• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

घरेलु हिंसा

एकजना दुइजना गर्दै एकैछिनमा आँगन भरियो, मान्छेहरुको ताँतीले | आफ्नाहरू पनि आए पराइहरू झन् धेरै आए| जो जो आए सबै मलाइ कर्के नजरले हेर्दै विनितालाई सहानुभूति दिनेहरु नै आए | अधिकारबादी, स्कुलका माष्टर, गाउँका नेता, बुढापाका, बिभिन्न समूह र संस्थाका मान्छे, आमा समुह सबैखाले आए | मलाई भन्नु नभन्नु भन्नेहरु आए, कोहि बाँधेर घाँस हाल्ने भन्छन | कोहि गुहु-मुत खुवाउनुपर्ने भन्छन | हुतिहारा र नामर्दको उपाधि यस्तरी दिए कि यो संसारमा सर्वेसर्वा उनीहरु नै हुन | पुरा गाउँ म बिरुद्द खनिएको देख्दा अचम्म लाग्यो | हिजो बेलुकी मात्रै कार्किदाईको भट्टीमा तेरोलागि जे पनि गर्छु भन्ने अधिकारि कान्छो यस्तरी बोल्दै थियो कि, मैले उसको सर्वस्व हरण गरेको छु | हुनत यि सबैलाई मैले राम्रैसँग चिनेको छु | मलाइ गुहु-मुत खुवाउन तम्सिने निरौलाको भिमेले अस्तिमात्रै हो, अंशको निहुँमा आफ्नै बुढो भएको बाउलाई अस्पताल लैजानेगरी कुटेको | थानाको असईसँग खुब उठबस भएर मात्रै केहि भएन | ******* हुनत ति निरौला बाजे बिचरा सत्तरी काटेका तिनीसँग के त्यस्तो खास थियो र तिनको पक्षमा कोहि बोलिदेओस | बाँधेर घाँस हालिदिउँ भन्ने अधिकारि कान्छो पनि पोहोरको साल विदेशिएको आफ्नै दशदिने दाजुकी स्वास्नीसँग रंगेहात समातिएको हो | ति भाउजुकी आँखा धमिलो देख्ने सासु बाहेक कोहि थिएनन घरमा | लोग्ने पनि भर्खरै परदेश लागेका ऋण उतार्न पाएको भए फर्किन्थे होला तर मसिना दुधे लालाबालाको मायाले कागज गरेर छाडिएको हो | त्यो घटना लगत्तै कान्छाले यहाका कि जान्नेसुन्ने भनाउँदालाई एकमहिनासम्म ढुक्कै दारुपानी गरेको पनि कसैको आँखाबाट छिपेको थिएन | तर पनि मलाइ पटक्कै पश्चाताप छैन | हो म पुरै संसारको अगाडी भन्न सक्छु कि मैले मेरी स्वास्नीलाई हिजो राति निर्घात कुटेको हुँ | म मान्छु रक्सीले मातेको थिएँ तर मातेको जोशमा होईन पुरा होसोहवासमा कुटेको हुँ । म सानैदेखि बेग्लै खाले मान्छे थिएँ | मेरा बालापनका कोहि साथि छैनन् | म एक्लै हिड्थे, एक्लै खेल्थें | पढाइमा मलाइ खास रुची थिएन | म धेरैजसो स्कुलबाट भागेर हिड्थे | चार कक्षासम्म कसरि पुगें उतिसाह्रो याद छैन | तर त्यसपछिको एकएक घटना याद छ | पढाइमा गतिलो नभएकोले चार कक्षामा म फेल भएँ | मेरी बहिनीले मलाइ भेट्टाई, ऊ धेरै तीक्ष्ण दिमाग भएकी थिइ | त्यसपछि घरमा संधै मलाइ सिकाउने जिम्मा उसैको भयो | हुनत हाम्रो घरमा सबै पढन्ते छन् | दाजु बाह्र कक्षासम्म कहिल्यै दोश्रो भएन, भाइ एसएलसीमा जिल्लाभरिकै उत्कृष्ट भयो | दिदीको पनि राम्रो थियो, बहिनी त झन् जान्ने थिई | अहिले दाजु मालपोतको अधिकृत छ, दिदी पहाडमा पढाउछिन, बहिनी अंचल अस्पतालमा नर्स छे| भाइ पढ्न विदेश गएको उतै बसेको छ | म मात्रै हुँ बेकामे, बेकामे मात्रै होईन मेरो बुबाको नाकको कालो दाग हुँ म | दाजु र भाइलाई म देखि शरम लाग्छ मलाइ आफ्नै सहोदर भन्न पनि हिच्किचाउछन | दिदीसँग त राम्रै थियो मगर जेठाको छोरासँग सुनबर्सी मेलामा हात समाउदै डुंगामा चढेको कुरा घरमा भनिदिएपछि मलाइ पटक्कै मन पराइनन | मलाइ त्यो जीवने मगर पटक्कै मन पर्दैनथियो | सानैमा स्कुल बाहिर ल्याउने बरफ खोसेर खान्थ्यो, बिचरा त्यो बरफवाला भैया काबु भएको थियो माग्दा दिएन भने जीवनहरुले खोसेर खाइदिन्थे अझ पैसा पनि चोरेर लगिदिन्थे | सरहरुलाई भन्दापनि केहि गर्दैनथे | उल्टो हामीले तलाई बेच्न लगाएको हो भन्थे | जति उमेर बढ्दै गयो जीवन उतिनै बिग्रिदै गएको थियो | झन् पछी बसमा कन्डक्टर काम गर्न थालेदेखि त बेलुकै पिच्छे मातेर हिड्थ्यो | खोइ दिदीले के देखेर मन पराएकी थिइ | सबैले मलाइ हेला गरेपनि ममीले धेरै माया गर्नुहुन्थ्यो | केहि मिठो खानेबेलामा बुबा त्यो घोसेलाई दिनुपर्दैन भन्नुहुन्थ्यो | तर भाँडा माझिसकेपछी बहिनी र ममीले अरुलाई दिए भन्दा धेरै लुकाएर खुवाउनु हुन्थ्यो | ममीको यो स्नेह र बहिनीको प्रेम पाएर म पुलकित हुन्थें | लाग्थ्यो यस्तै माया पाउनलाइ अझै अटेरी बनौं, अझ घोसे बनौं | मैले व्याकरण कहिल्यै बुझिन, नाम-सर्वनाम, क्रिया-विशेषण कहिल्यै आएन | मैले ज्यामिती बुझिन, बिज गणित बुझिन | रसायन बिज्ञान बुझिन, साँच्चै भन्दा मैले स्कुलमा पढाएको केहि बुझिन | अरु सबैले बुझेको कुरा नबुझेपछि म गोज्यांग्रे भएँ, अक्कड़ो र लठुवा भएँ | सरले सोध्दा आएन कति भन्नु बिस्तारै म बोल्नै छाडें अनि स्कुल र घरमा घुँसघुँसे र घोप्टे भएँ | मलाइ रमाइलो अन्तै थियो, सरले व्याकरण पढ़ाउदा म झ्यालबाट देखिने ट्युवेल हेरिरहन्थे | नाम सर्वनामको व्यख्या गर्दा कसरि पानि निस्केको होला भनेर गमिरहेको हुन्थें | ट्युवेलका जिब्रि, वासर, ह्यान्डल कसले बनायो होला भनेर उद्देलित हुन्थे | घरमा ल्याइएका भित्तेघडी, रेडियो सबै खोलेर हेर्थें म | फेरी फिट गर्दा कति चल्थे कति चल्दैनथे | अलिअलि बनाउन जान्ने भएपछि त घडीको पिन हाल्न देखि एफएम रेडियोको बेन्ड खुस्केको लगाउन पनि लिएर आउंथे छिमेकीहरु | ग्यास सकिएको या पत्थर घोटिएर सकिएको अनि बाल्दा नबल्ने लाइटरलाइ अर्को लाइटरको ग्यास या पत्थर हालिदिएर बल्ने बनाउँथें| सकेको जानेको गरेर पठाईदिन्थें | म नौ कक्षामा फेल भएँ | बुबा रिसले आगो हुनुभयो, मलाइ कुट्न खोज्दा रोक्ने हुँदा ममीले पनि बेस्मारी गालि खानु भयो | मलाइ धेरै नराम्रो लाग्यो, त्यो रातभरी म रोएँ | हेडसरको छोरा फेल भयो अब मेरो के इज्जत रहला भनेर खुब सानो मन गर्नुभयो बुबाले पनि | मलाइ ग्लानि महसुस भयो, सरहरुले अनि अरु अरुले पनि भन्थें तँलाई कसरि दिलसरको छोरा भन्नु ? तेरा दाजुभाइ दिदी बहिनी सबै यति जान्ने छन्, त्यहि घरको तँ यस्तो भनेर सधैं मेरो गिल्ला गर्थे | बहिनीले पनि जितेर गइ, मलाइ कत्ति दुख लागेन मेरो बहिनीले धेरै पढोस राम्रो गरोस भन्ने नै लाग्थ्यो सधैं | त्यसपछि कति कति दिन म भोकभोकै हिड्थे, घरमा ममीले खान त दिनुहुन्थ्यो तर त्यसबापत ममीले गालि खानु पर्थ्यो | बुबाले यसलाई कसैले खान नदिनु भन्नु भएको थियो | म भोकै छु भनेर छरछिमेकीलाई पनि थाह हुन्थ्यो, एकजना राई काकीले मलाइ धेरै खुवाउनुभयो | म घरमा पनि मागेर खान्नथिएँ, पकाएर राखेको पनि अरुले नदिए पस्केर खादिनथिएँ | ममी भन्नुहुन्थ्यो मागेर खाने गर्नुपर्छ, आफ्नो घरमा निकालेर खानुपर्छ | तर मलाइ माग्न मुख लाग्दैनथियो, निकाल्न हात लाग्दैनथियो | मेरो दुख कठै भन्ने धेरै छिमेकी थिए, माइलो छोरा भएर वास्ता नभएको भनेर मलाइ “सोडा” लगाउथे | तर मलाइ कहिल्यै बुबासंग गुनासो लागेन, मलाइ घरका कसैसँग पनि रिसीइवी थिएन | मेरो कारणले बहिनी र ममीले गालि खाँदा धेरै नराम्रो लाग्थ्यो | मसँग खर्च नहुँदा बहिनीका पेवा खसी बेचेका र भुमेपाथिका पैसा दिन्थी, उसले कपडा किन्दा सधैं मलाइ पनि ल्याइदिन्थि | म जहाँ जाँदापनि बहिनी र ममीलाई धेरै सम्झिन्थे, मेरो र बुबाको कहिल्यै राम्रो सम्बन्ध भएन | मलाइ पढ्न बसेपछि ज्यादै दिक्दार लाग्थ्यो, हाइ आउंथ्यो | अक्षरहरु हिड्थे, चित्रहरु बोल्थे, ज्यामितिका कोणहरुले घोच्थे | अंग्रेजी किताबमा भएका चित्रहरु अंग्रेजी नै बोल्थे म बुझ्दिनथिए | ज्यामितिका कोण जान्नुभन्दा कन्दंगवा सरको डस्टर खानु सजिलो लाग्थ्यो मलाइ | रसायन शास्त्रका फर्मुला सम्झिनुभन्दा पुण्य सरको छडी सहज थियो मलाइ | फेरी अर्को सालको ठुलो परिक्षा आइसकेको थियो | अब सरहरुले पनि फेरी फेल भईस भने भाइले भेट्छ भनेर डर देखाउथे | साथिहरु पनि हात धोएरै जिस्काउथे | मलाइ जाँच दिन मन लागेन | एकदिन गोठधुपको दिन थियो बुबाहरु सबै जानुभएको थियो| बहिनी र म थियौ घरमा, भाइ साथीकोमा पढ्न गएको थियो | मैले बहिनीलाई तीनसय रुपैया मागें, बहिनीले किन भनेर सोधी मलाइ काम परेको छ दे न भनेर रुनै खोजें | बिचरा भर्खर १५ बर्ष लागेकी थिई खै के सोची अनि ल्याएर दिई | म एकैछिनमा आउंछु भनेर हिडें, बुबाहरु भन्दा अघि आइज है नत्र मलाइ मार्नु हुन्छ बुबाले भनि | चोकमा निस्केँ, मलाई के गरौँ के गरौँ भएको थियो घर छाड्ने निश्चय गरिसकेको थिएँ | उर्लाबारी जाने बस आयो म चुपचाप चढें | उर्लाबारी पुगेपछि छक्क परें केहि सोच्नै सकिनँ | साँझ पर्न लागेको थियो, एउटा होटेलमा मालपुवा खाँदै बसेको थिएँ | एउटा पन्जाबी ट्रक आएर रोकियो, उसले त्यहाँ खाना खायो | म अघिदेखि उसैलाई हेरेर बसिराखेको थिएँ उसले पनि मलाइ नियाल्दैथियो | धेरै बेर हेरेको देखेर सोध्यो, के हो भाइ घर कहाँ हो ? मैले आत्तिएर भने मलाई गाडी बनाउन सिक्न मन छ, एउटा ग्यारेजमा लगिदिनोस | छक्क परेर फेरी सोध्यो घर कहाँ हो? मैले भनें मेरो घर छैन | बिरगंजमा साथीको ग्यारेज छ जान्छौ? मैले टाउको हल्लाएँ | धेरै कुराकानी पछी भोलिपल्ट हामि पुग्यौ बिरगंज | बाटोभरि मैले उसलाई ढांटे, उसले मजत्रै छोरा भएको, घर धनकुटा र लिम्बू थर भएको बतायो | उसैले भनेर मलाइ दुइछाक खाना सहित बस्ने ठाउँ दिने शर्तमा त्यहाँ सिक्ने मौका मिल्यो | ******* एकरात सपनामा रुँदैरुँदै काँडाघारीमा हिड्दैगर्नु भएको ममीलाई देखें | आधारातमै ब्युझिएँ, कस्तो नरमाइलो लाग्यो | यत्रो दिनसम्म के के बित्यो होला कति रुनुभयो होला जस्तो लाग्यो | अनि बहिनीलाई पनि सम्झें उसलाई झुठ बोलेर आएकोमा पछुतो लाग्यो | सम्झिन त सधैं सम्झिन्थे ममी र बहिनीलाई तर आज मन आत्तियो | जुरुक्क उठें घर गैहालूं जस्तो लाग्यो | यो अढाईबर्षमा मैले केहि खबर पनि पठाएको थिईन | एकबर्षदेखि मलाइ तलब पनि दिन थालेको थियो | तलब पाउने बेला पनि भैसकेको थियो तर किन किन यसपाली तलबको माया लागेन | मैले तलब केही खर्च नगरी राखेको थिएँ पैसा भएको झोला बोकें र बाहिर निस्किएँ | निस्पट्ट अध्यारो थियो | परपर कुकुर भुकेको सुनिन्थ्यो | मलाई यो मध्यरात हो भन्ने पनि याद भएन | बेस्मारी जाडो थियो, हिडेको हिड्यै चोकमा निस्किएँ र घडी हेरें तिन बजेको रहेछ | काठमाडौं जाने “डे” गाडी भेटिने सम्भावना थियो | डे बस चढेर पथलैयासम्म पुगें, काठमाडौंबाट आउने नाईट बस भेट्ने आशा थिएन | तर मेरो सुभदिन जाममा फँसेको गाडी भेटें, कतिखेर निदाएँ कुन्नि ब्युझिदा म इटहरीमा थिएँ | बेग्लै खुसि थियो मनमा, हतार पनि उत्तिकै लागेको थियो | घरमा पुग्दा मध्येदिन भएको थियो र ममिमात्रै हुनुहुन्थ्यो | शुरुमा गालि गर्नुभयो अनि रुनुभयो मलाइ छेउमा राखेर सुम्सुम्याउनु भयो | म पनि ममी संगै रोएँ | म फेल हुन्छु र भाइसँग पढ्नुपर्छ अनि फेरी बुबाले कराउनुहुन्छ भनेर ममीले बुझ्नुभएको रहेछ | बुबाले मैले सोचेजति गालि गर्नुभएन, धेरै गल्नुभएछ | दाजुले बरु हप्कायो र फेरी पढ भन्यो | मैले बुबालाई ग्यारेजको सबै काम सिकेको छु एउटा ग्यारेज खोलौं भनेर बिन्ति गरें तर बुबाले मलाइ बिश्वास गर्नुभएन | भन्नुभयो, नजानेको काममा हात नहालेकै राम्रो | मलाइ बेकार बस्न पनि मन लागेन र फर्केर जान पनि | कान्छाकाकाको ट्याक्टर थियो, काकालाई भनेर त्यहि चलाउन थालें | बुबा र काकाको राम्रै सम्बन्ध थियो, मन खुसि नभएपनि बुबाले मलाई केहि भन्न सक्नुभएन | घरको खाएर, घरमै बसेर पनि मैले राम्रै पैसा कमाउन थालें, बिचबिचमा लेवरको काम पनि गर्दा अनि बाटोमा कसैका सानातिना सामान ओसारिदिदा पनि पैसै आउंथ्यो र त्यो साहुजीलाई बुझाउनु पर्दैनथियो | यतिकै एकबर्ष बित्यो बहिनीले पनि प्लस टु सकेर बिराटनगरमा स्टाफ नर्स पढ्न थालिसकेकी थिइ र दाजुभाउजुसँग बिराटनगरमै बस्थि | दिदी पनि बिहे गरेर तरहरा पुगिसकेकी थिई | एकाएक मेरो बिहेको कुरो चल्यो | छिमेकी गाउँबाट हाम्रो नजिकैको स्कुलमा पढ्न आउने बिनितासंग | झट्ट हेर्दा खास राम्री नभएपनि पढाइमा जेहेन्दार थिई, छात्रवृति पाएर प्लस टु पढेकी मेरो बहिनी सँगै | पढ्ने रहर हुँदाहुँदै घरको स्थिति खास राम्रो नभएर बिहे गर्न बाध्य थिइ| उसको बिहेमा एउटा शर्त थियो बिहेपछी पढ्न पाउनुपर्ने | बुबालाई पनि छोराले नपढेपनि पढ्ने बुहारी पाउदा राहत मिलेको थियो | म केहि बोल्न सकिनँ, बहिनीले भनेपछि नाइँ भन्न मन लागेन र बिहे भयो | बिहेको केहिदिन देखिनै मलाइ काममा जान दिईन विनिताले, बुबासँग सल्लाह गरेर आफ्नै ट्याक्टर किनौं भनि | मसँग कुरा नजम्ने भएर उसैले कुरा गरि र बुबाले पनि कृषि बिकास बैंकमा अलिकति खेत राखेर ट्याक्टर लिन सहमत हुनुभयो | पढेकी, बोलाइली, फरासिली भएकोले सबैको मनमा बसेकी थिइ बिनिता | म पनि आफ्नै गाडी चलाउन पाएर मक्ख | बिनिता अब पहिलाको जस्तो रहिन, ममीसँग मनमुटाव भईराख्थ्यो | साथि भएपनि बहिनीसँग पनि सम्बन्ध चिंसिदै गयो, मेरो मन दुख्ला भनेर कैलेकाही आउने बिचरा बहिनी पनि सहिदिन्थी | दिनभरी म घरमा नहुने भएर खास मलाइ थाह पनि हुदैनथियो | खाना खाएर म निदाईहाल्थे | अरुसँग जे जस्तो भएपनि बुबालाई खुब आदर गर्थी| त्यसैले बुबाले प्रसस्तै उचाल्नु भएको थियो र बुबाको आड पाएर भुइँमा न भाँडामा भएकी थिइ | दिनभरिको गाडीको थर्काई अनि धपेडीले बिस्तारै मलाई गलाउदै लग्यो बिस्तारै म रक्सीको अम्मली बन्दै जान थालें | हुँदाहुँदा नखाइकन भोलिपल्ट उठ्न नसक्ने हुनथालें | चिसांग खोलाको बालुवा र माथि केराबारी छेउ पुगेर ढुंगा ल्याउनु पनि उत्तिकै गाह्रो काम थियो, फेरी ट्याक्टरको सिट……. | विनिताले स्नातक राम्रैसंग सिध्याई यतिबेला सम्म हाम्रो एउटा छोरी र अर्को बच्चा पेटमा थियो | धनकुटामा एम एडको लागि भर्ना भएर घरै बसेर ऊ पढ्न लागेकी थिइ | छोरो जन्मेर एकबर्षको भएपछी गाउँकै स्कुलमा बुबाले भनसुन गरेर राहतमा पढाउन पनि थालेकी थिइ | उसलाई जागिर दिलाएबापत संचालक समितिको अध्यक्षको खेतमा आफ्नै डिजल हालेर पचास घण्टा लेवलिंग गरिदिनु पर्यो मैले | तर मेरी विनिता दिनदिनै फेरिदै जान थालि, महिला अधिकार, बचत समूह, बुहारी समाज र अरु के के संस्थाको प्रतिनिधि हुँदै तालिम र गोष्ठीमा दगुर्न थालि | ममीलाई नातिनातिना स्याहार्न हम्मेहम्मे पर्न थालेको मैले महसुस गरेको थिएँ | एकदुई पल्ट बिनितालाई सम्झाउन पनि खोजें तर सामिजिक उत्तरदायित्व, महिला अधिकार र के के भन्दै अब चुल्होचौको गरेर बस्न नसक्ने बताउन थालेकी थिइ | एकाएक शाकाहारी भई, आध्यात्मिक र धार्मिक दर्शनका कुरा गरेर मलाई पनि माछामासु नखाने सल्लाह दिनथाली | उसका थाल बटुका छुट्टिए | हाम्रो बिछ्यौना अलग्गिए | मैले कमाएर ल्याएको राखनधरण सबै उसैले गर्थी | एकदिन दाजु आयो र अंशबण्डाको कुरा निकाल्यो | बुबाले सजिलै तँ तेरो भाग लिएर जा अब कान्छो पनि आउँदैन होला हामि माइलो र विनितासँग बस्छौं भन्नुभयो | तर विनिताले कुरा भुईमा झर्न नपाउदै म कसैलाई पाल्न सक्दिनँ भनि | मैले कत्ति सम्झाउन खोजें तर मेरो केहि सुनिन | बुबाले पनि फकाउनु भयो तर ऊ डेग चलिन | आखिरमा मैले त्यत्रो मिहेनत गरेको सबै पानीमा गयो | ट्याक्टर किनेको भन्दा बढी दाम घाटामा गयो | मैले यो चारबर्षमा धेरै काम गरेको थिएँ, हिसाब सबै उसैले राखेकी थिइ तर हिसाबले नोक्सान देखायो | घरमा चलाउँदै गरेका भाँडाकुँडा भाउजु र विनिताले होडबाजी गरेर छाने | मैले जिन्दगीमा धेरै दुखहरु भुक्तान गरेको छु तर त्यो अंशबण्डाको दृश्यजति नराम्रो मलाइ केहि लागेन | हामि बच्चैदेखि त्यहि घरमा काम गर्ने पसिना बगाउनेलाई केहि वास्ता हुँदैन तर चारदिन अघि आउनेले कस्तरी घरका सामान छानीछानी लैजान्छन | छोरीलाई अन्माएर लोग्नेको घर पठाउदा डाको छोडेर रोएको देखेको थिएँ तर बुबाममीसँग छुट्टेको दिन मलाइ पनि कहालिदै रुन मन लाग्यो | छोराहरुलाई घरखेत, धान चामल र भाँडाकुँडा भाग लगाएर दिने बुबाममिको साँझमा खाना पकाउने भाँडासमेत रहेन | ममीले दुईजनाको लागि दशजनालाई पुग्ने ठुलो भाँडामा भात पकाएको देखेर मेरो मन अमिलियो | छोरामान्छेको लागि त्यो जस्तो दुखद समय अरु शायदै हुन्छ होला | ऋण तिर्नलाई मेरो मुटुको टुक्रा ट्याक्टर पनि बेचिने भयो | त्यो दिन त म नराम्ररी लुटिएँ | तोकिएको दाम तिर्ने क्षमता मसँग थिएन | केहिदिन बुबाघरमै बसेर हामीले घर बनायौ| मन नमिलेपनि लोग्ने स्वास्नी अलग्गिन हत्तपत्त नसकिने रहेछन| नबोले पनि बोल्नैपर्ने, बोलाउनै पर्ने| सम्बन्ध गाँस्नुअघि सोचेपनि नसोचेपनि तोड्नुअघि हजारपल्ट सोच्नुपर्ने रहेछ| ऋण तिर्नलाई अलिकति सगोलको जग्गा बेचेका थियौं र बाँचेको पैसा सबैलाई भाग लगाईएको थियो | त्यहि पैसाले घर बनायौं, नपुगेको पैसा विनिताले माइतबाट ल्याई | घर तैयार भएपछी दिदीले, ममीले दिएको भन्दै धेरै सामान ल्याई विनिताले | पछी थाह भयो सगोलको पैसा लुकाएर कतै घडेरी पनि जोडेकी रैछे | विनितासँग मेरो सम्बन्ध बिग्रियो, उसले बिस्तारै मलाइ घरमा पस्न पनि नदिउँला झैं गर्नथाली | माछामासु, जाँडरक्सि खानेलाई घरमा पस्न नदिने भन्थी | छोराछोरीलाइ उही प्यारी थिई, मसँग केहि हुँदैनथियो सबै किनिदिने उही | अफिसको काम भन्दै दुईतिन दिनसम्म हराउन थालि | स्याहार्न भ्याईएन भनेर छोराछोरी पनि माइतमा पुर्याई | पहिले सगोलमा हुँदा बुबाको आड पाएर मलाइ गन्नै छाडेकी थिइ | मलाइ विदेश पठाउन धेरै कोसिस गरि तर मैले फेरी काकाकै ट्याक्टर चलाउन थालें | ऊ स्कुलकी मिस भएर सबैले उसकै कुरा सुन्न थालेका थिए | म पहिलेदेखि नै बोल्न नसक्ने, चित्त दुख्दा एकान्तमा एक्लै रुन्थें | एकदिन खोइ के को सम्मेलनमा गएकी तिन दिनपछि आइ | मलाइ अलिक चित्त दुखेको थियो | आएपछि मैले उसलाई हप्कीदप्की गर्न खोजें, लोग्ने हुनको हक र दम्भ देखाएँ | उल्टो अबदेखि घरमा नपस्नु, मैले माइतीको पैसा ल्याएर बनाएको घर हो यो कसैको हली र जड्याहालाइ बस्न बनाइदिएको होईन भनि | ममीले पनि नजिकैको घरबाट सुन्नुभएछ र ममी पनि आउनुभयो र सम्झाउन लाग्नु भयो र रोईकराई गरेर गुहार मागी | छेउछाउका छिमेकि आए र भोलि भेला बस्ने भनेर गए | भोलिपल्ट भेलामा आमा समूह र महिलावादीहरुले उसको धर्मकर्ममा खलल पुर्याएको, बुहारीलाई कजाउन खोजेको आरोप लगायो ममी र मलाइ | यो घरमा बस्ने भए जाँडरक्सि नखानुपर्ने फैसला गरे | त्यहादेखी म ममीसँगै मुलघरमा बस्न थालें | अंशमा पाएको थोरै जमिन बाहेक केहि थिएन मेरो | कहिलेकाही छोराछोरी भेट्न जान्थें | छोराछोरी बाबासँग जाने भन्दै रुने कराउने गर्दा छाति चरक्कै चिरिन्थ्यो| म बिबस र लाचार बनेर फर्किन्थें| ल्याएपनि म काममा जानुपर्ने र उ पनि स्कुलमा पढाउन जाने| कुनै उपाय थिएन| एकदिन बिहानै ढुंगा ओसार्न चुरे गएको थिएँ फिर्न अलिक ढिलो भयो र गाडी घरमै राखेर भोलिमात्रै लैजाने बिचार गरेर घरमै पसें | मुलघरको आँगनबाट मेरो घर मजैले देखिन्थ्यो, मैले गाडी आँगनमा ल्याउदा ल्याउदै मेरो आँगनबाट दुईटा बाइक निस्किए | अझै मान्छे बोल्दै गरेको सुनिन्थ्यो | के रहेछ? को रहेछ? भनेर चाबी थुतेर सिधै मेरो घरतिर सोझिएँ | मुलघरको आँगन काट्दाकाट्दै अर्को पनि बाईक रोडमा उक्लियो र दक्षिण बतासियो | बाहिर बिनिता उभिएकी थिइ, मलाई रोक्नलाई हातमा समातेर तान्दै थिई म नरोकीई सरासर भित्र टिभी कोठामा पसें | त्यहाको बातावरण देखेर मेरो जिउमा काँडा उम्रिए, मैले सबै अन्धकार देखें | सयओटा फुस्रे कमिलाले टोकेजस्तो भयो | निधारको दायाबाया चल्निमा कराहीमा दूध उम्लेजस्तो भुलुकभुलुक भयो| त्यहाँ खसीको सेकुवा, कुखुराको साप्रा र वियरको बोतल छरपष्ट थिए | मेरो शरीर काँप्यो, आवेशमा सोधें के हो यो ? उसले नडराई जवाफ दिई, “शिक्षक सेवा आयोग पास भएर यहि स्कुलमा स्थायी भएँ अनि सरहरुलाई पार्टी …… |” मैले सबै सुन्नै सकिन, आजसम्म जानेर झिङ्गो पनि नमारेको मलाइ आज आफ्नै स्वास्नी मार्न मन लाग्यो | विनिताको चुल्ठो समातें र भित्तामा झुण्ड्याएको पेटी झिकें अनि बर्साउन थालें | ममीले थाह पाएर आउनुभयो मलाइ छुट्याउनु भयो तैपनि बीचबिचमा ममीको पकड खुस्काउदै लात्ताले भकुरें | ******* महिलावादीहरुको दबावमा असईले पक्राउ गरि जिल्लामा ल्याएको छ र अहिले खोरमा थुनिराखेको छ | म माथिको घरेलु हिंसाको आरोप लागेको छ| तीनै महिला अधिकारवादीको करबलले मलाइ अदालत लगिने भएको छ| तर मलाइ कत्तिपनि बिस्मात छैन मेरो कर्मप्रति कानुन अनुसारको सजायँ स्वीकार छ |

--राजीब श्रेष्ठ--

 

 

 

https://www.facebook.com/esewamarketing

https://www.facebook.com/AdvertNepal-666433730073770/

www.tourmynepal.com | Travel Nepal, Tourism Nepal, Tour Package Nepal, Honeymoon Package Nepal 

www.hamrobus.com | Bus Booking Nepal, Kathmandu to Pokhara Bus Service, Kathmandu to Chitwan Bus Service, Kathmandu to  Lumbini Bus Service.

 

 

     

If You want Advertiese Here mail us at  info@advertnepal.com

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image