मलाई धेरैले घृणा गर्थें, अझ बढी त आमाले । गृहकार्य गर्न छाडेर म उठेँ आमालाई खुसी पार्न । दराजबाट कपास र गम झिकेर ल्याएँ । अनि बडो सावधानीका साथ माथिल्लो ओठमा गम दलेर त्यसमाथि कपास टाँस्दै थिएँ । आमा मेरो चियो गर्न आउनुभएछ । उहाँले मेरो कृत्रिम जुँगालाई खुब ध्यान दिएर हेर्नुभयो । म ट्वाल्ल परेँ । त्यसपछि मेरो कपालमा च्याप्प समातेर आमाले मेरो मुखभरि थुकिदिनुभयो । अनि स्वरलाई बुलन्द पारेर भन्नुभयो, “थुक्क ! तँ त कुन दिनमा जन्मिछस् नि ?” “आइतबार !” मलाई अचानक फुर्सुङ्गे बन्न मन लागेछ । तर आमाको अनुहार त झन्झन् कालिँदै गयो । डरले म भाग्न लागेको थिएँ । उहाँले मलाई जोडले समातेर नजिकैको कुचो टिप्नुभयो ।
If You want Advertiese Here mail us at info@advertnepal.com
एक कुचो मात्र मैले के खाएको थिएँ । कसरी कसरी म उहाँको पञ्जाबाट फुत्किएछु, त्यसपछि त भागिहालेँ भ¥याङबाट छिटोछिटो ओर्लिदै सडकतिर । “तँ त बरु गर्भमै तुहिएको भए हुन्थ्यो !” आमाले मलाई सराप्नुभयो । सायद, मैले नपढेर अरू कार्य गरेकाले हुनु पर्छ तर आमाको धारिलो बोली सुनेर मनमा चोट लाग्यो । अनि म हिक्कहिक्क रुन थालँे सडकको पेटीमा बसेर । म अरु साथीहरूभन्दा अलि ढिलो सिक्थेँ सरमिसले पढाउनुभएको कुरा । अनि त मैले कि गाली कि झापड पाउँथेँ । घरमा गृहकार्य गर्न खासै सक्दिनथेँ स्कुलमा पढाएको कुरा राम्रोसँग नबुझेर होला । त्यसपछि आमा सधैँसधैँ यसरी नै उफ्रिनुहुन्थ्यो, “तैँले के पढिस् स्कुलमा हँ ?” आमाको रिसाएको अनुहार देखेर मेरो जिउ पुरै थरथर काम्थ्यो । आमा मलाई घुरेर हेर्नुहुन्थ्यो अनि मेरो दाहिने हात समाती—समाती भर्खर स्कुल जान थालेको बच्चालाई झैँ मलाई पढाउनुहुन्थ्यो । मभित्र लुकिरहेको डरको कारण म फेरि पनि राम्रोसँग किताबमा भएका कुरा सम्झन र सिक्न सक्दिनथेँ । अनि म फेरि आमाबाट दण्ड पाउँथेँ । तैपनि सिँगान पुछीपुछी आमालाई हेर्दै नहेरी म पढ्न लेख्न चाहिँ बसिरहन्थेँ । रिजल्ट प्रकाशन हुँदा जहिल्यै मेरो मार्कसिटमा पाँचवटा जति राता ताराहरू चम्किएका हुन्थे । कोही शब्दले, कोही नजरले त कोही हाँसोले मलाई बारम्बार घोचिरहन्थे । त्यसैले होला पढ्नु भनेको सरमिस र आमालाई खुसी पार्ने काम जस्तो लाग्न थालेको थियो मलाई । म कसरी अभिनय र ख्याल ठट्टा गर्नतर्फ लागेँ भन्ने प्रसङ्गको स्मरण भयो आज मलाई । कक्षा चारमा पढ्दा हामी आठ जनाले गृहकार्य गरेका थिएनौँ । सरले हामीलाई बेन्चबाट उठाउनुभएको थियो । हाम्रो बालमनले सम्भावित खतराको अनुमान गरिसकेको थियो । तर हाम्रो अनुमान विपरीत सरले हामीलाई एउटा एउटा अभिनय गरेर देखाओ भन्नुभयो । यस्तो नयाँ दण्ड सरले हामीलाई दिनुको कारण दिनहुँ जसो हामीलाई पीडा, धम्की र कहिलेकाहीँ अर्ती दिँदादिँदा वाक्कदिक्क भएकाले हुनुपर्छ । होमवर्क गर्ने साथीहरूले हाम्रो भलो चिताएनन् । एउटा अलि छुच्चो साथीले भनिहाल्यो, “सर ! यिनीहरूलाई कुकुर या कुखुरा बन्न लगाउनुस् न ।” सरको पनि निर्णय फेरियो । मेरा साथीहरू लाजले राता भए । ममा त्यसको खासै असर परेन । यस्तो मात्र मैले गर्नु परेन आजसम्म । योभन्दा नीच धेरै किसिमका दण्डको अनुभवी थिएँ म । सुरुमै कुकुरको अभिनय गर्न मेरो नाम घोषणा भयो । मैले आपूmलाई बिर्सिएँ । अनि कुकुरको रूप धारण गर्न चार हातखुट्टा टेकेर कुकुरले झैँ यताउति गर्दै नभएको पुच्छर हल्लाए झैँ गरेको थिएँ । कक्षाकोठा हाँसोले भरियो । मैले पिलिक्क सरलाई हेरेको उहाँ पनि मुसुमुसु हाँस्न थाल्नुभएछ । साह्रै मज्जा लाग्यो त्यो दिन । रिसको औषधि पनि मैले पत्ता लगाएँ । अझ त्यो दिनदेखि ममा परिवारलाई खुसीको होलीमा पौडी खेलाउन सक्ने आत्मविश्वास जागेर आयो । विद्यालयमा मौका पाउने बित्तिकै म नवीन् अभिनय कला प्रस्तुत गर्थें । साथीहरू मलाई उत्साह दिन्थे । म खुब रमाउँथेँ । सबैभन्दा महत्त्वपूर्ण कुरा त दिनहुँको दण्डबाट बचेर मैले आशा गरेको माया पनि सरमिसबाट पाउन थालेको थिएँ । तर आमाबाट चाहिँ चाहेको जति पाएको थिइनँ । पढाइमा प्रगति गरेर आमालाई खुसी बनाउने हिम्मत मभित्र नभएकाले अभिनयमा प्रगति गरेर आमालाई खुसी पार्ने प्रण मैले गरेको थिएँ । साथै प्रयास पनि अनवरत् । केही बेरपछि आमाले मलाई खाना खान बोलाउनुभयो, म डराई डराई माथि गएँ । कोठामा पुगेर छरिएका किताबहरू मिलाएँ । मैले आमालाई हेरेँ । उहाँ अझै पनि मेरो गीत गाइरहनुभएको थियो । त्यसपछि मैले खासै वास्ता गरिनँ किनकि यस्ता गीत मैले दिनमै धेरै पटक सुन्ने गरेको थिएँ । मेरो गीत गाउँदै आमा खाना पस्कन थाल्नुभयो । म चाहिँ भुइँमा चकटी ओछ्याएर बसेँ । भातको थाल मतिर घिस्रिएर आयो । आमाले रिस मिसाएर दिनुभएको खाना मुखमा हाल्नै मन लागेनँ । भातलाई आमाले थाहा नपाउने गरी किचीमिची पारेर रिस पोखेँ, अझ रिस नमरेकाले भातलाई जोडजोडले चपाएँ । आमाले थाहा पाउनुभएन । ठिकै भयो ! खाना खाइसकेपछि हतारहतार गरेर स्कुलको ड्रेस लगाएँ । आमालाई नबोलाईकन म चाहिँ स्कुलतिर हानिएँ– नाँच्दैनाँच्दै । म स्कुल पुग्दा प्रि–प्राइमरीमा पढ्ने भाइबहिनीहरू आमाको छातीमा टाँसिएर आउन थालेका रहेछन् । मलाई डाह लागेर आयो तैपनि देखाइनँ, मनभित्र नै लुकाएर राखेँ । आज शुक्रबार । विद्यालयमा खुला नाटक प्रतियोगिता थियो । म पनि यसमा सहभागी थिएँ । म कक्षा छमा पढ्ने केटो । अरू मभन्दा ठुलाठुला दाइदिदीहरू पनि यस कार्यक्रममा सहभागी थिए । तेस्रो घण्टीको पढाइ सकिएपछि कार्यक्रम सुरु भयो । हामी आ–आफ्ना समर्थकहरूले घेरियौँ । मेरो पालो आयो कार्यक्रमको बिचतिर । आमालाई खुसी पार्न खोज्दा आमाको हातको चिउरा खाएको घटनालाई प्रस्तुत गरेँ । धेरैको मन छोएछ । ताली बज्यो, अरू प्रतियोगीको पालमा भन्दा बढी । “वाहवाह ! क्या, जीवन्त प्रस्तुति !” सञ्चालक दाइले मेरो प्रशंसा गरे । कार्यक्रम सकियो तिन बजेतिर । निणार्यक मण्डलका उमेश सरले निर्णय सुनाउन माइक समात्नुभयो । मनमा ढुकढुकको चाल अनियन्त्रित भएर आयो, सकेसम्म त्यसलाई रोकेर उभिएँ । सरले मेरो नाम प्रथम स्थानमा रहेको घोषणा गर्नुभएपछि म खुसीले उफ्रिएँ । दाइहरूले काँधमा राखेर मलाई बोके । त्यो दिन म स्कुलकै सबैभन्दा अग्लो मानिस भएँ ! खुसीले गर्दा स्कुलबाट घर आइपुगेको पनि मलाई पत्तै भएन । हातमा प्रमाणपत्र थियो । घरभित्र पस्ने बेलामा पाइन्टलाई कट्टु जस्तो बनाएर धुरमुसेको अनुकरण गर्दै घरभित्र पसेँ । आमाले देख्नुभयो अनि मलाई हेरेर जोडले हाँस्नुभयो । बिहान अँधेरो मुख पार्नुभएको आमा हाँसेको देखेर ममा झन् अभिनय गर्ने ऊर्जा पैदा भयो । “के गरेको यस्तो ?” प्रश्न सँगसँगै आमाको हाँसो मतिर दौडिएर आयो । “नाटक !” धुरमुसेकै स्वर बनाएँ । आमाको दृष्टि ममा एकोहोरिएको पनि थाहा पाइहालेँ । “तँ यस्तो गर्न सक्छस् ?” आमाले आश्चर्य मान्नुभयो । हो भन्ने प्रमाण पेश गर्न मैले मेरो पौरखको चिह्न उहाँलाई दिएँ । उहाँले ध्यान दिएर प्रमाणपत्र पढ्नुभयो । त्यसपछि मलाई अँगाल्नुभयो । जीवनमै पहिलो पटक नबिर्सिने गरी आमाको स्नेहको स्वाद अघाउन्जेल चाखेँ । उहाँले मेरो अनुहारमा धेरै पटक ओठ जोड्नुभयो । अनि मलाई जोडले अँगालेर आँखाबाट आँसुको थोपा तपतप चुहाउन थाल्नुभयो । थाहा भएन त्यतिखेर मलाई, उहाँ किन रुनुभयो ?
राजीब श्रेष्ठ