ऊ अध्ययन गर्न भनेर बोइङ्ग चढेर विदेश लाग्यो ।
विदेश लागेको तेस्रो वर्ष छुट्टी रे भनेर उ सुट-बुटमा सजिएर घर आयो।
त्यसपछि उसको पढाइको साथै काम-धाम पनि उतै चल्ने रे भन्ने हल्ला आयो ।
पढाइ सक्केको ३ वर्षपछि बिहे गर्न भनेर फेरि आयो ।
करिब १० वर्षपछि बाबुको मृत्युको खबर पुगेपछि आयो ।
अर्को पन्ध्र वर्षमा आमाको अन्तिम अनुहार हेर्न आयो ।
सुनिन्थ्यो त्यसपछि उसलाई स्वदेशमै फर्कने रहर आयो ।
अर्को दशक बित्यो, तर ‘उता बस्नै मन छैन रे’ भन्ने मात्र खबर आयो ।
कहिले केटाकेटीको पढाइले अल्झेको त, कहिले सपरिवार नै फिर्ने खबर आयो ।
नेपालमै बस्छु, नेपालमै मर्छु भन्छ भन्ने इच्छा उसमा उग्र आयो ।
समय बित्तै गयो, तर ऊ हैन्, उ आउने खबर मात्रै आयो ।
धेरै वर्ष फेरि बित्दा एउटा वैराग्यको खबर आयो ।
सुनियो कि काठको बाकस भित्र हालिएको उसको लास नेपाल आयो ।