‘लक कार्गील’ लागेको थियो । कार्गिलमा पाकिस्तानी सैनिकहरुसंग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरु र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरु पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले खुब चर्चा पाएको थियो, यद्यपि ती सबै भारतीय स्वाभिमानसंग जोडिएर प्रस्तुत गरिएका थिए । हाम्रा जातीय स्वाभिमानका प्रश्नहरु त केवल मेचीपारिका नेपाली छातीभित्र र तिनले कोर्ने साहित्यमा मात्र सिमित थियो । घाम धेरैमाथि आइसकेको थियो, सबेरै कालिम्पोंगका साँघुरा बजारमा उभिएका सटरहरुले आँखा खोलिसकेका थिए । बिहानै चिन्मयको पसलमा एउटा गीत सुनियो बस इतना याद रहे एक साथी हिजो साँझ अबेरसम्म खुब रमाइलो गरियो, रेली खोलाको किनारमा । केही समयदेखि दिनदिनै पिकनिक चल्न थालेको थियो हाम्रो । ७÷८ जना भेला भयो, गाडी रिजर्भ ग¥या एकतिर कु¥यो । बिहानसम्म ह्याङगओभरले छाडेको थिएन, आज अर्को दिन सुरु भैसकेको थियो, कहाँ जाने र के गर्ने ? प्लान तय भएको थिएन । प्रमुख योजनाकार बिहानदेखि देखिएन, मैले सोधें, आज ’कविन’ खै त ? आज भने उ एउटा काममा व्यस्त हुने भयो । हाम्रो योजनाहरुको सुत्रधार हुन्थ्यो कविन । ल यसो गरुँँ भनेपछि तुरुन्त चाँजोपाँजो मिलाईहाल्थ्यो । आधा कालेम्पोंग बस्थ्यो आधा काठमान्डू । ”बोर” लागेको भए सिनेमा हेर्नजाम न त ? संगै उभिएको समीरले भन्यो । बोर त एक महिना अघि काठमान्डू छँदा लागेको थियो मलाइ । त्यो भिडभाड र उच्चाटलाग्दो दैनिकीबाट फुर्सद निकालेर कतै पर जाउँ, लामो समय बिदा मनाउन निस्कुँ । भारतको पश्चिम बंगालस्थित दार्जीलिंग जिल्लाको कालिम्पोंगमा थिएँ म, नेपाल बाहिरको नेपाल । जीवन यात्राको सिलसिलामा कहिँ कतै भेटिएर घनिष्ट हुनपुगेका यी तिनै साथीहरु थिए, जसलाई काठमान्डूका गल्लीगल्ली घुमाएको थिएँ मैले । स्वयम्भुमाथि चढेर उपत्यका नियाल्दा होस् या साँझ परेपछि ठमेलका गल्लीहरु चक्कर लगाउँदा, हामी त्यसताका सधै संगै डुल्ने साथीहरु थियौं । नगरकोटदेखि थानकोट वा दामनसम्म धेरै घुमघाम, भेटघाट र पिकनिकको आयोजना गरेको थिएँ मैले त्यो प्याङसंग । आज पैचो फर्काउँदै त्यही प्याङ मसंग कालिम्पोंग घुमिरहेको थियो । पहाडमा उभिएको, फुलैफूलले सजिएझैँ यो बस्ति, बजार र सबै आफ्नै जस्ता लाग्ने नेपालीभाषी नेपाली अनुहारहरु । यस्तो प्रतित हुन्थ्यो, यो बस्ती मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु । बजारको टाउको जस्तो बनेर बसेको दुर्पिनडाँडामाथि उक्लनु, टिस्टा रंजित फाँटहरु नियाल्नु वा उत्तर पश्चिम क्षितिजतिर फैलिएको मनोरम कन्चनजंघाको लहर हेरेर घन्टौं रोमान्चित हुनु र कुनै कविता कोर्नु, कालेम्पोंग सम्झनाका झल्याकझुलुकहरु हुन् यी । स्मृतिको त्यस खण्डमा विशेष गरी धर्म र शान्तिका मन्त्रहरु गुन्जिरहने पुराना बौद्ध गुम्बाहरुको संगीत पनि मिसिन आइपुग्छन । मुभी हेर्नजाने मुड भएन, त्यसै पनि अरुको स्वाधिनतामा हस्तक्षेप गर्ने देशको राष्ट्रवादी फिल्म । जब ठाउँ ठाउँ देशका सिमाहरु मिचिएको खबर फैलन्छ ÷नेपाली भूभाग खोसिएका, ताछिएका समाचारहरु बारम्बार सुनिन्छ ,अझ वितृष्णा बढेर आउँछ यो देशप्रति । अनि जब हृदयका स्पन्दनहरुमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरु भेटिन्छन, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरि एकपटक बेस्सरी दुखे जस्तो लाग्छ । जोस्फिन राई, पश्चिमाजस्तो लाग्ने नाम । उसंगको मेरो एउटा रमाइलो घटना म विशेषगरी सम्झन्छु । ‘कृष्ण तिमी कसैलाई प्रेम गर्छौ ?’ एकदिन धोबिघाटको एजम्पसन चर्चबाहिर उनले प्रश्न गरिन् । मैले भने, ’पहिले आफूलाई र त्यसपछि भगवानलाई’ त्यसबाहेक कुनै आइमाई मानिस नि ?’ उनले भनिन् । ‘अहँ’ मैले जवाफ फर्काएँ । फेरि सोधिन् ‘कल्पना त गरेका होलाउ नि ?’ मैले भनेको थिएँ, ‘कल्पनामा त कोही मान्छे थियो, तर उनको विवाह अन्तै भैसकेको छ ।’ त्यसपछि एउटा प्रश्न गरेर उनले लामो प्रवचन दिइन, त्यो म सधै सम्झन्छु । प्रश्न चाहिँ यस्तो थियो ’प्रेम, मनमा हुन्छ कि मन्दिरमा हुन्छ ?’ यतिखेर ऋषि रोडको पिर्जा हटमा उनै जोश्फिन हामीसँग थिइन् । हाम्रो कुराकानी हुँदै गर्दा ललिता, पुष्पा र बुद्ध पनि आए । ‘यो जनवरीभरि तिमी यतै बस्छौ नि ?’ जोस्फिनले मलाई प्रश्न गरिन् । ‘जनवरी मात्र हैन, फेब्रुअरीको दोस्रो हप्ता पनि उ कतै जाँदैन, के छ तेरो विचार ?’मैले बोल्नुपुर्व समिर आफैँले थपिदियो । ‘म पनि त छु, के तिमीले मलाई चाहिँ मान्छे नदेखेको ?’पुष्पा जिस्किई । दुर्पिन डाँडा जाने बाटोमा थियो पुष्पाको घर, ‘आज सबै उतै जाने’, प्रर्ताव पारित र निर्ण एकैसाथ भयो । अलिकति उकालो लागेपछि गौरीपुर हाउस आउथ्यो । प्रसिद्ध नोबेल पुरस्कार विजेता, भारतीय विख्यात साहित्यकार रविन्द्रनाथ ठाकुरको कालिम्पोंग स्थित घर । शायद उनी यस शान्त भेगमा भ्रमण गर्न यहाँको मनोरम प्राकृतिक सौन्दर्य नियाल्न धेरै पटक पहिलेदेखि नै आएका थिए र बुढेसकाल व्यतित गर्न यो घर बनाएका थिए । उनले यहाँको शितल हावाले स्फूर्ति भरेर कति मिठा कविताहरु पनि कोरे होलान । ७७ औं जन्मदिवसमा उनले यसै घरबाट ‘जन्मदिन’ शिर्षकको कविता अल इन्डिया रेडियोमा प्रत्यक्ष प्रसारण गरेर मनाएका पनि थिए । गौरी हाउसनेर पुगेपछि हाम्रो बहसले शिर्षक पायो ः प्रेम र मित्रता । जोस्फिनले यसै बिषयमा एउटा सानो र रमाइलो दृष्टान्त पनि सुनाइन, ’आफूसंगै आइरहेको मित्रतालाई देखेर प्रेमले सोधेछ– मेरो पछि पछि तिमी किन आइरहेका छौ ? मित्रताले भन्यो– प्रेम, तिम्रो भर छैन, तिमीले त धोका दिन सक्छौ, आसु र घात पनि दिन सक्छौ, हो त्यो बेला तिमीले छाडेर गएका आसुहरु पुछ्न म त्यहाँ हुनेछु ।’ तर हामीमध्ये कसैलाई थाहा थिएन, प्रेमले छाडेका आँसुहरु पुछ्ने मित्रताका ती हातहरु कतिञ्जेलसम्म हामीसंग रहन्छन । मित्रताको साथ रहने अबधि, हद या सिमाना कतिसम्म हो ? यो प्रश्नको उत्तर कसैसंग थिएन– ‘मित्रताको आयु कति हुन्छ ? ”म साहित्यमा रुचि राख्छु उनीहरुुलाई थाहा छ, भारतीय नेपालीको नाताले नेपाली साहित्यमा उनीहरुको पनि झुकाव छ । गोर्खाल्यान्डको परिकल्पनामा यहाँको राजनीतिवृत्त आजपर्यन्त संघर्षरत छ । पश्चिम बङ्गाल राज्यको यो दार्जिलिंग कालिम्पोंग क्षेत्र उन्नाइसौं शताब्दीपूर्व क्रमशः भुटान र नेपालको अधिनमा रहँदै आएको थियो । यसर्थ पनि उनीहरुको साहित्यमा प्रवासी पीडाहरु प्रशस्त लेखिएका छन । ”धेरै दिन भो, खै त यार, तिमीले केही लेखेका छैनौ आजकल ? कथा कविता लेखी बस्थ्यौ त ?””अहँ मैले प्रेम दिवसलाई साँचेको.. त्यही दिन सुनाउँला ।” अब ठट्टा गर्न पालो मेरो थियो । हो, मैले केही लेखेको थिइनँ, त्यतिकै मन चंचल भैरहेको हुन्थ्यो । लेखनीका ड्राफ्टहरु या मनमा सलबलाएका भावनाहरु साँझको मादकतासंगै घुलेर जान्थे । त्यस दिन भने फर्कपछि मैले डायरीमा एउटा कविता लेख्न बसें – ’मित्रताको आयु’ । तर त्यो कविता पूरा भने भएन । त्यसको केही दिनपछि कविन र म सिक्किमतिर लाग्यौं । आज मुश्किलले एक दशक पनि भएको छैन, जिन्दगी बगेर धेरै पर आइपुगी सक्यो जस्तो लाग्छ । समयक्रमसंगै हामीले थाहा पायौं, नदीको बहावजस्तै यो एउटा स्वाभाव रहेछ जीवन यात्राको । असंख्य नयाँ परिचय थपिदै गयो । साथीहरु कति भेटिए, कति छुटिए तर मित्रताको त्यो आयु ? मित्रताको आयु कति लामो हुन्छ ? यसको उत्तर त मसंग आज पनि छैन । तर सम्झनाको उमेर भने जुनी जुनीसम्म हुँदो रहेछ, समयले मलाइ यस्तै सिकाएको छ । मनको किताब फिँजाएर आज विगतका पानाहरु पल्टाउन बसेको छु म ..यतिबेला भन्न मन लागेको छ – ए सम्झना ! मेरो उमेर लिएर तिमी हजार बर्षबाँच ।