रातको १० बजिसकेको थियो । कालरात्रीको जस्तै डरलाग्दो अन्धकार थियो । त्यो अन्धकारलाई अझै भयानक बनाउन पानी आफ्नै बेगले बर्सिरहेको थियो । कतै सवारी साधनहरूको आवागमन थिएन । त्यस्तो परिस्थितिमा पनि पूर्णिमालाई जसरी पनि अस्पताल पुग्नु थियो । तिनको जीवन साथी शङ्कर गत सालदेखि अस्पतालको शैयामा उपचारका लागि भर्ना भएको थियो । पूर्णिमा एउटा हातले छाता ओढेकी थिइन् भने अर्को हातले टिफिन डब्बा बोकेकी थिइन् । त्यस्तो मुसलधारे पानीमा त्यो सानो छाताले के सहारा दिन्थ्यो र ? तिनका लागि नाम मात्रको छाता थियो । मुसलधारे पानीको बेगले तिनको सारा शरीर भिजिसकेको थियो ।
तिनी मूल बाटोमै बसी कहिले माथि, कहिले तल रिक्सा आउने आशामा उभिरहेकी थिइन् । तिनी उभिएको केही बेरपछि टाढाबाट एउटा रिक्सा आइरहेको तिनले देखिन । रिक्सा नजिक पुगेपछि तिनले भनिन्– “बाबु अस्पताल जान्छौ ? बिरामीलाई खाना पुर्याउन ढिलो भैसक्यो ।”
रिक्सावाला तराईवासी जस्तै थियो । उनले भन्यो– “म त घर जान थालेको ।”
पूर्णिमाले फेरि आफ्नो स्वरमा जोड दिँदै भनिन्– “जाम न बाबु ¤”
रिक्सावालाले एक छिन केही सोच्यो र भन्यो– “बस्नुस्” ।
उसले बस्नुस्भन्दा उसको मुखबाट ह्वास्स रक्सीको गन्ध बाहिर ठेलमठेल गरेर निस्क्यो । पूर्णिमाले रिक्सामा चढ्दा चढ्दै सोचिन्–‘बसम् कि नबसम् ? कतै लगेर लडाइदियो भने फेरि अर्को आपत् । के गरुँ ?’ फेरि आफैले एउटा निर्णय गरिन्, ‘यो रिक्सा छोड्यो भने अर्को यस्तो पानीमा पाउन मुस्किल हुन्छ । जे पर्ला ।’ तिनले छाता बन्द गरिन् । प्लास्टिक लगाएको रिक्सामा छाताको काम गरिरहेको थियो ।
रिक्सा अस्पतालतिर पानीलाई छिचोल्दै दौड्यो । रिक्सावालाले रिक्साको पैडमा खुट्टाले पैदल मार्दा चुइँ चुइँ रिक्सा कराउँदै थियो । अकस्मात् रिक्सावाला बोल्यो– “आमा ¤ मैले रिक्सा चलाउन थालेको १५ वर्ष भैसक्यो तर कसैले पनि मलाई बाबु ¤ भनेर भनेको छैन ।”
उसको कुरा सुनेर पूर्णिमा एक छिन अक्मकाइन् । तिनले सोचिन्, ‘कतै मैले गलत सम्बोधन त गरिनँ ?’ तिनलाई डर पनि लाग्यो । उसले रक्सी पिएर आएको कुरा तिनले रिक्सा चढ्ने बेलामा नै थाहा पाइसकेकी थिइन् । तिनले रिक्साको पर्दाको बाँसलाई बेस्सरी समातिन् र विस्तारै सोधिन्– “अनि के भो त ? तिमीलाई बाबु भनेको मन परेन ? तिमी मभन्दा उमेरले सानै छौ । त्यसैले मैले तिमीलाई बाबु भनेकी हुँ ।”
पूर्णिमाको कुरा सुनेर उसले रिक्सा चलाउँदा चलाउँदै पछाडि पूर्णिमातिर फर्केर हेर्यो । तिनले पनि सडकमा बलेको बत्तिको उज्यालोमा उसको अनुहार सर्सती हेरिन् । कालो वर्णको त्यो रिक्सावालाको अनुहारमा त्यस्तो झरीको बेलामा पनि परिश्रमका पसिनाहरू निधारभरि मोतीदाना जस्तै टलपल टलपल टल्किरहेका थिए । अनुहारमा छलकपटको भाव थिएन । शरीरमा मात्र एउटा सेतो त्यो पनि कालो भैसकेको गञ्जी थियो । अनि खुट्टामा घिस्सिएको चप्पल । उसले दुई तीन ठाउँमा च्यातिएको हाफ पाइन्ट लगाएको थियो अनि घाँटीमा कालो मैलो गम्छा बेरेको थियो ।
पूर्णिमाले सोधिन– “के भयो ? बाबु ¤ तिम्रो घर कहाँ हो ?”
उसले छोटो उत्तर दियो– “नवलपरासी ।”
पूर्णिमाले फेरि सोधिन्– “मैले अघि बाबुभन्दा तिमीले किन त्यस्तो भनेको ? बाबु भनेको तिमीलाई मन परेन ?”
उसले भन्यो– “तपाईले मलाई बाबुभन्दा साह्रै राम्रो लाग्यो । मेरो मनमा छोयो । आजसम्म सबैले ए भैया ¤ ए रिक्सावाला ¤ भनेर मात्रै भन्ने गर्थे । आज तपाईले बाबु भनेर बोलाउँदा रुन मन लाग्यो ।”
उसले पूर्णिमातिर फर्केर एउटा हातले रिक्साको हेन्डिल समात्दै अर्को हातले आँखाबाट बगेको आँसु घाँटीमा बेरेको गम्छाले पुछ्यो र फेरि सोध्यो– “आमा ¤ हामीलाई भैया किन भन्छन् ?”
पूर्णिमा एकछिन अक्मकिइन् । तिनलाई पनि भैयाको अर्कै नकारात्मक अर्थ रहेछ कि के हो जस्तो लाग्यो । तिनले आफूले जानेको भैया शब्दको अर्थ सम्झाउने विचारले भनिन्– “बाबु, भैया भनेको पनि त राम्रै शब्द हो नि । भैया भनेको त भाइ भनेको हो नि होइन र ? तिमीले यसमा नराम्रो मान्नुपर्ने कुरै छैन । भैया भनेर बोलाउँदा पनि त मायाले बोलाएको हो नि । तिमीले त्यस्तो सोच्नु भएन । कसैले बाबु, कसैले भाइ, भैया, दाइ भनेर बोलाउँछन् । यसमा तिमीले दुःख मान्नु पर्दैन ।”
उसले फेरि पछाडि फर्केर हेर्यो र भन्यो– “होइन आमा ¤ मलाई सबैले बाबु भनेको नै राम्रो लाग्छ ।”
पूर्णिमाले पनि हाँस्दै भनिन्– “त्यसो भए तिमीले आफ्नो रिक्सामा चढ्ने मानिसहरूलाई मलाई बाबु भनेर बोलाउने गर्नुस् भनेर भन्नु पर्यो ।”
पूर्णिमाको कुरा सुनेर ऊ पनि गरेर हाँस्यो । साथै त्यहाँ पूर्णिमाको हाँसो पनि मिस्सियो । दुवै जनाको हाँसोले एकछिन सुनसान बाटोमा रमझम भए जस्तै भयो । रिक्सा आफ्नै सुरमा गुडिरहेको थियो । पूर्णिमालाई पनि रिक्सावालासँग डर लाग्न छोडिसकेको थियो । उसको दुवै खुट्टाले लगातार रिक्साको दुवै पाइडललाई घुमाउँदै थियो । बेला बेलामा टाढाबाट आउने गाडीको लाइटले उसलाई र रिक्सालाई लुछुप्पै भिजाएर जाने गथ्र्यो । उसलाई देखेर पूर्णिमाको मनमा माया जाग्यो र तिनले रिक्साले छिचोल्दै गइरहेको बाटोलाई हेर्दै सोच्न थालिन्– ‘साँच्चै, परिश्रम भनेको ठूलै कुरा हो । आज यहाँका केही मानिसहरूले परिश्रम नगरिक नै भ्रष्टाचारको बाटोबाट करोडौँको सम्पत्ति थुपारेका छन् । अनि, सभ्य नागरिककको परिचय दिन तँछाडमछाड गर्छन् । मेरो नजरमा दिन–रात परिश्रम गरेर आफ्नो र आफ्नो परिवारको भोको पेटलाई केही राहत दिन सक्ने एउटा रिक्सावाला बाबु नै असल र सभ्य नागरिक हो । जो निष्कलङ्क छ र सधै हामी नेपाली हौँ भन्ने एउटै कुरा सोच्छ । परिश्रम गरेर खानु पर्छ भनेर सोच्छ । गलत ढङ्गबाट पैसा कमाउनु हुन्न भनेर आफ्नो गरिबीमा कहिल्यै पनि निराश भएर कुरा गर्दैन । एउटा नेपालीले अर्को नेपालीलाई आफ्नो रिक्सामा राखेर गन्तव्यसम्म पुर्याउने काम गर्छ । त्यस्तो रिक्सावालालाई छोरा, बाबु, भैया, दाइ, भाइ आदि स्नेही शब्दहरूले सम्बोधन गर्न पाउनु गर्वकै कुरा हो ।’ आफ्नो सोच देखेर पूर्णिमा मनमनै हाँसिन् ।
यति बेलासम्म अस्पताल पनि आइसकेको रहेछ । उसले पूर्णिमालाई भन्यो– “आमा ¤ तपाईलाई भित्रसम्म पुर्याइदिउँ ?”
उसको सहयोगी भावनाले तिनलाई कता कता ममताको भावना लहरिँंदै आएको महशुस भयो । तिनले जबाफ दिइन्– “बाबु, भयो, म आफै जान्छु ।”
उसले भन्यो– “होइन, होइन, मैले लगिदिन्छु नि ।”
उसले रिक्सा भित्रसम्म ल्याएरै छोड्यो । पूर्णिमा रिक्साबाट तल झरिन् र ब्यागबाट ५० को नोट निकालेर उसलाई दिँदै भनिन्– “लौ तिम्रो रिक्साभाडा ।”
उसले मलाई एक पटक पुलुक्क हेर्यो र भन्यो– “२५ रूपियाँ मात्रै हो आमा ।”
उसको त्यो वाक्यले फेरि तिनको मनलाई झस्काइदियो । कति इमानदार हुन्छन् यी परिश्रमिहरू । आफ्नो पसिनाको मूल्यभन्दा एक पैसा पनि बढी लिन चाहँदैनन् । धन्य, हाम्रा देशका यी परिश्रमी व्यक्तित्वहरू । अनि तिनले भनिन्– “के भयो त बाबु ? यस्तो राति पानी परेको बेला तिमीले मलाई यहाँसम्म छोडिदियौँ । २५ रूपियाँ तिम्रो ज्याला २५ यो आमाको आर्शिवाद सम्झेर लेऊ । तिमीले यो पैसा लियौ भने म पनि खुशी हुन्छ ।”
त्यो सुनेर उसले पूर्णिमाको दुवै गोडा समातेर ढोग्न थाल्यो । त्यो देखेर तिनले आत्तिँदै भनिन्– “ल…. के गरेको यो ? ढोग्नु पर्दैन । यसरी नै राति राति आपत्मा परेकाहरूलाई आफ्नो रिक्सामा राखेर ठाउँमा पुर्याइदिने काम गर ।”
तिनै रिक्सावालाको टाउकोमा हात राख्दै फेरि भनिन्– “यही नै मेरो आर्शिवाद ।”
उसले टाउको हल्लाउँदै भन्यो– “हुन्छ, आमा । त्यति बेलासम्म उसको बिछोडले उसको घाँटी अवरुद्ध भैसकेको थियो । उसको आँखाभरि आँसु टल्पलाउन थालिसकेको थियो । मानवीय संवेदनाको त्यो रूपलाई पूर्णिमाले भित्रभित्रै समेट्ने प्रयास गर्दै भनिन् –“बाबु, अब सरासर घर जाउ है । मैले दिएको पैसाले रक्सी नखाउ नि ।”
उसले हाँस्दै भन्यो–“हुन्छ आमा ।”
त्यति भनेर त्यो रिक्सावालाबाबुले फेरि एक पटक रिक्साको पैडल मार्दै गयो । पूर्णिमा पनि आफ्नो व्याग, टिफिन बक्स बोकी अस्पतालको सिंँढी चढ्न थालिन् ।
►NEPALI JOKES HUSBAND WIFE JOKES
►NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त
►HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं
►NEPALI KATHA यमलोकमा जिउँदो मान्छे
►GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE
►NEPALI JOKES TEACHER AND STUDENT
►JOB STAFF WANTED AVAILABLE IN NEPAL
►NEPALI STORY आँधी, बाढी र महामारी
►14FEB VALENTINES DAY KO LOG KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI
►सुनोजी सर्कस देखने चलते है, सर्कस में एक लड़की बिना कपड़ों के शेर की सवारी करती है ।
►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*