करिब ६ बर्ष पहिले आफ्नो श्रीमान कृष्णको रोग निको पार्न विदेशिएकी राधा आज आफै बिरामी भएकी छिन् । उनको रोग के हो थाहा छैन । न चिकित्सकले खुलेर बताए,न जानकारलाई सोध्दा नै यही हो भने । रोग निको पार्न मकैको सिला खोजे झै सरसापट गरेर भए पनि श्रीमान श्रीमती घरबाट निस्किएको आज सातौं दिन भैसकेको छ । स्वास्थ्य परिक्षणलाई दिईएको स्याम्पलहरूको रिपोर्ट आईसकेको छैन । अहिले श्रीमान गेष्ट हाउसको झ्यालमा बसेर घोरिएर बाहिर हेरिरहेको देखेकी छिन् राधाले ।
– के भयो ? निकै घोरिनु भयो । पैसाको चिन्ता परेको हो ?
– हैन, त्यहाँ चराहरू चलिरहेका छन् । मलाई छोरीको याद आयो ।
– मलाई केही हुँदैन बुडा । औषधी चलाई हालेको छ । बरू उता दिएको औषधी उतै बसेर खाई रहेको भए त डायबिटिज हुने रहेछ नि हैन ?
– साँच्चै जन्मको ठेगान रहेनछ,मृत्यु अवश्यम्भावी नै रहेछ । बाँचुञ्जेली पनि लडाइँ कतिसँग कतिसँग ! उफ् !
– फेरि साहित्य छाँट्यौ ! बुझिन,बुझाऊ त ।
– म मर्दै थिएँ,तिमीले बचाएर लग्यौ,यहींबाट । आज त्यस्तै जिम्मेवारी ममाथि आएको छ । तिमीले जस्तै गरेर तिमीलाई लैजान पो सक्छु कि सक्दिन । जिन्दगी वल्लो किनारबाट नदेखिने सागरको पल्लो किनार जस्तो रहेछ राधा ! जूनको शितलताले पनि पोल्दोरहेछ कहिले काहीं । फूलको धारले पनि काट्दो रहेछ कहिले काहीं । यी फूलहरू किन झुसिलकिराले रुप फेरे झैं उल्टो गरेर रुप फेरेका होलान् !
२०६६-६७ सालतिर श्रीमानलाई उपचार गराउन देश छोडेर आउँदा एउटै चिन्ता थियो राधालाई – केही गरी श्रीमानलाई उपचारकै क्रममा केही भैहाल्यो भने ! समाजले के भन्लान् ? देश छोडेर विदेशमा श्रीमानलाई उपचार गराउन आफू र आफ्नो भाइ मात्र गएका बखत श्रीमानलाई केही भएको भए दिदीभाइ मिलेर विदेश लगेर श्रीमानलाई मारेर आए भन्थे भन्ने निकै ठूलो डर थियो राधालाई त्यतिखेर । यी सबै घटना सम्झिदै, घोरिंदै थिए कृष्ण । कालो बादलले देखिन्थ्यो कृष्णको मुहारमाथि ।
– साँच्चै , मेरो अपरेशन ताका म मरेको भए तिम्रो के हालत हुन्थ्यो होला हगी !
आज फेरि तिमी र म मात्र छौं यहाँ, परिक्षा फेरिएको छ ।
म त्यही परिक्षामा छु ।