• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali Story गर्मी

शनिबार उसलाई पशुपतिको मूलढोकैमा टाढैबाट देख्नेबित्तिकै म आठौँ आश्चर्यमा परेँ। पवित्र पशुपतिनाथको मूलढोकामा उसको उपस्थिति दुई विपरीत ध्रुबको मिलाप थियो। एक पटक आफैँलाई चिमोटौँ चिमोटौँ जस्तो लाग्यो। भ्रम, अर्थात् मस्तिष्कले निर्क्यौल गर्दै आएको कुरालाई ज्ञानेन्द्रीयले तत्क्षण गरेको अनुभूतिले गलत साबित गरिदिएको अवस्था या मस्तिष्कको ठहर र ज्ञानेन्द्रियले अनुभूत गराएको सत्य बिचको द्वन्दात्मक अवस्था, जहाँ केही क्षणको लागि चेतना समेत शून्यमा पुग्दछ। यस्तो विषम अवस्थामा भ्रम निवारण गर्न आफैँलाई शासना दिँदैमा हुने त केही होइन, तै पनि तन्द्रामा पो छु कि भनेर आफैलाई जाँच्ने चाहना मनमा पलायो। तर मैले आफैँलाई चिमोटनु अगाडि नै ऊ म नजिकै आइपुगिसकेको थियो। उसलाई देखेर मनमा सदाझैँ ईर्ष्या, क्षोभ र रिसको मिलिजुली भाव पलायो र उसलाई मनमनै गाली गरेँ, “सा।। गिगोलो।”

श्रीवत्स, उसको नाम श्रीवत्स हो र ऊ नाम अनुसारकै सुन्दर व्यक्तित्व, आकर्षक शरीर र मधुर वाणी बोलेर मीठो कुरागर्ने युवक हो, हाम्रै उमेरको। कुनैपनि दृष्टिकोणबाट ऊ हाम्रो वैरी होइन। ऊ मिलनसार छ, सबैसँग राम्रो भलाकुसारी गर्दछ, हामीसँग पनि असाध्यै मिल्छ, सँगै बस्छ र भएभरका कुरा सुनाउँछ। तर पनि भित्री रूपमा हामी उसँग ईर्ष्या गर्दछौँ, क्षोभ राख्दछौँ र उसलाई देखेर रिस पनि उठ्छ। यसको विपरीत हाम्रा सहउमेरका युवती र विवाहित  महिलाहरूको लागि ऊ अत्यन्त राम्रो, फरासिलो र प्यारो व्यक्ति हो।

प्यारो, उनीहरूले उसलाई सम्बोधन गर्ने यही शब्दमा नै हाम्रो आपत्ति हुन्छ, यही नै ईर्ष्या, क्षोभ र रिसको कारण पनि हो। “किन ऊ प्यारो ! किन हामी होइनौँ !” भलै हामी मुख फोरेर भन्न सक्दैनौँ तर उसको उपस्थिति हाम्रो आँखामा बिझाउँछ। मैले अरूको आँखामा पनि बिझाएको भाव पढेको छु। हामीले भन्दा बढी ऊ नै हामीलाई पार्टीमा बोलाउँछ त्यसैले हामी बाध्यात्मक रूपमा मन कुँडाएर उसलाई पार्टीमा बोलाउँछौँ। यस्तोमा हाम्रा श्रीमतीहरुले उसलाई बोलाउने सिफारिस गर्दाको अवस्था भने आलो घाउमाथि नुन भइदिन्छ। भित्री रूपमा हामी सबै चाहन्छौँ, ऊ बोलाए पनि नआओस् तर ऊ भद्र रूपमा आफूलाई प्रस्तुत गर्न भएपनि सालिन तरिकाले आइदिन्छ।

हो, हामीलाई उसको उपस्थिति सह्य छैन र हुँदैन पनि। उसलाई लिएर जति प्रश्नहरू मेरो मनमा उब्जन्छन्, अन्य मित्रहरुको मनमा पनि उब्जन्छ भन्नेमा म विश्वस्त छु। किन हामी ऊसँग ईर्ष्या गर्दछौँ ? किन हाम्रो अनुहारमा ऊप्रति क्षोभ झल्कन्छ? व्यक्तिगत रूपमा ऊ मेरो या अन्य मित्रहरुको पनि बैरी अवश्य होइन् तर मनले सँधै उसलाई प्रतिद्वन्द्वी ठान्दछ।

उसको व्यक्तित्व नै त्यस्तै छ, ऊ पार्टीमा आउनेबित्तिकै युवतीहरु ऊप्रति तानिन्छन् मानौँ युवतिहरु फलामका टुक्रा हुन् र ऊ शक्तिशाली चुम्बक। हामीसँग कुरा गर्दै गरेका युवतीहरु पनि बिस्तारै हामीलाई छोडेर उतिरै जान्छन्। हामी एकअर्काको अनुहारमा हेछौँ र आफूलाई पराजित महसुस गर्दछौँ। हामी अलि टाढाबाट उसलाई पराजित मानसिकता बोकेको हरुवा सिंहलेझैँ चोर आँखाले हेर्दछौँ, ऊ युवतिहरुको समूह बिच विजित सिंहझैँ बिचरण गरिरहेको हुन्छ। अनि हामी डाह गर्न थाल्दछौँ, एक पुरुषले यो अवस्थामा डाह नगरिकन कसरी बस्न सक्छ र?

हामीले हाम्रा श्रीमतीहरुको आँखामा पनि उप्रतिको आकर्षण देखेका छौँ। यस अवस्थामा हीनताबोध हुन्छ, मनमा क्षोभ उत्पन्न हुन्छ, एकप्रकारको रिस उठछ। नरेश पटियाला पेग प्युँन थाल्दछ, सुबोध हातमा समातेको ग्लासलाई लगाएको औँठी ठोकेर बजाउन थाल्दछ र म हातमा समाएको व्हिस्कीको गिलास जानीजानी भुँइमा खसाएर फुटाउँछु। हरेक पार्टीमा पुरुषत्व बिचको यो युद्धमा सँधै हारेका हामी कतै कुनामा बसेर यही प्रक्रिया दोहर्याइरहेका हुँछौँ।

त्यस दिन पार्टीमा नरेशले मलाई कुहिनाले हान्दै सङ्केत गरेर ऊतर्फ देखाएको थियो। ऊ परित्यक्ता नम्रतासँग निक्कै गफिँदै थियो।

“सा … गिगोलो …, अर्काको श्रीमती पनि भन्दैन,” मैले ईर्ष्या ओकल्दै भनेको थिएँ।

“अचम्मको खुबी छ योसँग, जो केटीलाई पनि तुरुन्तै पट्याउँछ। हैन बिहे किन गर्दैन यो ?”

“तँलाई थाहा छ, मैले त्यसलाई कहिले बिहे गर्छस् भनेर सोद्धा के भन्यो ?”

“के भन्यो ?”

“केटी नपाए पछि रे !”

“मतलब ?”

“जब खेलाउन केटी पाउँदैन तब मात्र बिहे गर्छ रे !”

“ओ ओ… साँच्चि कति पुर्यायो होला त्यसले ?”

“मेरो बिचारमा हाफ सेन्चुरी त नाघ्यो कि !”

“मात्रै !”

“अब सेन्चुरी नै बनाउँछ, ऊ हेर न नम्रतालाई, लेफ्ट ओभर पनि नछाडेपछि त सेन्चुरी बन्ने नै भो नि।”

“यस्तो पनि जिन्दगी हुँदो रहेछ।”

“एउटा कुरा भन्छु, माइन्ड नगर है।”

“के ?”

“यो सा … आगो हो, हाम्रै घर नि सल्काउन के बेर !”

“हुँम्, वी मस्ट बि केयरफुल है।”

“आइ नो, रेस्ट्रिक्सन त गर्नै पर्छ।”

“एग्ज्याक्टली।”

“सुबोधले त भाउजूलाई नराम्ररी झपारिसकेछ।”

“हा… हा … हा …”

“किन हाँसिस् ?”

“आफू चाहिँ कुकुर जस्तो कुनै पनि खम्बा  नछाड्ने अनि घरकि चाँहि सतिसावित्री खोज्ने ?”

“यो मेन्ट्यालिटी हरेक लोग्ने मान्छेमा हुन्छ। यु नो मिड लाइफ क्रायसिस ?”

“त्यो त हो।”

****

“के छ सुभ्र ?” उसले मलाई भेटेर सोध्यो।

“म अहिले मंगलग्रहमा छु,” मैले भने।

“बिना यान !”

“पशुपतिमा एलियन देखेपछि जो कोही पनि मंगलग्रह पुग्छ, कहिले देखि ?”

“वन्स इन अ ब्लु मुन आउँथे, तर आजकाल फुर्सद हुँनेबित्तिकै आउँछु।”

“ह्वाट अ सरप्राइज !”

“हरेक व्यक्तिको जीवनमा एउटा टर्निङ्ग पोइन्ट आउँदो रहेछ।”

“मतलब तैँले टर्न लिइस् ?”

“वेल, त्यसै भन्न सक्छस्।”

“केही कारण पनि त होला नि, आइ हेभ सिन लट अफ चेन्जेज अन यु, ह्वाट इज द रिजन बिहाइन्ड ?”

“भरे अनिस दाइकोमा आउँदिनस् ? त्यहीँ भनुला नि।”

“ओके, त्यसोभए भरे अनिस दाइकोमा नै भेटौँला नि त।”

उ छुट्टियो।

***

मैले घर फर्कने बित्तिकै सबैभन्दा पहिले सुबोधलाई फोन गरेँ र श्रीवत्ससँग भएको सबै कुरा भने। सुबोधलाई हामी चल्तापुर्जा सि.एन.एन. भन्छौँ। उसलाई खबर गरेपछि सबैकहाँ खबर पुग्छ। नभन्दै नरेशले सुबोधले भनेको कुरा हो होइन बुझ्न मलाई फोन गर्‍यो। मैले हो भनिदिएँ।

शनिवारको दिन व्यग्रता पूर्वक बित्यो।

साँझ अनिस दाइको घरमा पुग्दा ऊ नरेश र सुबोधसँगै कुनामा बसिरहेको थियो। नरेश र सुबोधको हातमा ग्लास थियो, श्रीवत्स भने खाली हाथ नै बसिरहेको थियो।
“किन आज ड्रिङ्क लिन्नस् ?” मैले नजिक पुगेर सोधेँ।

“आजकाल लिन मन लाग्दैन,” उसले सपाट उत्तर दियो। हामी तीनैजनाले

आश्चर्यमा आँखा जुधायौँ।

“भनेपछि बाघले मासु छोडेकै हो त ?” सुबोधले जिस्कायो।

ऊ हाँस्यो मात्र। मैले उसको अनुहारमा उदासीको भाव देखेँ। ऊ भित्रैबाट विचलित देखिन्थ्यो।

“कि एक पेग लिने हो ?” नरेशले कोट्यायो।

“हैन, नलिउँ।”

“लिन्न भनेपछि कर नगर यार,” मैले नरेशलाई करगर्न रोक्दै भने, “अनि अरू सुना, के छ तेरो हाल ? आज अचम्मसँग पशुपतिमा भेटिइस्।”

“एउटा कुरा भनुँ ? ऊ गम्भीर भयो, “मेरो जीवनमा कैयौँ आइमाइहरु आए तर मैले कहिल्यै कुनै पनि आइमाइलाई बुझ्न सकिँन।”

“आइमाइको बारेमा बुझ्नै पर्ने त्यस्तो के कुरा छ र !” नरेशले आश्चर्य मान्दै भन्यो।

“तँ बुझ्दैनस् नरेस, यो त आइमाइमाथि नै अनुसन्धान गर्दै छ, यसैलाई भन्न दे न,” मैले कुरा खोतल्ने आशयले भनेँ।

“सायद तिमीहरू विश्वास गर्दैनौ होला,” श्रीवत्सले भन्यो, “तर म बदलिएको छु, म किन यसरी बदलिएँ ? म आफैले पनि बुझ्न सकिरहेको छैन। मेरो मन अशान्त छ, हृदयमा उथलपुथल मच्चिरहेको छ, त्यसैले आजकल म मन्दिरतिर गएर
मन शान्त पार्न खोज्छु।”

“मतलब तँलाई केटी र सेक्सप्रति वितृष्णा जागेको छ, सन्यासी बन्ने बिचार छ कि के हो ?” सुबोधले सोध्यो।

“मेरो बिचारमा सेक्सबाट कोही पनि भाग्न सक्दैन, साधु सन्यासीले पनि बलैपूर्वक आफूलाई रोकेका मात्र हुन् जसको नतिजा त न्यूजमा बेलाबेलामा आईरहेकै छ नि। यो त शारीरिक भोक हो, कसैलाई कम कसैलाई ज्यादा लाग्छ तर अवश्य लाग्छ।”

“अनि तँलाई ?”

“सायद मलाई बढी नै लाग्छ त्यसैले मैले यसलाई एउटा खेलको रूपमा लिएको थिएँ, यु नो, जस्ट वन नाइट स्ट्याण्ड।”

“सायद तैँले यसलाई पाप ठान्न लागिस क्यारे,” मैले सोधेँ।

“मैले कहिल्यै यसलाई पापको रूपमा लिईँन, मनमा हीन भावना या बिकार राखेर गरिन, शुद्ध मनले पवित्र कार्य मानेँ।”

“पवित्र कार्य !” नरेशले भन्यो, “यस्तो पनि पवित्र कार्य हुन्छ र ?”

“कोही कसैको अतृप्त क्षुधा शान्त पार्नु के पाप हो र ? कसैलाई इच्छित तृप्ति दिनु के अधर्म हो र ?”

“छोड यो कुरा,” मैले आफ्नो जिज्ञासा शान्त पार्ने उदेश्यले कुरा मोडदै भने, “खासमा के भो तँलाई ? किन यसरी बिरक्तिएको ?”

“सायद मेरो कुरामा तिमीहरू विश्वास गर्दैनौ होला, तर कुरा नै त्यस्तै छ।”

“भन् न, तेरो कुरा पनि विश्वास गर्देनौँ र !” मैले श्रीवत्सलाई हौस्याउँदै भने।

“शेखरलार्इ चिन्छस् नि, बिराटनगरको क्या,” उसले भन्यो, “म तीन हप्ता अगाडि बिराटनगर गएको थिएँ। शेखरको घरमै बसेको थिएँ। गएको दुईदिनपछि, शेखरको काकाले डिनरमा बोलाउनु भएको थियो।

“अनि ?”

“काकाको उमेर पचपन्न नाँघिसकेको रहेछ। पहिलो श्रीमती बिना सन्तान बितेकोले एकबर्ष अगाडि मात्र बिहे गरेका रहेछन्। केटी भने पच्चिस वर्ष जतिको हुनुपर्छ तर असाध्यै राम्री थिइन्। मेरो बिचारमा केटीले धनकै लागि या यस्तै केही
बिवसताले गर्दा बिहे गरेको हुनुपर्छ।”

“अनि ?”

“त्यसै कारणले म दिनहुँ जसो काकाकोमा जानथालेँ। आठौँ दिनको साँझ अचानक उनले मलाई फोन गरेर बोलाइन्। म गाडी लिएर पुगेँ। उनी तयार भएर बसेकी रहिछिन्। म पुग्ने बित्तिकै गाडीमा बसिन्।”

मैले सोधेँ, “कहाँ जाने ?” उनले रंगेलीतिर जानलाई भनिन्। हामी रंगेलीतिर गयौँ। रंगेली नपुग्दै बीच बाटोबाट उनले गाउँतिर मोड्न भनिन्। मैले त्यसै गरेँ। दश किलोमिटर पर पुगेपछि उनले गाडी रोक्न भनिन्। मैले गाडी रोकेँ। उनी गाडीबाट ओर्लिइन् र म पनि ओर्लिएँ।

अगाडि नहरबाट दोबाटो छुट्टिएको थियो। घाम डुबिसकेको भएपनि उज्यालो अझै बाँकी नै थियो। उनी गाडीबाट ओर्लिएर अलिकति अगाडि हिँडेर गइन् र घाम डुबेको ठाउँतिर हेरेर बसिन्, म गाडीको छेउमै उभिएर बसेँ। मैले केही कुरा बुझिरहेको थिइँन। एकछिन पछि उनी गाडी भएतिर फर्केर आइन् र मेरो सामुन्ने उभिइन्।

“अनि ?”

“उनी अत्यन्तै गम्भीर थिइन् र एकटक मलाई हेर्दै थिइन्। मैले उनको अनुहारमा हेरेँ। बाक्लो गाजल लगाएको उनका आँखाहरुमा रातो डोरा बाक्लिँदै गइरहेको थियो। उनले भनिन्, “श्रीवत्स, घाम अस्ताए पनि उज्यालो अझै बाँकी छ। उनले नहरतिर चोर औलाले देखाउँदै भनिन्, यता नहर छ, गहिरो नभए पनि पानी बगिरहेको छ र उता, उ त्यो खेत टाढाटाढासम्म सुख्खा छ। भिज्नलाई यसले वर्षा कुर्नै पर्छ। तर बर्षातपछि पनि के यो हराभरा होला र? मैले मेरो नियति नबुझे पनि तिम्रो नियत अनुमान लगाएकी छु। हाम्रो अगाडि दोबाटो छ। म आँखा चिम्लेर नियति स्विकारुँ या आँखा खोलेर नियतमा समर्पण गरुँ भन्ने दोधारमा छु।”

“त्यसपछि के भयो ?” म अन्त्य जान्नलाई लालायीत मैले सोधेँ।

“मैले एकटक लगाएर उनको आँखामा हेरेँ, मलाई ती आँखाहरू धुँवा पुत्पुताउँदै लावा ओकलिरहेका ज्वालामुखिजस्तै लागे। मेरो शरीरभरि भीषण गर्मी उत्पन्न हुन थाल्यो। मलाई अहिले पग्लिन्छु भरे पग्लिन्छु भन्ने भान हुन थाल्यो। उनका प्रश्नहरू उनका आँखामा दोहरिन थाले र मेरा कानमा नाद गर्दै गुञ्जिन थाले। मैले धेरै बेर ती आँखामा हेरिहरन सकिन, ती आँखाहरुमा देखिएका प्रश्नहरूको कुनै जवाफ दिन सकिन। उनका आँखा झन्झन् राता हुँदै आए। अकस्मात मैले आँखा चिम्लिएँ र फरक्क फर्किएर गाडीतिर आएँ। किन हो कुन्नि चुपचाप गाडीमा आएर बसेँ र उनलाई त्यहीँ छाडेर फर्किएँ।”

“उफ्फः, अनि ?”

“शुभ्र, त्यसदिन देखि म बेचैन छु, अचेल बारम्बार मलाई ती बाक्ला गाजल लागेका आँखाका राता डोराहरुमा बेरिएको प्रश्नहरुले घेर्छन्। जहाँ जाउँ त्यही आँखा देख्न थालेको छु। घरिघरि त्यही नहर, त्यही सुख्खा खेत र त्यही दोबाटो आँखाका सामुन्ने देखिन्छन्।”

शिर झुकाएर ऊ मौन भयो। हाम्रा कान शून्य भए।

 

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image