्तै। मानौ त्यो पानी होइन दुखी मान्छेका आँशुले भरिएको दह हो भन्ने ठान्छु। त्यहाँ छायाँहरु देखिन्छ। तिम्रो छाया खोज्छु। फेरि तिम्रो झझल्को आउँछ। चिठीमा खसम खेजिरहेकाहरु छन्-तिम्रो झझल्को आउँछ। चिठीमा प्रेमी र उसको मायालु र्स्पर्श खोजिरहेकाहरु छन् उता छेउमा-तिम्रो झझल्को आउँछ। गुलावी गालाबाट आँशु चुहाउने र गह थुनेरै जानेहरु पनि छन् तिम्रो झझल्को आउँछ। एक छेउबाट सबै हेरिरहेको छु यायावरजस्तै-तिम्रो झझल्कोलाई। सबै हेर्छु पर्खिन्छु। सबैले पर्खिएरै जीवन विताइरहेका रहेछन् भन्ने ठान्छु। मलाई पनि त हतार छैन। हेर्नुछ । आफैलाई छलेर पर्खिनुछ। र आफैलाई विर्सिएर पनि। मनमा तरंग उठेको छ। मेरो म्यादी जागिर सकिएको छ। र, म एउटा जागिरको खोजीमा छु।) २ वैशाख २०६५ पशुपितमा छु। पारिपट्टी घण्ट बज्छन्, शंख बज्छन्। बैरागलाग्दो धुन। मान्छे पोलिएको छ। जीवन यत्ति हो ठान्छु। तेरो मेरो कति कलह गर्नु- ब्ल्याक एण्ड हृवाइट धुवाँ बटारिएर गएको छ आकाश तिर र नदेखिने गरि बिलाएको छ। जिन्दगी जम्मामा धुवाँ रहेछ। केही घिउ, पराल र थोरै दाउरा सँगै आउने धुवाँ। किराँतेश्वर पस्छु। गुहृयश्वरी छिर्छु श्लेशमान्तक घुम्छु। मात्रै धुवाँ देख्छु। केस्रा परेर बटारिएर आकाश तिर गएको धुवाँ। के यति मात्रै हो त जीवन ? यति मात्रै हो भने किन हतियार बनाइरहेछौँ मार्नलाई ? यतिमात्रै हो भने किन विर्सिरहेछौँ एक अर्कालाई ? द्वेष, घृणा, कलह, युद्धमा किन फसिरहेछौँ ? हाम्रो सभ्यता र संस्कार किन भुलिरहेछौँ ? आखिर धुवाँ त रहेछ जीवन। कानै लर्किने गरी फलामको कुण्डल लगाएको छेवैको जोगी भन्छ-’जीवन दुखहरुको सगम हो। दुख विनाको जीवन जीवनजस्तो हुन्न। दुखहरु छ र जीवन सुखी छ। सुख मात्रै खोज्नु सबै भन्दा ठूलो दुख हो। सुख खोज्नेले मात्र दुख पाउँछ। जीवनको अन्तिम सुख धुवाँमा छ। यो बटारिएर मास्तिर गएको धुवाँमा।’ केही युवायुवती अंगालो मारेर किराँतेश्वर उक्लिँदैछन्। केही युवायुवती एक अर्काको हात समातेर पशुपति ओर्लिरहेछन्। लाश जलिरहेको आर्यघाटको छेवैमा केही बाहुनहरु संस्कृत मन्त्रोच्चारणका साथ पुण्य कर्म गरिरहेका छन्। सबै चलेकै छ। यी सबै आफ्नै आँखाले अनुभव गरेपछि लाग्छ कोही पर छैन। हामी जोडिएका छौ एक अर्कामा। यदि यो धर्तीलाई छोएका छौँ भने हामी सबै एकै ठाउँ छौँ। मात्रै नदेखिएको हो। एक अर्कालाई छोएर बसेका छौँ। मात्रै अनुभव हुन नसकेको हो। र हामीवीचको त्यो छुवाइ नदेखिने गरी चलिरहने वतासबाट पनि भएको छ। तिमीलाई छोएको बतासले मलाई पनि छोएको अनुभव गर्छु त्यो सिरसिरे वतासको रेशमी धागोले जोडेको ठान्छु एकअर्कालाई। र यो धुवाँ पनि हावामा गएको छ। हामी पनि मिलौँला अब हावा भएर धुवाँ धुवाँमा। त्यही एउटा अन्तिम सत्य पर्खिएर बसेको छु। उही तिम्रो ……………….. • (एक गुजुल्टो अन्धकार मडारिएर भित्र पस्यो। फेवा तालजस्ता नीला आँखा भएकी तिम्रो झझल्कोले फेरि मलाई पुर्यो। हल्लिइरहने झोलुङ्गे पुलजस्तो यो मेरो विचार पनि छिन्ने हो भने शायद म शुन्य शुन्य हुन्छु लागिरहेछ। कतै कार्नेसन फुलिरहेको होला। कतै बन्दुक विकिरहेको होला। कतै धुवाँ उडिरहेको होला। एउटा जीवन शुरुवात र यौटा जीवन अन्त्य भइरहेको होला। अहिले म आफैभित्र ओझेल परेको छु जसरी।)

--राजीब श्रेष्ठ---

 

www.tourmynepal.com

www.hamrobus.com

 

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image