शनिबार सबेरै सधैंझैँ ऊ तयार भई । आज बिदाको दिन स्पेसल क्लास छ, —कसैले सोध्नुअगावै उसले प्रत्युत्तर शैलीमा सूचना दिई । सेतो स्वेटरले शरीरको माथिल्लो भाग ढपक्क ढाकी र बिरामी आमालाई बेवास्ता गर्दै घरबाट फुत्त बाहिर निस्किई । मिनीस्कर्टको देब्रे गोजीबाट मोबाइल फोन झिकेर मिस्डकल दिई र योजनामुताबिक सडक किनारमा उभिई । क्षणभरमै मोटरसाइकल सुनामीको गतिमा हान्निएर आयो र उसलाई ठोक्काउँलाझैं गरेर रोकियो । जाडोमा जुका शरीरमा टाँसिएजस्तो उसले आफूलाई मोटरसाइकल सवार अजङ्गको शरीरमा लेपासिई र गन्तव्यतर्फ हान्निई ।
‘जेट क्लब २००० एक्स’ पुग्नुभन्दा २ सय मिटर अगाडि मोटरसाइकलबाट ओर्लनासाथ उसले चुरोट सल्काई र निश्चिन्त तान्न थाली । लिङ्गभेदको चेतनालाई बिर्सिएर अँगालो मारेर निर्धक्क अघि बढ्दा–बढ्दै उसका ओठहरू सँगैको लाठेका ओठमा पलभर टाँसिए तर गति रोकिएन । हेर्दाहेर्दै उनीहरू क्लबमा ओझेल भए । ३८ वर्षको यो उमेरसम्म अविवाहित रहेर परिहासको प्रहारले पीडित पात्र बन्नुको मेरो पीडा र पश्चाताप यो परिदृश्यपछि आनन्द र सन्तुष्टिमा साटियो, किनभने ऊ मेरी छोरी थिइन ।