सधैं ब्यस्त हुन रुचाउने मष्तिष्क- जब बिथोलिन्छन्, मन बैचन हुन्छ । यस्तो बेला प्रायः गजल सुन्न रुचाउँथें । या पुराना गितहरु । समयसँगै मान्छेका रुचिहरुमा ब्यापक परिवर्तन आउँदो रहेछ । हिजोआज-बैचन मनसँगै रातको निस्तब्धतालाई भंग गर्न, मैले या त चुरोट सल्काउन पर्ने हुन्छ कि भने, चुरोटको खिली समात्ने र्अौलाहरुलाई कि-बोर्डमा नचाउनुपर्ने हुन्छ । खास नियमबद्धतामा बाँधिएको भन्दा बेगल यो एक टुक्रा साँझ । स्व. नारायण गोपालका कालजयी गितसँगै मार्लबोरो रेडको धुँवाभित्र गहिरिंदै छ । छेवैको साइड टेबलमा ह्विस्कीको आधा पेग ग्लास यथावत छ । सुमधुर गीत वातावरणमा उस्तै गुन्जिरहेछ – केही मिठो बात गर……रात त्यसै ढल्किंदैछ भरे फेरि एकान्तमा, रुनु त छँदैछ……………… भाषा । शब्दको मर्म नबुझे पछि कस्को के लाग्छ ! रक्तवर्ण गुलाफको फूलजस्तै रक्तिम लालिमा गोरो गालाभरि सोह्रॊरेर उ सोफामा बसिरहेकी छे । कालजयी नेपाली गितको शब्द तथा मर्मले उसलाई कति पनि छुदैन । उसको गल्ति पनि होईन। दुई विपरित ध्रुव र संस्कारको भिन्नता । सिगरेटको लामो कससँगै मैले उसको अनुहार नियालें । निधार खुम्च्याउँदै खै के के गर्दै थिई । खुम्चिन्दैं गरेको त्यो धसा्रहरुभित्र म थिएँ या थिईंन अथवा थिएँ भने-कहाँ कतिसम्म र थिईँन भने-किन थिईँन त ? उसको मौनतालाई भंग गरेर सोध्न मन लागेन । अन्ना-मारिया बेलायत आएको एकवर्ष नबित्दै भेटेकी स्पेनिश युवती । लिभिङ-टु-गेदर पार्टनर । मेरो फ्ल्याटबाट भोलि सरेर अन्त्य कतै जाँदैछे। मैले सोधेको छैन-कहाँ कोसँग किनकी कानुनतः अधिकारभित्र पर्दिन उ । स्वतन्त्र आई । जाँदैछे । आपत्ति जनाईन त्यसैले । आखिर निर्णय पनि उसैले गरेकी हो । कुनैपनि कुराको सुनियोजित आरम्भ हुँदैन । नत अन्त्य नै । अन्ना-मारियासँगको भेट अनि सम्बन्ध पनि त्यस्तै हो क्यार ! केहि दिनअघिमात्रै उसले अलिकति पनि अप्ठ्यारो नमानिकन आफ्नो निर्णय जाहेर गरि- “म तिमीबाट अलग हुन चाहन्छु तथापि हामी असल मित्र रहने छौं सधैं ।” भविष्यप्रति कुनै सम्झौताहरु थिएनन् हाम्रा । अतः छुट्टिन्दैछौं भोलि-दुवै । नौलो शहरमा अभ्यस्त बन्दै थिएँ । प्रेमको निश्चित भूगोल हुँदैन । जात र जाति हुँदैन । उसको सामिप्यतालाई सजिलै स्विकारें । कारण, रिक्तता भोग्नु पनि साह्रै असहज हुँदोरहेछ । अझ लोग्ने मान्छेको जातलाई । बिना उद्ये्रश्य धेरै रातहरु खुट्टा लर्र्बर्याउँदै घर आएको छु । यो पनि लोग्नेमान्छेको स्वभाव तथा स्वभिमान अरे । त्यसो त, परस्त्रीगमनकारी वा नपुशंक पुरुष, म दुवै होईन । नत भाले हुनुको घमण्ड छ । स्वभाविक तवरले-शारीरिक तथा मानसिक दुवैं संरचना अन्र्तगत दुई परिपक्व वयस्क आपस्तमा एकाकार भएर रहनु अनौंठो घटना पनि रहेन । त्यो अर्थमा दुईवर्षका प्रेमिल साथहरु- सहमतिमा गुजार्यौं । सहमतिमा नै छुट्दैछन् पनि । सायद यस्तै होला-पश्चिमा जीवन शैली । सजिलै हाई! सजिलै बाई! एस्ट्रे भरिएछ चुरोटको ठुट्टाहरुले । जल्दै गएर अन्त्यमा फिल्टरसम्म अडिएर सम्पुर्ण जल्न नसकेको चुरोटको ठुट्टाहजस्तै-म । आफालिन्दै छु सायद यो रात । आफैंले आफुलाई घोर भत्सर्ना गरें । अन्ना-मारिया, तिमीसँगको यो रात अन्तिम रात हुनेछ । अभ्यस्त बन्ने छु । दैनिकीहरुसँग । फ्ल्याटको यो भित्ता अनि वातावरणमा बस् तिम्रो उन्मुक्त हाँसोको कमि हुनेछ । अपसोच कति पनि गरिन । किनभने अन्ना-मारिया मेरो जीवनको प्रथम युवती थिईन । जस्लाई भुल्न नसकुँ । त्यो अर्थमा के लोग्नेमान्छेको जात साँच्चै कठोर नै हुन्छ त? कथाको सिलसिला क्रमश : बकैनाका केहि लश्कर रुखहरुको सिमाना बाहेक माया र मेरो घरको दूरी धेरै टाढा थिएन । हामी छिमेकी थियौं । सँगै खेल्दै हुर्किएको हामीहरु-विशेषतः मेरी बहिनी रमाको प्रिय सखी थिई । एकसाँझ, बेपत्तासँग हुर्रिन्दै माया मेरो घर आई । त्यसो त बे-रोकटोक माया सधैं नै मेरो घर आउँछे । अघिल्लो वर्ष मेरी बहिनी रमाको विहे पश्चात् भने आवत्-जावत् अलिक कम गरेकी थिई । लामो श्वास तान्दै भनि- “बुधबार मलाई मान्छेहरु हेर्न आउने’ रे!” जिस्काई रहन्थें सधै । स्वभावतः प्याच्च भन्दिएँ-”अनुहार न दनुवारको कालीलाई कुन आँखा फुटेकोले हेर्न आउन लागेछ नि!” रिसाई । सायद, चित्त दुखाई । अनुहार विगार्दै भनि-तपाईलाईजस्तो आँखामा मोतिविन्दू लाग्या छैनन् यो संसारमा सबैलाई। “नजिकको देवी तपाईलाई पो ढुंगा बराबर ।” सानैदेखि चिढाउने गर्थे । आज पनि चिड्याउदै भने-”ऐना हेरेको छस् काली, आफैंलाई देवी रे!” झोंक्किन्दै आँखाभुईँ खुम्च्याउँदै आँसु बटुलेर-तपाईसँग त कुरा गर्न ब्यर्थै छ जिद्धि! जुरुक्क कुर्सिबाट उठि । त्यसपछि केहि भन्न नपाउँदै- फन्केर कोठाबाट फटाफट बाहिरिई । झ्यालबाट हेरें । माया जसरी अघि बेपत्तासँग हुर्रिन्दै आएकी थिई, उसैगरि बकैनाको रुखहरु छिचोल्दै बेपत्तासँगले झिसमिसे साँझमा ओझेल भई । पूर्वानुमान विल्कलै थिएन । बर्षौ पछि मायालाई पुनः भेट्ने छु । एक दशक पश्चात् अचानक प्रकट भई माया । झस्कें । सहज अवस्थामा नै थिई उ । तर, आफूलाई भने असहज महसुस गर्दै थिएँ म । कस्तो अनौंठो ! सधैं मैले उस्लाई चिढाउने गर्थें । लाग्यो-मायाले चिढाईरहेकी छे मलाई आज । किनकी माया भन्दै थिई-तपाईसित एकपटक भेट्ने मेरो धोको थियो । आज संयोगले संभव भयो । मायाले सत्य भनेकी हो-जिद्धि! नै हुँ म । उसको मंगनी हुँदैछ भन्ने त्यत्रो बयान आफैंले दिएर गई माया त्यो साँझ । तर मैले उसको आसयलाई बुझ पचाईदिएँ । दिउँसो नै बरण्डामा घाम ताप्दै आमासँग क्याप्टेनी छेमाले मायालाई केटा हेर्न आउँदैछ भन्ने समाचार सुनाउँदै हुनुहुन्थ्यो । सबै थाहा भएर नै, मैले थाहा नपाएजस्तो गर्दैथिएँ । अनुमान थियो पहिल्यै- माया अडिग रहन सक्लि र ? आउँछे त्यो पक्कै । पेटमा कुरा पच्दैन त्यसको । नभन्दै माया आई । आफ्नै मंगनीको समाचार सुनाएर गई पनि । रातभर निद्रा बेपत्ता भागिदियो । यस्तरी त निंदहरु सजिलै नाबिच्किनु पर्ने। रातहरु- अनिंदा रहे। निक्कै लामो समयसम्म। अचानक । पत्याउनै गाहो ! त्यहि मायालाई-अघिल्लो हप्ता वृहत प्रवासी (बेलायत) नेपाली भेटघाट कार्यक्रममा भेटें। सुखद संयोग मानिदिए हुन्न त्यो भेटलाई ? उस्तै रहिछे । कति पनि फरक देखिन । अप्ठ्यारो नमानि भन्दैथिई- आफूलाई सचेत युवती संझिन्छु । त्यो अर्थमा- मैले तपाईलाई मेरो मनको कुरा पोखें हुँला । कस्तो शरम लागिरहेछ अहिले पो । आफ्नो विहेको कुरा पनि आफैं भन्ने । तपाईले के संझनु भो होला भनेर पछिसम्म लाज लागिर्यो । सायद म भ्रममा थिएँ…………मलाई लाग्थ्यो तपाईले पनि मलाई……………। भैगो! वितेका कुराहरु । प्रसंग अन्त्यै मोडियो । वरिपरी मान्छेको घुइंचो। त्यसपछि, प्रतिक्रियाबिहिन गई- कुन्नि! त्यो भिडभित्र कता हराई । त्यो रात पनि मैले निक्कै असफल निदाउने प्रयास गरें । किनकी, वर्षौं मनभित्र गुम्सिएको तिक्ततालाई चिच्याएर आज, म ओकल्न चाहन्थें- भ्रम होईन माया सबै सत्य थियो । त्यो बेचैन अनिंदा रातहरु। सबै सत्य थियो । म सुनाउन चाहन्थें यर्थातः विहेको दिनसम्म धेरै साहसहरु बटुले । भनिन्छ–प्रेममा मान्छे कोसौं दूरीको यात्रा तय गर्छन् । बकैनाका जाबो रुखहरुका सिमानालाई पार गर्ने हिम्मत गर्न सकिन मैले । कायर भएँ । पूर्वानुमान विल्कलै थिएन । अचानक तिम्रो चट मंगनी, पट विहे । हेर्दाहेर्द तिम्रो विहेको लश्कर मेरै आँगनबाट गयो । अनुमान गर्न सक्तिनौ………। छोरा मान्छे हुनुकॊ सामाजिक मान्यता तथा नियति ! तिमीजस्तो रुँदै विदा हुन सकिन। आफैंदेखि सायद । आजसम्म पनि । बरु असल छिमेकी भएर टुलटुलु हेर्दै तिम्रो विहेमा सघाएँ । थाकें त्यो दिनभर दुवै शारीरिक तथा मानसिक द्वन्दले । तैपनि निदाउन सकिन । कसैको अंगालोभित्र तिमीलाई कल्पना गरें हुँला । नालायकीपन । आफैंभित्रको बैचनीले निदाउन सकिन । कति क्रुर तथा पींडादायी क्षणहरु थिए, ती मेरा लागि । मायाको विहे लगत्तै मैले धरान छोडें । त्यसपछिका दिनहरुमा मायासँग मेरो भेट हुन सकेको थिएन । बहिनीले सुनाउँथि, मायाको आदि/ईत्यादि । अनुमान गर्न सक्थें माया र मेरो उपश्थिति रमालाई खुबै रमाईलो लाग्थ्यो । हामी तीनजनाले धेरैपटक सँगै भानुचौकको गणेश टाकिजमा सिनेमा हेरिसकेपछि सँगै आडैमा रहेको मारवाडी बासामा छोला-भटोरा खाएका थियौं । बजेट पर्याप्त भए-मःम थुक्पा बुना दिदीको फेमस थुक्पा रेस्टुरेन्टमा । एकप्रकारले मेरी बहिनी मेरी ‘हमराज’ थिई । मॆरी बहिनीले हामी दुवैलाई राम्ररी बुझेकी थिई । र मेरो अन्र्तमुखी स्वभावलाई पनि । आमालाई भने अपसोच छ । छोराको उमेर ढल्कन लाग्यो । विहे गर्न मनस्थितिमा अझै छैन । जात र खानदान भन्दा पनि विहेमात्र गरे हुन्थ्यो छोराले भन्ने आमाको हार्दिक चाहनालाई मैले राम्ररी बुझेको पनि छु । त्यसो त सबै दौंतरीको विहे सत/प्रतिशत सफल भएको मान्दिन म । वैवाहिक जिम्मेवारीबाट भाग्न खोजेको पनि होईन । दिक्दार लाग्दो सत्य । विहे खास किन र कस्का लागि गर्ने ? अथवा, उमेरको कुन हदबन्दीभित्र- कहिलेसम्म गर्ने ? गणना गर्या छैन । दुइएक सालभित्र मेरो विहे होला पनि । या, जीवनभर नहोला पनि । दिमाग खपाउन चाहन्न अहिले । धराने शैलीमा जिस्काउँछ रमेश-आँच! ब्रो, भित्ता समात्ने उमेरमा विहे गर्ने विचार छ कि, कसो? अथवा, बुढो भएर अशक्त हिड्ने नसक्ने अवस्थामा भन्ने उसको व्यंग्य । भयङ्कर ! बिडम्बना । यता- अन्ना-मारिया यतिबेला धमाधम आफ्नो सामान प्याकिंग गर्दैछे । यो सामानहरुसंगै उसले मेरो यादहरु पनि समेटेर लैजान्छे, कि लग्दिन कुन्नि ! भन्न त् हामीले–’सधैं मित्र हुनेछौ’ भनेका छौं । माया-अत्यन्तै जतनसाथ हृदयमा सजाएको अर्की युवतीको नाम । नियतिले हृदयमा नै सधैको लागि कैद गरिदियो। यतिका वर्षपश्चात् पनि लागिरहन्छ-”यतिविघ्न मैले किन उसलाई प्रेम गरे हुँला?” जोसँग, एकरात गुर्जानुको त के कुरा मैले, हातसम्म समातिन कहिले । अचानक यो मोडमा- प्रेमका यति धेरै विश्लेषणको औचित्य के त ? हुनसक्छ, निरर्थक प्रेमका गफहरु पढेर तपाई आफ्नो समय खेर फालिरहनुभएको छ । यो पनि हुनसक्छ, तपाईहरु मलाई अझै बुझ्न सकिरहनुभएको छैन । बरु यतिबेला कसैले मलाई बुझ्न सक्छ भने केवल-मेरी प्रिय बहिनी रमाले बुझ्न सक्छे– Nani, Loneliness is a curse but to be alone is bliss, I am lonely in a bunch of people and, when I am alone, I am with you because, you know the reason- why? बिनानिम्तो, रातहरुले बल्झाउँछन् पींडाहरु । प्रिय सम्बोधन! शारीरिक आर्कषण/दैहिक सुखभन्दा भावनात्मक सामिप्यताको कत्रो महत्व या भनुँ, अलौकिक अनुभूति हुँदोरहेछ । समाप्त