“आमा! मिठाई धेरै नखानु न! हजुरलाई सुगर छ!” “आ! नानी! भोलि नीर्जला-व्रत बस्नु छ! बरू तिमी पनि केही खाऊ न !” “आमा, यसपाली मलाई कर नगर्नु है? म व्रत बस्दिन!” “हैन, के भन्छे यो ?” – पूजाकोठाबाट हतासिंदै हरिराम पण्डित छोरीलाई हपार्न आइपुग्छन् | “यसपाली त व्रत बस्दै बस्दिन भन्छे! पहिला-पहिला पनि बल्ल-बल्ल मनाउनु पर्थ्यो|” – आमाले गुनासो गर्नु भयो| “मेरो जीउले नै दिँदैदिन्न! व्रत बस्नु स्वास्थकोलागि राम्रो त हो बुवा! तर म बिरामी पर्छु; अनि परीक्षा पनि दिन नै सक्दिन|” “त्यसो भनेर हुन्छ र? थाहा छैन तीजको-व्रतको महिमा? राम्रो लोग्ने पाउन र श्रीमानको आयू बढाउन?” – रातोपिरो हुँदै बुवाले हपार्नुभयो| “जन्मसंगै मृत्यु पनि लिएर आएको हुन्छ भन्छ नि शास्त्रले त बुवा!” “हेर हेर! जान्ने भएकी? समाजले के भन्छ?” “समाजले महिला-पुरुषलाई बराबर हेरिदिएको भए त हुने नि बाबा! समाजले जहिले नि महिलालाई मात्र दोषी त देख्छन्! कोहीसंग बोल्न-हाँस्न हुन्न; बेस्याको संज्ञा! आफ्नै कालगति वा अत्यधिक मदिरा-धूमपान सेवन गरेर तथा कूसंगतले रोगहरू निम्ताएर मरे भने पनि, बिचरा श्रीमतीलाई लोग्ने-टोक्नेको उपनाम! पुरुष त जहिले मर्द!” “ल हेर जान्ने भएकी! चोथाले!” “नरिसाउनु न बुवा! चलिआएको परम्परा सही ढंगले मनाउन जाने, यसको महिमा पनि बढ्छ! बाध्यताले हैन! महिला जती शहनशील हजुरहरू पनि भइदिएको भए संसार कति स्वर्ग हुने थियो!" “के भन्छे यो?” “स्वास्नी मरेकी तेह्र-दिन पुग्दा नपुग्दै केटामान्छे अर्को श्रीमती भित्र्याउन हतार गरिरहेका हुन्छन्! तर के हामी आइमाईजाती कहिले त्यसो गर्न उत्सुक हुन्छौं?” “परापूर्वकालदेखि चलिआएको रीतिरिवाज हो यो त!” “तर सही हैन बुबा यो! हजुर, आमालाई कति माया गर्नु हुन्छ? “थाहा छैन तँलाई कति गर्छु भन्ने?” “आमालाई सुगरलागायत अन्य थुप्रै रोगहरू छन्! आमा केही भइहाल्यो भने हजुर के गर्नुहुन्छ?” “कस्ती अलच्छिनी! शुभ-शुभ त बोल्नुपर्छ! तेरी आमा नरहे त, यो बुढेसकाल कसरी बिताउने म कल्पना नै गर्नसक्दिन! “त्यसो भए बुवा! हजुरको मनबाट नै, व्रतले आयू बढ्छ भन्ने विस्वास छ भने, आमाकोलागि यसपाली तीजको-व्रत हजुर पनि बस्नु न है