केही समयअघि उसको घरसंगैको एकजना छिमेकीले घर अगाडिको बाटो र घरको बीचमा रहेको केही जग्गा मिचेर पर्खाल लगाएको थियो । यसरी सार्वजनिक जग्गा मिचेर छिमेकीले आफ्नो कम्पाउण्ड बढाएको कुरा उसलाई चित्त बुझेन । उसले विरोध गर्नु पर्ने ठाउँमा गएर विरोध गर्यो, उजूर हाल्नु पर्ने ठाउँमा गएर उजूर हाल्यो । तर उजूर कमजोर भएर हो वा छिमेकी बलियो भएर हो कुन्नि, न त कसैले अनुसन्धान नै गर्यो, न त छिमेकी नै कारवाहीमा पर्यो । लगाएको पर्खाल लगाएकै भयो ।
त्यसको केही समयपछि उसको अर्को छिमेकीले पनि विस्तारै आफ्नो पर्खाल मर्मत गर्ने बहानामा पुरानो पर्खाल भत्काई दुई-तीन फिट बाटो च्यापी नयाँ पर्खाल लगायो । उसले पुन: निवेदन दिनुपर्ने ठाउँमा गएर निवेदन दियो, नालिस हाल्नु पर्ने ठाउँमा गएर नालिस पनि हाल्यो । तर नालिस लेखेको नमिलेर हो वा सम्बन्धित हाकिम छिमेकीसंग मिलेर हो, न त कसैले छिमेकीलाई हप्कायो, न त कसैले पर्खालै भत्कायो । ठड्याएको फर्खाल ठाडै रह्यो ।
अघिल्ला दुई जनाबाट प्रेरणा पाएर गएको हप्ता, उसको तेस्रो छिमेकीले आफ्नो चार आनाको जग्गालाई बाटोतर्फ ‘घचेटेर’ ६ छ आनाको बनायो । यसरी सवैजनाले सार्वजनिक जग्गा मिच्दै व्यक्तिगत बनाउँदै गरेको उसलाई पटक्कै मन परेको थिएन । तर किन हो कुनि यसपाला भने उसले मुद्दा हालेर शत्रु कमाउने काम पनि गरेन, निरर्थक विवाद गरेर मूर्ख बन्ने बाटो पनि रोजेन ।
ऊ यसरी चुपचाप शान्त बसेको देखेर छर-छिमेकमा सबै छक्क परेका थिए । वास्तवमा अर्काले हाकाहाकी सार्वजनिक जग्गा मिच्दा पनि ऊ यसरी शान्त बस्नु एउटा आश्चर्यकै कुरा थियो । तर आश्चर्य भन्दा महा आश्चर्य घटेपछि मात्र सबैले उसको परिवर्तित शान्त स्वभावको रहस्य बुझे । कुरा के भने, आज बिहानदेखि ऊ पनि विस्तारै आफ्नो घर कम्पाउण्डको पुरानो पर्खाल भत्काएर चार फिट अगाडि नयाँ पर्खालको जग खन्दै थियो ।