• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

DADDY SANTA BAHADUR

त्यसो त सन्त बहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्त बहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।

सन्त बहादुर करिव ३५-४० वर्ष अगाडि २-३ जना परिवार सहित राजधानी भित्रिएको थियो । उसको पुर्खौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु-बाजेको जग्गा जमिन धेरै जना दाजुभाइमा बाँड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर उ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौँतारियो सन्ते ।

चिनजानका कोही नभएका अरू काममा आफ्नो बुता पनि नभएकोले त्यति बेला ४-५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पर्थ्यो । दिनभर ज्याला-मजदुरी र अरूको खेत-बारी खन-जोत गरेर साँझमा बस्ने ठाउँमा फर्कँदा उसका छोराछोरोहरू “बा ! बा !!” भन्दै उसको पछि लाग्थे ।

समय बित्दै गयो, सन्तले २-४ जना पुगि सरेका लाई पनि चिन्यो, मेहनत-मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रहँदै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १-२ जना खाइलाग्दाहरूका ठाउँको जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जा टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउँमा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउँथ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १-२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा-छोरीहरू उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

 

अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानुन बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहसँगै ‘जोत-को-पोत’ भन्ने कानुन र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।

सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानी बापत आएको २ रोपनी जग्गा करौडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घर मुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा-छोरीहरू पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफैँ बस्छ र गाउँलेहरू उसलाई ‘सन्त साउ’ भनेर बोलाउँछन् । अँ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरू उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image