• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

Nepali story को अछूत

सन्चै हुनुहुन्छ बुवा ! सुरिलो र मधुरो स्वरको आवाज आयो । भावुक हृदय भएको म कुनै काल्पनिक संसारमा डुबिरहेको रहेछु, झसङ्ग भएँ । जताबाट त्यो आवाज आयो, मेरो मुन्टो उतै फर्कियो । अनि मेरो वैज्ञानिक मनले संझियो कानले पनि देख्तो रहेछ र आँखाले पनि सुन्दो रहेछ । को हौ ? मैले अपरिचित व्यक्तिसँग सोधेँ– चिन्नुभएन कि क्या हो ? म क्या परबिन् । उसका दाडिमका दानाजस्ता दन्तलहर देखिए । उसको शरीरको रङ्ग कालो पनि होइन, गहुँगोरो पनि होइन । कल्स्याउँदो कल्स्याउँदो अझ भनूँ हिसि परेकी काली काली समष्टिमा भन्दा ज्यादै राम्री । मैले बोल्ने बाटो खोजेँ र सोधेँ– के नाम भन्यौ रे– उसले अघिकै नाम दोहोर्याई परबिन् । मैले फेरि सोधेँ– आफ्नो जात त केही बताइनौ नि । उसले नचाही नचाहीकन भनी– परियार । ए त्यसो भए तिम्रो नाम परबिन् परियार हो, होइन त ? उसले पनि हाजीरी जवाफको शैलीमा भनी– ज्यू ss ।

मैले भनेँ ए बहिनी ! सुन त– तिम्रो नाम त प्रवीणा दमै हो । तिम्रो नामले के जनाउँछ भने तिमी आफ्नो काममा सिपालु छौ । दमिनी तिम्रो जातको सङ्केत हो– मङ्गलमूर्ति, सगुनको जात । माङ्गलिक गीत गाउने दमैलाई म औधी रुचाउँछु । कुनै साइतको सम्मुखमा दमै देखियो भने साइत जुर्छ रे । त्यसैले म मेरो साइतमा कुनै न कुनै दमै आइदिए हुने थियो भन्ने चाहन्छु । हिन्दूहरू त मङ्गलकार्यमा दमैलाई बाजा बजाउन लगाउँछन् । उनीहरूलाई अगाडि अगाडि हिडाउँछन् । मैले फेरि भनेँ– तिमी अब प्रवीणा दमिनी भएकी छौ । आफ्नो नागरिकताको प्रमाणपत्रमा त्यही नाम राख है । मङ्गलको नाम, साइतको शुभनाम ।

यसरी मैले उसलाई संझाउँदै थिएँ, उसका आँखा भने केही पर बसेका तीनवटा नानीहरूमाथि परेको देखेँ– अब हाम्रा आँखा पाँचजोर भए । तीनवटा छोरीहरूकी आमा यस दमिनीलाई मेरो आँखाले के देख्यो भने यो आइमाई त डमरुहरूकी आमा त्यो इखालु बघिनी हो, जसले आफ्ना बच्चालाई आहारा बनाउन खोज्ने बाघबाट बचाएकी छ ।
मैले भनेँ– ती तिम्रा छोरीहरू हुन् र ? हुन् हजूर ! मैले दुःख पाएकी छु । घर पनि छैन, वर पनि छैन । हातमुख जोर्ने यही थोत्रो मेशिनमात्र हो । च–चार जनाको परिवार छ । हजूरको यो छाप्रो पाए डेरा गरी बस्ने थिएँ, उसले मेरो भैँसीगोठ देखाई । उसको स्वर रुन्चे रुन्चे भयो, आँखामा डबडब आँसु देखिए, गाला राता देखिए तर दुःखको समयमा पनि ऊ त झन् झन् राम्री देखिई । यतिखेर मेरो कवि हृदय पनि कालिदासको जस्तै भयो – उनले शकुन्तलालाई रूखको बोक्रा लगाउँदा पनि राम्री नै देखेका थिए र भनेका थिए ।

सरसिजमनुविध्दं शैवलेनापि रम्यम् ।
मलिनमपि हिमांशो र्लक्ष्म लक्ष्मीं तनोति
इयमाधिकमनोज्ञा वल्कनेनापि तन्वी ।
किमिव हि मधुराणां मण्डनं नाकृतीनाम् ?

“अर्थात् शेवालले ढाकिए तापनि कमलको फूल राम्रै हुन्छ, कालो दाग देखिए तापनि चन्द्रमा पनि राम्रै हुन्छ, रुखका बोक्रा लगाए तापनि शकुन्तलाको शरीर पनि राम्रै छ । जो आफैमा राम्रो छ भने उसलाई बाहिरी आवरणको खाँचो नै पर्दैन ।”

मैले भनेँ म घरसल्लाह गरुँला, अहिले जाऊ । प्रवीणा गइसकेपछि मैले मेरी गृहिणीसँग परामर्श गरेँ र भनेँ– हेर गृहपत्नी ? अहिले हाम्रो भैंसी पनि छैन, गोठ खाली नै छ । बिहान आएकी ती दमिनीले बास मागेकी हुन् । दिऊँ है ? यो सगुनको जात, हाम्रो पनि साइत पर्ला ।

मेरी बुढियाका धेरै गुण छन्, तर उनको दुर्गुण भनेकै उनले बोकेको रूढिबूढी र अन्धविश्वास हो । हामी दम्पती नजिक भएर पनि धेरै टाढा भएको नै यसै पक्षले हो । हुन पनि त्यही भयो, जुन कुरो मैले आशङ्का गरेको थिएँ । उनले भनिन्– हरे ! के भएका यी बूढा ! अब अछूत दमिनीलाई घरमा ल्याउने रे । मैले भनेँ ७० वर्ष अघि नै छुवाछूतप्रथाको अन्त्य गरेको छ मुलुकी ऐनले । तिमीले जुन वैदिक धर्मको आधारमा छुवाछूतको कुरा गछ्र्यौ नि, त्यो कुरा गलत हो । वेदमा जातभातको कुरा छैन, छुवाछूत सम्बन्धी कुरा छैन । वेदले सबै प्राणीलाई बराबर देख्छ भने पछिल्ला स्मृतिहरूमा मात्र यस्ता अनाचारका कुरा लेखिएका छन् । जुन कुरा वेदका प्रतिकूल छन् । मैले आफूलाई देखाउँदै भनें– मलाई तिमी साम्यवादी भन्छ्यौ नि, हो म साम्यवादी हुँ वैदिक साम्यवादी, जसले जातभात, छुवाछूत मान्दै मान्दैन । तिमीले गीता पाठ गछ्र्यौ नि गीतामा लेखिएको छ– “विद्याविनयसम्पन्ने ब्राहमणे गवि हस्तिनि । शुनि चैव श्वपाके च पण्डिताः समदर्शिनः (अर्थात् विज्ञहरूका विचारमा विद्वान्, ब्राह्मण, गाई, हात्ती, कुकुर वा चाण्डाल सबै बराबर हुन् ।) अब हामीले पनि सबै जातलाई एउटै जाति मान्नुपर्छ– मानव जाति । त्यसैले तिमीले प्रवीणाले गोठलाई कोठा बनाउँछिन् भने देऊ । अब त तिमीलाई पञ्चकन्या खोज्न पनि टाढा जानु परेन– प्रवीणाका तीन छोरी र तिम्रा दुई नातिनी छन्– ‘पञ्चकन्यां पूजेत् नित्यम्’ भन्छन् तिमीलाई पनि सजिलो भयो । तिमीले पनि आफ्नो खुट्टाले नै बाँच्न चाहन्छ्यौ भने म मेशिन किनिदिउँला– प्रवीणालाई गुरुदक्षिणा दिएर लुगा सिउन सिक, हुँदैन र ? मैले अन्तर्दिलका कुरा राखेरै भनेँ प्रवीणालाई डेरा दियौ भने तिमीलाई छुवाछूतविरोधी नारी, मानवधर्मकी खानी र आत्मनिर्भर भएकी स्वाभिमानी भनेर समाजले सम्मान गर्छ, बुझ्यौ ।

मेरो दीक्षान्तले उनलाई के प्रभाव पा¥यो कुन्नि, उनको प्रतिक्रिया नआउँदै श्यामे कामी– सर ! नमस्कार’ भन्दै आइपुग्यो । म उसलाई साह्रै श्रद्धा गर्छु– किनभने ऊ सबैको साहारा हो । म उसलाई विद्वान् भन्छु । विद्वान् भनेको जान्ने सुन्ने मानिस हो । विवेक र विनय नभईकन विद्वान् भइन्छ र ? ऊ जान्ने सुन्ने मान्छे हो । उसको आरानमा करुवा बन्छ फाली बन्छ, कुटो कोदाली बञ्चरो, आँसी चुलेँसी लगायतका सारा औजार बन्दछन् । ऊ साँच्चै नै विश्वकर्मा हो । श्यामे फलाम पिट्छ उसका शरीरबाट खलखली पसिना आउँछ । आरानमा काइला खेलाउँदा, खेलाउँदा उसका अङ्ग प्रत्यङ्ग काला छन् आगाले पोलेका खत कति हुन् कति छन् । त्यसैले, उसलाई काले कामी, कामी काले भनिन्छ । हो, ऊ बाह्य दृष्टिले कालो छ, तर सारा समाजलाई साहारा दिने ऊ शुभ छ उज्यालो छ । त्यसैले म उसलाई विद्वान् भन्छु । हिजोआज विद्वान् शब्दको अवमूल्यन भएको छ । अर्थापकर्ष भएको छ । स्कूल कलेजमा पढेका र कागजी प्रमाणपत्र लिएका परावलम्बीहरूलाई विद्वान् भनेको पाइन्छ । आफूले सिकेको सीपले स्वावलम्बी बन्न नसकेर प्रमाणपत्र लिएर ढोका चाहारेर हिँड्ने व्यक्तिलाई विद्वान् भनिन्छ कस्तो विडम्बना हकि ?

श्यामे कामीलाई देख्नासाथ शास्त्रज्ञ ठान्ने धर्मभीरु मेरी बुढियाको पुर्पुरो तात्यो । महावाक्य फुर्यो । असती बूढो ! म बूढीले गाईको गोबर माटाले लिपेको आँगनमा बिहानबिहानै अछूतीलाई ल्याउँछ र भाषण गर्छ । त्यसैले त यस्ता असतीलाई कहिल्यै पुग्दैन, सधैँको पुगेस् पुगेस् । धर्म÷कर्मको चेष्टा छैन, पापपुण्यको ख्याल छैन जातभात के हो ? जानेको छैन । कमरेड मदन भण्डारीको टुँडिखेलको धाराप्रवाह भाषणजस्तो उनको भाषणको रफ्तार अझै बढ्थ्यो होला, तर बढ्न पाएन किनभने हामी बसेकै ठाउँमा उनले भान्छामा पकाएको तरकारी डढेको गन्धमात्र आएन कि पुतपुत्ती धुँवा पनि निस्क्यो ।

श्यामे कामी, डकर्मी पनि हो, सिकर्मी पनि हो, उसले नै मेरो झ्याल ढोका बनाएको हो घरको गारोलगायतका प्लाष्टर गर्ने काम पनि उसैले गरेको हो । त्यसैले उसलाई यस घरको माया छ । प्रायः ऊ मलाई भन्ने गर्छ– यसो गर्न पाए कसो होला ? सर !, म तपाईँको हितैषी नै हुँ क्यारे सर, तर मेडमले मलाई देख्नासाथ अलि रूखो स्वभाव देखाउनु हुन्छ, किन होला ?

श्याम जानासाथ मेरो मनमा कुरा खेल्छ । यो श्याम मलाइ सधैँ सल्लाह दिन्छ, पैसो लिन्छ, पैसा लिनु पनि प¥यो नि, लिनै पर्यो, न घस्याईकन त गोरुले जोत्न पनि सक्तैन । बाँच्नैका लागि खानुपर्छ । ऊ भन्छ– आज जाडो छ सर ! यसो तातो गर्न पाए हुन्थ्यो । म उसलाई सय, डेढ सय रुपियाँ दाम दिने गर्छु । श्याम आफूसहित ६ जना परिवारको मुख्य मान्छे हो । उसको मूल सम्पत्ति भनेको एउटा डल्लो मस्तिष्क र उसका दुइटा पाखुरा हुन् । उसकी स्वास्नीलाई पाउनु र हुर्काउनुमा नै ठिक्क छ । श्यामलाई कहिल्यै रुघाखोकी लाग्नु हुँदैन । चिसोतातो हुनुहुँदैन । कतै चाडबाड बिहे बटुलो हुनुहुँदैन । उसले दिनभर काम नगरे जहान परिवारले कसरी हातमुख जोर्ने ? यही छ पिरालो ।

श्यामको दिनचर्चाले र प्रवीणाको बिलौनाले दिनभरजसो मलाई खसखस खसखस लागिरह्यो । बिहानै डेरा खोज्न आएकी प्रवीणा भरे पनि आउँछे कि आउँदिन । आज श्याम किन आएको हो, केही पनि भनेन कि ता उसलाई मेडमको रुखो बोलीले घोच्यो, यस्तै यस्तै के के सोच्दै थिएँ यसै बेला कुन्नि कताबाट मेडम आएर धीर भएर बस्तै भनिन्– के छ त नि पण्डित बाजे ! मेडमले मलाई गरेको पहिलो सम्बोधन हो यो । आज उनी जति धीर छन् त्यति धीरता मैले अघि कहिल्यै पनि देखेको थिइनँ । मैले धेरै बेरसम्म गम खाएको देखेर उनले भनिन्– मान्छे एक्लै बस्नसक्दो रहेनछ । उसलाई समाजसँग बस्नै पर्ने बाध्यता छ । समाजमा एकले अर्काको निन्दोचर्चो गर्दो रहेछ । नाकनिक गर्दो रहेछ । थोरै होचो अर्गेलो भइहाल्यो भने पनि तिललाई पहाड बनाउँदो रहेछ । परबिन् मलाई मन पर्छे । मलाई त उसको हिस्सी परेको अनुहार हेरूँ हेरूँ लाग्छ । बोलीवचन पनि उस्तै मीठो लाग्छ । झन् ऊ त सगुनको मान्छे, मन नपर्ने कुरै भएन । तर उसको एउटै बैगुन छ– ऊ अछूत जातकी मान्छे हो श्याम पनि त मलाई उत्तिकै मन पर्छ । मलाई मीठो स्वरले मेडम भन्छ । उसको स्वरले पनि मलाई आनन्दित बनाउँछ । ऊ कामकाजको मान्छे, ऊ आफू सुकुम्बासी हो । उसले कति धेरै घर बनाएको छ, तर उसको भने बास बस्ने ठाउँ नै छैन । घर बनाउँछ एउटा, बास बस्छ अर्को । म उसलाई यहीँ बस त नि भनूँ भनूँ लाग्छ, तर त्यसो भन्न सक्दिन कस्तो विडम्बना । श्यामेको पनि एउटै बैगुन छ– उसको पानी चल्दैन रे, अनि मैले मेडमलाई भनेँ, तिमीले लगाएको चोलो सिउने व्यक्ति प्रवीणा नै होइन ? प्रवीणाले छोएको चोलो लगाउने भएकाले तिमी पनि त अछूतो भयौ नि, श्यामे कामीले अर्चापेको चुलँसीले काटेको तरकारी तिमीले कसरी खान्छ्यौ हँ ? तिमी पनि त अछूत भयौ नि होइन र ?

बूढियाका गहभरि आँसु देखेपछि मैले भनेँ– ए ! बूढिया, अन्धविश्वास र रूढीबूढीको एउटै जड हो– अज्ञानता । प्रवीणाले र श्यामले जीन्दगीभरि अर्कैको छानामुनि बस्नु परेको पनि एउटै कारण हो, ‘परम्परागत शोषणको पराकाष्ठा, यसको अन्त्य हुनैपर्छ । समाजबाट अछूतलाई बहिष्कार गर्नैपर्छ भन्ने कुरो साँचो हो । किनभने अछूत भनेको फोहोरी काम हो, जात होइन । पानी पनि त्यस्तै हो, वास्तवमा पानीको विकल्प छैन । समाजबाट पानी हटक गर्नैपर्छ, जसले पानीमा फोहोर गर्ने काम गर्छ । म पनि तिम्रो पूजाआजामा धक्का दिन्नँ । तर तिमीले पूजा गर्ने देवता हो– मानव । प्रवीणालाई डेरा देऊ, मानवताको पूजा भयो । श्यामलाई आद्यान्न देऊ, उसको लागि यही नै देवताको नैवेद्य हो । तिम्रो गहभरिको आँसुको म पनि पूजा गर्छु किनभने मेरो विचारमा यो आँसु मानवता पग्लिएको पावन घिउ हो । जो सधैँ सबैका लागि अनुकरणीय हुन्छ । अन्यथा तिमी नै अछूत हौ । लौ भन त को अछूत ?

 

►NEPALI JOKES HUSBAND WIFE JOKES

NEPALI JOKES शेरेको तपस्या

NEPALI STORY के चिकित्सकहरू कमिसनकै लागि यस्तो गर्छन् त

HINDI STORY तुम्हारे कुछ नही से ही इस घर के सारे सुख हैं

NEPALI KATHA यमलोकमा जिउँदो मान्छे​

GHAR JAGGA WANTED AVAILABLE FOR RENT SALE

NEPALI JOKES TEACHER AND STUDENT​

JOB STAFF WANTED AVAILABLE IN NEPAL

NEPALI STORY भाँडो​

NEPALI STORY आँधी, बाढी र महामारी

14FEB VALENTINES DAY KO LOG  KYA KARTE HAI KI 14 NOV KO "CHILDREN DAY" MANANA PADTA HAI

सुनोजी सर्कस 🤡 देखने चलते है, सर्कस में एक लड़की 👩 बिना कपड़ों 👙 के शेर 🦁 की सवारी करती है ।

►DAM TRIANGLE INDIA TOUR PACKAGE दिल्ली, आगरा अनि मथुरा टूर मात्र नेरु 15999/-*

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image