• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

तपाईंले बिर्सिएको

तपाईंले मलाई सुटुक्क चोर्नु भयो र आफैँ हराउनुभयो |कति लामो समयसम्म ? तपाईं कहिले आउनुहुन्छ भन्ने पनि मलाई खबर छैन | म कति आत्तिएको छु भने मकैझैं काठमांडू - हाँडीभित्र भुटभुटिएको भुटभुटियै भए , तपाईंले मलाई किन यतिसारो आगो लगाउनु भयो ? तपाईंबिनाको काठमांडू एउटा हाँडी भन्दा फरक लागेन मलाई | म त्यसभित्र कोच्चिएँ र तपाईं आगो झोसेर भाग्नुभयो | म यसरि कति समय पोलिन सक्थेँ ? तपाईं मलाई बुझ्न सक्नुहुन्छ भने ठान्नुहोस म आगो झोसिएको हाँडीभित्र छटपटाउने मकैका गेडाभन्दा फरक भइन | तपाईले किन त्यसो गर्नुभयो ? त्यसो गर्नै थियो भने मलाई किन चोर्नुभयो, किन चिमोट्नु भयो ? किन सपना देख्न्न प्रेरित गर्नुभयो ? तपाईंले एउटा बालकलाई घाममा राख्नुभयो अनि हराउनुभयो , त्यो बिचरा बढ्दो तापक्रम कसरि बिचरा झेलीरहेको होला भन्ने किन सोच्नुभएन ? तपाईं किन अर्काको भावना कदर गर्नुहुन्न ? के मलाई दुइ शब्द लेखेको भए हुन्थेन , तपाईं कहिले कसरि जानुभयो ? मलाई किन अत्त्याउनुभयो ? आखिर तपाईं हुनुहुन्छ नै को, जो अर्कालाई थप्पड हानेर हराउछ ? असलमा तपाईं मेरो त्यहि प्रिय हो भन्ने शंका लाग्न थालेको छ | मैले एकोहोरो प्रेम गरेको ब्यक्ती तपाईं आफै हो भन्नेमा मलाई अर्कै विचार हुन थालेको छ | तपाईंले त्यस्तो नलेखेको भए म यसरि तड्पीने पनि थिइन | म सफा मनले तपाईंसंग प्रस्ट हुँदै थिएँ तर तपाईं आफैँ मलाई कोतरेर हिड्नुभएको छ | यो तपाईंको छल हो र सरासर बदमासी | त्यसो गर्नै थियो भने किन त्यस्तो लेख्न्नु भयो र प्रेमको आस देखाऊनु भयो ? प्रेम भन्ने शब्द नै किन उद्दरण गर्नु भयो जब त्यसमा तपाईं सच्चा हुन सक्नुहुन्न भने ? तपाईंको मनमा अर्कै खेल थियो भने किन त्यसरी मलाई भडकाउनु भयो ? किन मलाई मायाको प्रस्तव गर्न वाध्य बनाउनु भयो । मलाई यसमै उदेक लागेको छ | मैले आफुलाई फरक रुपमा पाउन थालेको छु | र म क्रमश : उदास भइरहेको छु |म आकांक्षाहरुले भरिएको एउटा साधारण ब्यक्ती हुँ | जीवनमा केहि गर्न र केहि बन्न चाहन्छु | बस , म खाली कागज बनेर उडिरहेको थिएँ तपाईंले नै च्याप्प समात्नुभयो र त्यसमा रंग भर्नुभयो | तपाईंले रंगिन प्वाँख टाँसिदिनुभयो | म उड्न लागें | म उडिरहेकी थिएँ | मैले आफुलाई तपाईंको प्रेरणाले उडाउन लागेको थिएँ | तर तपाईंको शब्दले मलाई साक्षात नै उडाउन थाल्नु भयो | नदीकिनार को पात उडाउन हुरी आए झैँ तपाईं आउनुभयो र म उडेर पारि पुगें | पातको नियति भोग्नु पर्यो मैले | त्यसैले म आफु जमिनमा अडिन भाग्न खोज्दै थिएँ | तपाईंबाट टाढा उभिन ताकी म पातबाट एउटा बिरुवाको स्वरूप लिन सकूँ | म तपाईंसंग छुट्टीन चाहन्थे तर तपाईंले मलाई माया को प्रस्तव गर्न वाध्य बनाउनु भयो र फेरी मलाई उडाउन थाल्नु भयो | मैले तपाईंलाई निकट देख्न्नुपर्यो , तपाईंले मलाई सान्त्वना दिनुभयो | तपाईंको हरेक शब्दले मलाई एउटा प्रेमीले झैं व्यवहार गर्नुभयो | के तपाईंले कहिल्यै सोच्नुभयो मैले तपाईं प्रति कस्तो भावना राखेको छु ? तपाईंले लेखेको हरेक शब्द पढ्दा म रन्थनिएँ | अक्षर पढ्दै छु , आफू भित्रभित्रै उसिनिन्छु | भन्न मन लाग्छ केहि, सुनाउन मन लाग्छ केहि | आफुलाई प्रकट गर्न मन लाग्छ , पोख्न्न मन लाग्छ छताछुल्ल घर भरि | त्यहि भावना लिएर हिड्न मन लाग्छ , टोल भरि, सहर भरि | तर म तपाईंलाइ आफ्नो नजिक पाउन सक्दिन | टाढा टाढा हुँदै तपाईं समयको दुरी बोकेर हराउनु हुन्छ | कति लामो समय भने म आफु भित्र भित्रै उसिनिएका भावना निकाल्न सक्दिन जो शूल बनिरहेका छन् | ती भित्रै बसेर मलाई डसछन् | मलाई घाइते बनाउछन् | एकै शब्द तपाईंलाइ भन्न पाए पनि, एकै शब्द तपाईंलाइ सुनाउन पाए पनि मलाई कति सन्चो हुन्थ्यो ! मलाई घाइते तुल्याएर , बिरामी पारेर तपाईं किन यसरी जानुभयो ? तपाईं यति समयलाई दृश्यबाट मेटिनु भयो म आफुलाई तपाईं एउटा भ्रम हो भनेर शान्त पर्न विवस भएँ | तपाईं किन यति सारो छल गरेर मलाई घाइते पार्नु भयो , एकपल्टले नपुगेर पटक -पटक मलाई अशान्त पार्नु भयो अनि आफुले शान्त पानीमा फालेको ढुंगाको प्रभाव हेर्न किन डराउनुभयो ? म चाहन्छु मेरो त्यो पुरानो समय फर्कियोस, तपाईंलाइ भेट्नु अघिको, जहाँ म आफैं एकनास मनको शान्ति भोगिरहेको थिएँ , जहाँ मेरो त्यति नजिक कोहि प्रवेश गरेकै थिएन | आखिर तपाईंको म आत्मीय हुनुको यो सजाय हो ? यसो सोच्छु , म तपाईंप्रती यतिसरो नजिक नै भएँ किन ? कति नजिक भने तपाईंलाइ देख्न्ने बित्तिकै म जीवन प्रति नयाँ दृष्टिकोण पाउँछु | अनि तपाईं उपस्थित हुँदैमा म किन त्यतिसारो अनौपचारिक हुन थाल्छु जहाँ तपाईं भर्खर परिचित व्यक्ति हो भन्ने भेद मेटिन्छ | म चाहन्छु , तपाईंलाइ भेट्नुअघिको समय फर्कियोस किनभने म यो मनोदशामा साच्चिकै बिकसित भैरहेछु | म कति तनाव रहित थिएँ ! एउटा सफा कागज थिएँ | मसिको दाग लाग्नुअघिको कागज थिएँ म जहाँ आफुले चाहे अनुसारको चित्र बनाउन सक्थें | तर तपाईं यसरि आउनुभयो मलाई होस् भएन | बेहोसिमै म पोतिएँ, लतपतिऍ | अब त्यो सफा कागज रहेन | मेरो बिहान कसैले चोरिसकेको छ र ऊ भागेको छ | म संग बिहानरहित दिन हरु मात्र छन् | मैले कहिल्यै आफुलाई यति तड्पाउनु परेन | म प्रेमबाट असफल ब्यक्ती हूँ | तिनमा प्रेमभन्दा बढी भोग थियो | मलाई कुनै पछुतो छैन | ती भोगाइ हुन् जसको सम्झना मात्र छ | त्यस्तो सम्झना भाव मा लुकेको हुदैन | कहिलेकाहीं बिगत फर्कदा सम्झिए हुने स्तरका सम्बन्ध मात्र थिए ती | म धन्य थिएँ र ममा आत्मबल पनि उत्तिकै थियो मलाई अबरोध दिन तपाईं पैदा हुनुभयो ! अवरोध कस्तो दिनुभयो भने म त्यो हटाउन असमर्थ भएँ | त्यो चाहेर पनि हुने हैन | मैले चाहना गरेको होइन तर मेरो चाह कसैले फुत्कायो र कति पर लग्यो भने अहिले यो घाममा कपडा बिहिन शिशु झैं आत्थुआत्थु भैरहेको छु | किन तपाईं त्यसरी झोलुङ्गेको बच्चालाइ घाममा राखेर जानु भयो ? र जानु नै भयो तपाईं कहाँ जानुभयो ? तपाईं राम्रो ब्यक्ती हुनुहुन्छ | तपाईंको म एउटै मन पराउने ब्यक्ती होइन | तपाईंका अनगिन्ति साथीहरु छन् | प्रिय धेरै होलान | अहिले म ठान्छु, तपाईं त्यो हुनुहुन्न जुन मैले सोचेको थिएँ | तपाईं धेरैका प्रिय हुनुहुन्छ र तपाईंका प्रिय पनि धेरै | तपाईं म भन्दा धेरै फरक हुनुहुन्छ र टाढा पनि | म तपाईंकहाँ पुग्न सक्दिन | म तपाईंकसम्म पुग्न सक्दिन भने एक्लै पाकेर , गलेर त म सड्न मात्र सक्छु | र म सड्न चाहन्न | तपाईंकै प्रेरणा हो म फुल्न चाहन्छु | म अब आफ्नो काम सुरु गर्न चाहन्छु | तपाईं जसरि म बाट टाढिनु भयो म पनि त्यसरी नै तपाईंबाट भाग्न चाहन्छु | टाढा पुगेर मात्र आफुलाई शान्त पर्न सक्नेछु | शान्त ठाउँमा जान चाहन्छु जहाँ तपाईंको छलबाट म मुक्त हुनेछु | तपाईं भन्नुहोला म काममा हिडेको थिएँ भनेर | म पनि काममै हिंड्छु | तपाईं भन्नुहोला मलाई मौकै मिलेन | म पनि भन्नेछु मलाई मौकै जुरेन | म आब टाढा हुन चाहन्छु जसरि तपाईं एकाएक ओझेल हुनुभयो | म तपाईंको आँखाको परिवेशभन्दा बाहिर निस्कन चाहन्छु | मेरो काममा तपाईंले दिएको चोट बिर्साउने मलम हुनेछ यो | र मलाई थाहा छ , म निरास ब्यक्ती होइन | यो तपाईंलाइ पनि थाहा होस् , म बदलाको भावनाले डोरिएको छैन |

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image