• Follow Us on:
  • Facebook Logo
  • Tweeter Logo
  • linkedin logo

Hindi Nepali Stories

मर्यादाहीन

जुम्रा मार्दै गरेकी तरुनी हाँसी। माथि काछसम्म उचालिएको धोतीले गर्दा नाङ्गिएका उसका तिघ्रामा कुनै अश्लीलता थिएन। धोती उसले जुम्रा मार्न उचालेकी थिई। यसरी नै दिनहुँ म यो बाटो हिँड्छु तर यो माग्ने तरुनीले आजै हो धोतीका जुम्रा मारेकी। हुनसक्छ, अरु दिन पनि मार्दी हो तर मैले स्वास्नीलाई माइत पठाएदेखि यता देखेको आजै हो। र ऊ मतिर हेरेर हाँसेकी थिई। दिनहुँ म हिँड्ने बाटोको छेउमा डेरा जमाएर माग्न बस्ने गर्नाले उसले मलाई अनुहारबाट चिनेकी होली। र म चाहिँ पनि सँधै त उसको वास्ता नगरी जाने आउने गर्थेँ। तर उसको यसरी धोती उचालाइबाट देखिएका पुष्ट काला तिघ्राले गर्दा म स्वास्नी सम्झेर तिर्खाएको हुँला र नै त मैले उसतिर कसरी हेरेको थिएँ। अनि ऊ हाँसेकी थिई। के भने त्यतिञ्जेल उसका तिघ्रामा डाम्मिन पुगेको मेरो हेराइमा उसले कुनै अनौठो तापको तरलता देखेकी होली। तर साँच्ची मलाई त्यतिबेलै उसका पोटिला तिघ्राभन्दा यता उसको जुम्रा मराइ र फोहोर पहिरनले मनमा चोपट्टै घिन छचल्काइदिएको थियो। मानौँ अश्लीललता ठ्याक्क त्यै नै हो। अकस्मात् जस्तै, भलै तपाईँलाई यो उपमा राम्रो नलाग्ला तर यहाँ यसभन्दा राम्रो उपमा मैले अर्को पाइनँ, के भने कुकुरहरुको समागम देखेर तपाईँभित्र एक्कैछिन भए पनि उस्तो इच्छा जाग्छ, तर तत्क्षण नै तपाईँ परिवेशप्रति सजग हुनाले त्यस दृश्यलाई घीन माने जसरी हेर्न बाध्य तुलिनु हुन्छ…वा मनैदेखि संस्कारगत गोपनीयता भङ्ग भएकोमा तपाईँ कुकुरहरुप्रति लजाउनु हुन्छ, त्यस्तै। तर कतै अन्तरमा तपाईँभित्र लालसा जागिसकेको हुन्छ, हैन ? तर धोती उचालेरै ऊ हाँसेकी हुनाले माग्ने तरुनीको हाँसोका मसिना खित्कामा उपहासको बिख मिसिएको थियो। उपहास, त्यै पनि उमेर पुगेकी तरुनीको नपुसंकको लागि समेत असह्य हुन्छ। म बैलो थिइनँ। त्यो यौटा हाँक पनि हुनसक्थ्यो यदि मैले त्यहाँनिर कुनै अश्लीलता नथोपरेको भए। तर अहिले त्यो भैदिएन, के भने मैले उसको धोती उचाल्नुमा कुनै अश्लीलता देखिनँ, त्यो यौटा स्वाभाविकता भैदियो। तैपनि एउटा हद नाघ्न जुर्मुरिएको लालसा मभित्र चुपचाप फुटिसकेको थियो। र मलाई स्वीकार्नु नै पर्यो भने म प्रष्ट गरेर के भन्ने छु भने त्यस तरुनीको हाँसोको बिख मलाई लागेको थियो। पुष्ट मांसलको मादकता। तर ऊ अहिले असाध्दे खुला भएकी छ। यस सडकको छेउमा अनि त्यस्तो गर्न सकिँदैन र ज्यादै गाइएको गीत सस्तिए झैँ छ उसको क्रिया। तर सडक भन्नाले म यहाँ अर्कै एउटा स्थितिको कुरा गर्न चाहिरहेछु। यो यस सहरको हाट लाग्ने जुन ठाउँ हो यस बजारभन्दा अलि तल तर गोदामजस्तो सिनेमाघरभन्दा धेरै नजिकमा थियो। आज बजार लाग्ने दिन थिएन र मान्छेहरु थिएनन्। त्यसैले म आज यस माग्ने तरुनीलाई राम्ररी हेर्नसक्छु। चाहे जति। बजार लागेको दिनमा त यो तरुनी न यहाँ हुन्छे न म नै यसप्रति सचेत हुन्छु। सचेत म अहिले पनि भएको थिइनँ। केवल उसले धोती उचाल्नाले यस्तो भएको हो। यदि ऊ बूढी भएकी भए म थुकेर हिँड्ने थिएँ। वा यहाँ एउटा कुरा सम्झन सकिन्छ के भने सम्पन्न वर्गका थल्थले बूढी आइमाईहरुमा एउटा सेक्सी आकर्षणको लेप हुन्छ तर त्यो ती गरीब बूढी आइमाईमा हुँदैन। अनि ऊ तरुनी छे र उसको हाँस्ने आदत छ। हँसाइमा आदत कम हाँक ज्यादा थियो। यहाँनिर अश्लीललता घुस्रिन पुगेको नभए म अर्कै रुपमा विचार्ने थिएँ र एकै छिन भए पनि रोकिएर त्यस तरुनीसँग ठट्टिने थिएँ। यस्ता कुरामा मलाई कसरी कसरी राम्दीघाटका थकाल्नीहरुको सम्झना हुन्छ जहाँ बस ट्रकका ड्राइभर कण्डक्टर क्लिनरहरु खारिएर ठट्टिन्छन्। त्यो सम्झना असाध्य सकसकीलाग्दो हुन्छ। आज पनि ऊ उसरी नै हाँसेकी छे। तर मलाई हेरेर हैन, उसले हाँक उपस्थित गर्न अर्को माध्यम अपनाएकी छ। उसको छेवैमा सेतै फुलेको यौटा बूढो पल्टेको छ। कोल्टे परेर पल्टेको छ तरुनी चाहिँ उसको ढाडपट्टी माझमा छे। बूढाको जिउमाथि दुइटा परेवा सहज बसेका छन्- शान्त। अनि उसले बूढाको कपालमा औँला छिराएर टाउको मुसार्न थालेकी छ। बूढो चाहिँ दुखेको ठाउँमा मालिस गरिएको आनन्द भोग्दैछ। बूढोमा आनन्द भोग्ने लालसा मात्रै होला, आनन्द खोज्ने उत्तेजना र साहस छैन। यदि म उसको ठाउँमा त्यहाँ हुँदो हुँ त त्यस तरुनीलाई अझ हँसाउने थिएँ। उसको हाँसोको बिख झारिदिने थिएँ। अनि उल्टै उसभित्र मन्दविषको उन्माद भरिदिने थिएँ। तर कुरा छ अश्लीलताको र सहज हुनुको। हिजो जसरी नै अश्लीलता तरुनीका तिघ्रामा टाँस्सिएको छैन बरु आज अश्लीलता मभित्र असहजता भएर अड्केको छ। साँच्चि मांसल मादकताले मात्रै सहज भएर त्यस तरुनीलाई चाहेको भए….। तर तपाईँ त्यस्तो गर्न सक्नुहुन्न, शायद चोरी चोरी हेर्नुबाहेक। किनभने तपाईँ आवरणभित्र बस्न आदी हुनुहुन्छ। हैन ? म यति बेला टाढै छु। त्यस तरुनीले के गर्छे कुन्नि एक्कासि ती दुवै परेवा उड्छन् तर धेरै टाढा हैन, अलि माथि खुलामा, उन्मुक्त पखेटा फट्फटाएर, फेरि उही साबिक ठाउँमा निर्भय बस्छन्, बूढाको दाहिने तिघ्रामा सहजता साथ। त्यो चाल पाएर बूढाले बिस्तारै आँखा खोल्छ। म नजीकै पुगेको छु। ऊ फेरि बर्बराउन थाल्छ आफ्नै तर मैले नबुझ्ने शायद राजस्थानी भाषामा। तरुनी मस्त हाँस्छे। उसको जीउको मादकता छचल्किन्छ। हाँसोमा फेरि उही बिखालु हाँक छ। म त्यहाँ पुगेको हुन्छु। त्यो हाँसो र स्त्रीभङ्गिमा बूढो र म दुवैका लागि हो। बूढोले सुत्यासुत्यै पैसा माग्छ। र तरुनी चाहिँ आँखा नचाउन थाल्छे। अनि कसरी कसरी म फिस्स हाँसेको छु। हाँसेपछि त्यसै खुकुलिन्छु र दस पैसे ढ्याक फालिदिन्छु। मतलब यो थिएन मेरो, के भने पैसा तरुनीतिर फालुँ तर बूढोलाई दिनुपर्ने पैसा कसरी उफ्रेर तरुनीकहाँ पुग्यो, म छक्क पर्दैछु। आज पनि अस्ति झैँ धोतीको किनारको जुम्रा मार्न थालेकी रहेछ। तर मलाई अब उसको वास्ता छैन। वास्ता छैन भन्नुमा मेरो मतलब के हो भने उसका नाङ्गा काला तिघ्राभन्दा अश्लीलताको बोध मभित्र ज्यादै जागेको छ। हिजोको बूढो त्यहाँनिर त्यसरी नै कुनै उत्खननमा पाइएको पुरानो मूर्ति झैँ सहज पल्टेको छ अनि ती दुइटा परेवा मात्र जीवित जस्ता लाग्छन्। बूढो निश्चिन्त भएर निदाएको हुनुपर्छ। त्यस बूढोलाई मेरो अश्लीलताबोधले छुँदैन र त ऊ निश्चिन्त भएर यत्रो बजार लाग्ने फाँटमा लम्पसार सुतेको छ। मैले झैँ चोर आँखाले उसले तरुनीलाई हेर्ने खाँचो पनि छैन। प्रष्ट छ उसले त्यस तरुनीलाई हरेक पक्षबाट चिनेको हुनुपर्छ त्यसैले पनि ऊ तरुनीका मसिना विषाक्त खित्कामा आफ्नो जीतको आभास पाउँदो हो। तर म ! मेरो कुरा बेग्लै छ। यसरी हिँडदाहिँड्दै म त्यस तरुनीमाथि किन हाम्फाल्न सक्तिनँ। यदि हाम्फाल्दिनँ भने पनि किन सहज रुपमा अश्लीलतारहित उसको हाँसोलाई सामना गर्न सक्दिनँ भन्ने प्रश्न महत् भएर उभिएको छ। तर मैले जानेको छु यो तरुनी यदि राति सुटुक्क मेरो डेरामा आएर मसँग सुत्छे भने म तयार छु र तपाईँलाई थाहा नै छ, घरभित्र ढोका थुनेर मात्र मान्छे नग्न हुनसक्छ अनि अश्लीलता फुकालेको कट्टु झैँ यौटा कुनामा थुप्रिन्छ। हैन ?

 

ad imagead image
ad imagead imagead imagead image ad imagead imagead imagead imagead image