२०६० औं बुद्धजयन्ती अवसरमा दुई दिने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौंमा सुरु भएको छ। २८ देश सहभागी रहेको सम्मेलनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नेपाली भूमिमा बुद्धको जन्म हुनु र बौद्ध शिक्षाको प्रतिपादन थलो हुनु नेपालीका लागि गौरवको विषय भएको उल्लेख गरे। पूर्वीय सभ्यता कुनै बेला विश्वकै सम्वृद्धि रहेको स्मरण गर्दै उनले नेपाली भूमिमा जन्मेका बुद्ध एशियाको मात्र नभई विश्वकै ज्योति भएको उल्लेख गरे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्द पोखरेलले बुद्ध जन्मस्थल नेपाल हो र बुद्ध विद्याको पादुर्भाव यहीँबाट सुरु भएको हो भन्ने तथ्यलाई उजागर गर्न अन्तर्राष्ट्रिय सम्मेलनले सहयोग पुग्ने विश्वास व्यक्त गरे। सम्मेलनमा चीन, भारत, श्रीलंका, थाइल्यान्ड, अमेरिका सहित २८ देशबा प्रतिनिधि सहभागी छन्। भारतबाट पूर्व विदेश सचिव ललितमान सिंह नेतृत्वको १२ सदस्यीय टोली सम्मेलनमा सहभागी छ। उद्घाटन सत्रलाई भारत, चीनका प्रतिनिधिले सम्बोधन गरेका छन्। सम्मेलन केन्द्रमा चिनियाँ राष्ट्रपति सीको ब्यानर प्रदर्शन सम्मेलनमा सहभागी हुन २६ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल काठमाडौं आएको छ। चीनबाट आएको इन्टरनेशनल पिस कोअपरेसन नामक संस्थाले सम्मेलन स्थलमा चिनियाँ राष्ट्रपति सी जिङपिङको तस्विर अंकित ब्यानर प्रदर्शन गरेको छ। ब्यानरको एक भागमा राष्ट्रपति सीको तस्विर प्रिन्ट गरिएको सो ब्यानरको अर्को भागमा भगवान् बुद्धको कलात्मक चित्र बनाइएको छ। सोल्टी होटलको मेघा मल्हार हलबाहिर आगन्तुकहरुका लागि एलइडी डिस्प्लेमा हेर्ने व्यवस्था गरिएको ठाउँ वरिपरि चिनियाँ भिक्षुहरुले सो ब्यानर प्रदर्शन गरेका थिए। उनीहरुले सो खुला क्षेत्रको चारै कुना घुमीघुमी ब्यानर प्रदर्शन गरेका हुन्। 'चिनियाँ राष्ट्रपति सी बुद्धका सन्देशलाई उच्च आदार गर्नुहुन्छ', इन्टरनेसनल पिस कोअपरेसनका निर्देशक साईजाईजु कोङले नागरिकन्युजसँग भने, 'सुख शान्तिका लागि बुद्धले देखाएको मार्ग सबै मनुष्यका लागि लाभकारी छ।' सम्मेलन केन्द्र परिसरमा बुद्धसम्बन्धी चिनियाँ आर्ट प्रदर्शनी पनि राखिएको छ। दुई दिनसम्म चल्ने सम्मेलनमा १८ अन्तर्राष्ट्रिय तथा ६ नेपाली बौद्ध विद्वानहरुले कार्यपत्र प्रस्तुत गर्नेछन्।