तैपनि, सरदरमा उनले मजै मानेर उपन्यास लेखिभ्याइन्। मजा यस कारण लाग्थ्यो, उनी लेखिरहँदा नयाँनयाँ कुरा सिक्न पाउँथिन्। उनले खोजेकै त्यही थियो। लेखक बनेर पाएको पनि सिकाई नै होजस्तो लाग्छ उनलाई। ‘अलि बुझेँजस्तो लाग्छ,’ उनले भनिन्।
यसअघिका दुई उपन्यास लेख्न पनि उनले अनुसन्धान नै गरेकी थिइन्। उनलाई देखेभोगेका कुराभन्दा अनुसन्धानबाटै उपन्यास लेख्न मन लाग्छ। नजिकबाट भोगेका विषयलाई भने उनी कथामा ढाल्छिन्।
काठमाडौंमा जन्मेहुर्केकी र धेरै समय विदेश बस्ने थापाले गाउँगाउँ पुगेर अनुसन्धान गर्दा सबैभन्दा अनौठो के फेला पारिन् त?
उनी अमेरिकाबाट फर्किँदा देशको राजनीति उथलपुथलपूर्ण थियो। उथलपुथलले समाज प्रभावित हुने भइहाल्यो। त्यस बेलादेखि अहिलेसम्म अस्थिर राजनीति र जनताबीचको सम्बन्धको विषय उनलाई अनौठो लाग्दो रहेछ। भन्छिन्, ‘राज्य अस्थिर हुँदा पनि मानिसले आफ्नो सपनालाई सुरक्षित राखेर कसरी बाँचिरहेका छन् भन्ने कुराले अचम्म लाग्छ।’
यसबाहेक, लेख्न थालेदेखि अहिलेसम्मको अवस्था हेर्दा देशका महिलाको स्तरमा आएको ठूलो परिवर्तन पनि उनलाई अनौठो लाग्छ।
उपन्यासका लागि विदेशमा त्यति अनुसन्धान गरेकी छैनन् उनले। गर्नुपर्दा पनि त्यति सहज नहुने उनको अनुभव छ। नेपाल भने अनुसन्धानका लागि सहज ठाउँ भएको उनको निश्कर्ष छ। विदेशमा आफूले चाहेका मानिस सजिलो गरी नभेटिने, तर नेपालमा भेट्न र कुरा गर्न सहज हुने उनले बताइन्। उपन्यासका लागि कुरा गर्छु भन्दा मानिसलाई सुरुमा बुझाउन अलि अप्ठ्यारो हुने उनको भोगाइ छ।
अनुसन्धानका लागि महिला भएकै कारण कुनै अप्ठ्यारो अहिलेसम्म भोग्नु नपरेको उनी बताउँछिन्। ‘नेपालका आम महिलाले जस्तो जीवन बाँच्नुपरेन मैले,’ उनले भनिन्, ‘पुरुषजत्तिको मोबिलिटी छ मेरो पनि।’
उनलाई आफ्नै कुरा उपन्यासमा लेख्नु रुचिकर लाग्दो रहेनछ। जहाँ बसे पनि लेखनमा नेपाली समाज छुनैपर्छ भन्ने मान्यता राख्ने थापालाई आफ्नै भोगाइका विषय लेख भन्नेहरू धेरै रहेछन्। राजनीतिक परिवारमा हुर्केकाले सत्तासँग सानैदेखि परिचित थिइन् उनी। भन्छिन्, ‘तैपनि, उपन्यासका लागि मेरो जिन्दगी त्यति इन्ट्रेस्टिङ लाग्दैन।’
विषयको सोर्स के त?
‘समाचारहरू पनि हुन्छन्। बढी त सामाजिक सम्बन्ध नै हुन्,’ उनले भनिन्।
दिमागमा ‘आइडिया’ आउनेबित्तिकै लेख्न बसिहाल्दिनन् थापा। उनलाई पहिल्यै डर लाग्छ, लेख्दालेख्दै यात्रा नै मोडियो भने? पात्रहरू हराए भने? त्यसैले उनी दिमागमा पूरै उपन्यासको बनोट तयार गर्नतिर लाग्छिन्। खोज्दाखोज्दै कहिलेकाहीँ उपन्यासको थिम नै प्रभाव पारिदिने कुरा पनि भेटिँदा रहेछन्।
पछिल्लो उपन्यास लेखिरहँदा यस्तै भएछ। उनको सोचमा सुरुमा एक महिला पात्रलाई भ्रष्टाचारी चरित्र बनाउने भन्ने थियो। खोज्दै जाँदा महिला पात्रलाई भ्रष्टाचारी बनाउनै नमिल्ने भयो। उनले फेला पारिन्, ‘नेपालमा त महिलालाई भ्रष्टाचारी हुन पनि गाह्रो रहेछ!’
थिम नै अदलबदल हुन सक्ने भएर उनी अनुसन्धानबाट उपन्यासको मोटामाटी खाका तयार पार्छिन्। पात्रको पृष्ठभूमिदेखि भविष्यका घटनासम्म, उपन्यासको सुरु, मध्य र अन्त्यसम्मका कुरा जोरजाम पारेपछि मात्र उनी लेख्न बस्छिन्। दिमागमा खाका पूरै तयार भएपछि लेख्न बस्दा पनि कहिलेकाहीँ फेरि नयाँ अनुसन्धान गर्नुपरेको अनुभव छ उनको।
रिसर्च गर्दाको अनुभूति भने बेग्लै रमाइलो हुने उनको भनाइ छ। दिमागमा पात्र लिएर रिसर्चमा हिँड्दा उनलाई आफू हिँडिरहेको होइन, उपन्यासको पात्र हिँडिरिहेजस्तो लाग्दो रहेछ।
‘फस्ट ड्राफ्ट’ लेख्न बस्दा उनको खटाई अलि बढ्तै हुने गर्छ। आफूलाई कडा अनुशासनमा राख्छिन्। कहिले ‘दिनमा मैले यति शब्दचाहिँ लेख्नैपर्छ’ शैलीमा त कहिले अफिसमा काम गर्न गएजस्तो समय नै छुट्याउँछिन्। जस्तो, पछिल्लो उपन्यास लेखिरहँदा प्रायः बिहान आठ बजेदेखि तीन बजेसम्मको समयमा दिनमा दुई हजार शब्द भ्याउनैपर्ने उनको स्व–नियम थियो।
लेखिरहँदा फोन उठाउँदिनन्। इन्टरनेट चलाउँदिनन्। इन्टरनेटको डिस्टर्बबाट बच्नकै लागि ल्यापटपमा ‘फ्रिडम’ भन्ने एप्स राखेकी छन्। यसले सीमित समयका लागि इन्टरनेट निष्क्रिय पारिदिन्छ। लेखिरहँदा उनलाई बेला बेला चिया खाइरहनुपर्नेबाहेक अन्त ध्यान दिँदिनन्। यस्तोबेला भुलक्कड भइने, बाहिरी संसारको मतलब नहुने उनको अनुभूति छ।
लेखिरहँदा शरीर र दिमागलाई उत्तिकै स्वास्थ्य राख्नुपर्छ भन्ने उनको मान्यता रहन्छ। त्यसैले, सक्रिय लेखनको समयमा ध्यान तथा योगमा विशेष ध्यान दिन्छिन्। स्विमिङ जान्छिन्, डुल्छिन् र क्यानडा बस्दा कहिलेकाहीँ कायाकिङ गर्छिन्।
लेख्नका लागि उनलाई प्रिय ठाउँ नेपाल नै लाग्छ। कथामा जुन देशको पात्रको कथा भए पनि कतै न कतै नेपालसँग उसको सम्बन्ध देखाउनैपर्छ उनलाई। कथाअनुसारको वातावरण नेपालमै मात्र भेटिने उनको अनुभूति छ।
लेखिरहँदा उनलाई उनलाई सबैभन्दा ठूलो अत्यास एक्लोपनले दिँदो रहेछ। समय नै छुट्टयाएर एकलकाँटे भएर लेखिरहँदा ‘मेरो जीवन यत्तिकै बित्छ कि के हो’ जस्तो बारम्बार भइरहँदो रहेछ। ‘गैर–आख्यान’ लेख्दा भने यस्तो अत्यास हुँदैन,’ उनले भनिन्।
लेख्दा खर्रर लेख्न नसकिने उनले बताइन्। ‘फस्ट ड्राफ्ट लेखिरहँदा केही मतलब नगरी ‘इडिटिङ ब्रेन’ अफ गरेर लेख्नु भनिन्छ,’ उनले भनिन्, ‘तर म सक्दिन। ‘इडिटिङ ब्रेन’ अफ गर्ने उपाय भेटेको छैन। दिमाग साह्रै छुच्चो छ।’
फस्ट ड्राफ्ट लेखुन्जेल उनलाई पेन्टिङ ग्यालरी धाइरहनुपर्छ। भ्याइसकेपछि पनि सेलिब्रेट गर्ने ठाउँ ग्यालरी नै हुन्छ। पेन्टिङ हेरिसकेपछि दिमाग ताजा हुने उनको अनुभव छ। लेखुन्जेल अरू लेखकका किताब पनि पढिरहन्छिन्। प्रभावित भइएला भन्ने डर उनलाई छैन।
मञ्जुश्री अनुवादक पनि हुन्। अनुवादको काम गर्न उनलाई रमाइलो लाग्छ। नेपालका थुप्रै राम्रा कृति अनुवाद गरेर अन्तर्राष्ट्रिय बजारसम्म लैजानुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
‘अनुवाद गर्दा कहिलेकाहीँ ठ्याक्कै उतार्न सकिन्न,’ उनी भन्छिन्, ‘कतै न कतै सम्झौता गर्नैपर्छ।’
अनुवाद मात्र किन, जिन्दगी बिताउँदा पनि त यस्तै समस्या आउँछ। ‘कन्फ्युजन’ हुन्छ। जीवन भोगाइका जटिलताभित्र गुजुल्टिनुपर्छ। समाधान टाढाटाढासम्म देखापर्दैन।
हो, यही परिस्थितिसँग जुध्न मञ्जुश्री लेख्छिन्।
उनको लेखनको अभिप्राय नै यही हो, संसार बुझ्ने।