त्यो कार्यालयमा भ्रष्टाचार सदाचार नै बनेको थियो । सेवाग्राहीका कुनैपनि काम दाम बिना हुँदै-हुँदैनथ्यो । कागज हेर्न दस्तुर, मान्छे भेट्न सलामी, फाईल खोज्न दक्षीणा र दस्तखतका लागि नजराना नभै कुनै काम हुँदैनथ्यो ।
मागेरै खाने, ढाँटेरै खाने, हप्काएर खाने र तर्साएरै खानेले आजित भएपछि जनस्तरबाटै दबाब बढ्यो । केन्द्रसम्मै खबर पुगेपछि सेवाग्रहीका काम बिना घुस र बिना नजराना गराउन एकजना निरीक्षक खटिए सो कार्यालयमा । कार्यालयमा निरीक्षक आएपछि २-४ दिन सेवाग्राहीका काम दाम दक्षीणा बिना नै भए ।
केही दिन पश्चात भने सो माहौल परिवर्तन भएको आभाष पाए जनताले । पुराना हस्तीहरु फेरि पनि सेवाग्राहीसंग बेधक दस्तुर माग्न थाले । अचम्मको कुरा के थियो भने अबका दिनमा दस्तुरको रेट पहिले भन्दा बढेको थियो । नयाँ आएका निरीक्षकको पनि भाग छुट्याउनु पर्ने भएकोले साबिक बमोजिम लिँदै आएको चिया खर्च र दस्तुरीमा बृद्धि गर्नु परेको बताएर कर्मचारीहरु पहिला सय लिने कामको लागि डेढ सय र हजार को बाह्र सय आदिको दरमा फेरि सेवाग्राहीलाई सताउन थाले ।
पीडित सेवाग्रही फेरि समस्या लिएर सम्बन्धित निकायमा धाउन थाले । स्थितिको गाम्भिर्यलाई ध्यानमा राखेर यसपाला भने केन्द्रबाट त्यो कार्यालयको हेरक काउण्टर र जन सम्पर्क हुने कोठामा स्वचालीत क्यामारा राखेर निगरानी गर्ने प्राविधिक अनुगमनको अचुक उपाए अबलम्बन हुने बताईयो ।
हाल सो कार्यालयका हरेक कोठा र हरेक टेबल माथी हरपल निगरानीका लागि स्वचालीत क्यामरा चलेका छन् अनि सेवाग्राहीहरु पनि क्यामरा मुनि नै दस्तुर र दक्षीणा दिन बाध्य छन । यो प्राविधिक प्रयोग पछि परिवर्तन नभएको होईन, परिवर्तन भएकै छ ….जनताहरुले कामको लागि सो कार्यालय धाउँदा उक्त अदृश्य प्राविधिकको समेत भाग थप गरी दस्तुर बुझाउन थालेका छन् ।